+
+
Shares

खाल्डोको पानी सुकाएर बाँस डुबाउँदा पनि भेटिएन बेपत्ता गाडी

‘खाल्डा वरपर जान सकिने अवस्था पनि छैन । माटो खसेर खाल्डा पुरिँदै गयो । बाँस डुबाएर हेर्दा पनि गाडीको भाग भेटाउन सकिएन,’ अर्यालले शनिबार साँझ अनलाइनखबरसँग भने ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ वैशाख २० गते २०:३०

२० वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन ।

गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पानी सुकाउने क्रममा वरपरको माटो खसेर खाल्डा पुरिँदै जाँदा खोजीकार्य थप जटिल बनेको डीएसपी अर्यालले बताए ।

‘खाल्डा वरपर जान सकिने अवस्था पनि छैन । माटो खसेर खाल्डा पुरिँदै गयो । बाँस डुबाएर हेर्दा पनि गाडीको भाग भेटाउन सकिएन,’ अर्यालले शनिबार साँझ अनलाइनखबरसँग भने ।

प्रहरी, स्थानीयहरूको सहयोगमा भोली आइतबार पनि खोजीकार्य जारी राखिने उनले बताए ।

गैरीगाउँको भित्री कच्ची सडकखण्डमा शुक्रबार दिउस घाँस काट्ने मेसिन बोकेर गन्तव्यतर्फ जाँदै गरेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर पानीको दहमा डुबेको थियो ।

गाडी हराएको नजिकै राईले माछापालन गर्दै आएका छन् ।

माछापालन गर्दै आएका राईको आफ्नै गाडी रहेको डीएसपी अर्यालले बताए । राईले माछापालन गरिरहेको पोखरीमा पनि पानी सुकाएर गाडी खोज्ने बताएको अर्यालले जनाए ।

गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको थियो । गाडीका चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए ।

गाडी भासिएको करिब ५ सेकेण्डमा हराएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङमा रहेको छ ।

बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि भासिएको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?