
२४ वैशाख, काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा भाडा प्रकरणमा घोटाला गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर लामो समयसम्म यो प्रकरणको मुद्दा दर्ता हुन सकेको थिएन । मुद्दा नचलाउने गरी प्रक्रिया अघि बढाएको भन्दै आलोचना पनि भएको थियो । अन्ततः मंगलबार महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गरेपछि बुधबार सरकारी वकिल कार्यालयले काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता हुनेहरूमा बाल संगठनका तत्कालीन अध्यक्ष ७१ वर्षीया रिता सिंह वैद्य, संगठनका तत्कालीन उपाध्यक्ष ६६ वर्षीय तुलसी नारायण श्रेष्ठ, महासचिव ७० वर्षीय गणेश भक्त श्रेष्ठ, सदस्य ५३ वर्षीय कृष्ण शंकर साह, संगठनका अख्तियार प्राप्त महासचिव ७५ वर्षीय श्याम कुमार आले, अख्तियार प्राप्त महासचिव ५४ वर्षीय सुवास कुमार पोखरेल, संगठनका तत्कालीन महासचिव ६२ वर्षीय प्रचण्ड राज प्रधान, तत्कालीन महासचिव ६९ वर्षीय रामकाजी गुरुङ कोने, तत्कालीन उपाध्यक्ष ६८ वर्षीय योगेन्द्रबहादुर शाहीविरुद्ध मुद्दा दायर भएको छ ।
त्यसैगरी संगठनका तत्कालीन उपकोषाध्यक्ष ७२ वर्षीय दीपकदास श्रेष्ठ, बृहस्पती विद्यासदनका सञ्चालक ५० वर्षीय प्रवीण राज जोशी, बृहस्पती विद्यासदनका तत्कालीन सञ्चालक ७२ वर्षीय मुरारी निधि तिवारी, बृहस्पती विद्यासदनका अध्यक्ष ८२ वर्षीय पुरुषोत्तम राज जोशी, सञ्चालक श्रद्धा संघाई, विद्यासदनका सञ्चालक ४४ वर्षीय अभिनव सिंघानिया, सञ्चालक ४४ वर्षकै सिद्धार्थ केडिया, र विद्यासदनका सञ्चालक ७१ वर्षीय कीर्ति प्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएकामध्ये १५ जनालाई यसअघि सीआईबी र सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर सोधपुछ र बयान गरिएको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यको भने कुनै बयान नै नलिइएको पाइएको छ । उनी र योगेन्द्रबहादुर शाहीको भने बयान र सामान्य सोधपुछ समेत नगरी अदालतमा मुद्दा दर्ता गरिएको छ ।
जबकी उनीहरुलाई वृद्ध र रोगी भएका कारण पक्राउ नगरिएको बताइएको थियो । तर मुद्दा दर्ता गर्दा भने बयान नलिइ उनीहरू दुई जनालाई फरार प्रतिवादी बनाइएको हो ।
बाँकी १५ जनाको भने यसअघि नै बयान लिएकाले उनीहरूलाई भने अनुपस्थित प्रतिवादी भन्दै मुद्दा दायर गरिएको छ । जबकी यो ठगी प्रकरणमा मुख्य व्यक्ति नै रिता सिंह रहेको अनुसन्धान अधिकारीहरू बताउँछन् ।
नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।
२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउनेगरी सम्झौता भएको थियो ।
पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ ।
भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।
चलनचल्तीको भाडाभन्दा कम दरमा भाडामा लिनेदिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरेको थियो ।
सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । ती मध्ये तीन जनाको मृत्यु भइसेको भन्दै उनीहरुलाई भने प्रतिवादी बनाइएको छैन ।
मृत्यु भएका कारण मुद्दा नचल्नेहरुमा वृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरू बाहेक १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गर्दै ठगीको कसुरमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख छ ।
प्रतिक्रिया 4