+
+
Shares

ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भयो : शिशिर खनाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते ११:५७
रास्वपा सांसद शिशिर खनाल । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ओसाका वर्ल्ड एक्स्पोमा आफ्नो प्रदर्शनी कक्ष समयमा निर्माण गर्न नसक्दा राष्ट्रिय प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको रास्वपा सांसद शिशिर खनालको भनाइ छ ।
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले सरकारको अकर्मण्यता र भुक्तानी विवादका कारण नेपालको प्रदर्शन अवरोधमा भएको बताए ।
  • अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कला, संस्कृति र पर्यटनको प्रचारप्रसार गर्न नसकिएको भन्दै उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

जापानको एक पत्रिकाले ‘एक्स्पोमा सहभागी मुलुकहरूमध्ये नेपाल एकमात्र त्यस्तो देश हो जसले अझै आफ्नो प्रदर्शनी कक्ष खोलेको छैन र निर्माण कार्य जनवरीदेखि रोकिएको छ’ भनेर समाचार लेखेको भन्दै खनालले सरकारको ध्यानाकर्षण गराए ।

जापानका सञ्चारमाध्यमहरूमा नेपालको लाजमर्दो अवस्थाबारे समाचार प्रकाशित भएको भन्दै उनले यसबाट नेपालको राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुगेको बताए ।

‘समाचारहरूका अनुसार, नेपालले बनाउनु पर्ने पेभेलियन निर्माण कार्य समयमा सम्पन्न हुन नसकेर अलपत्र परेको छ’ पूर्वमन्त्री समेत रहेका खनालले भने, ‘भुक्तानी विवाद र सरकारी अकर्मण्यताका कारण निर्माण रोकिएको खबरले अन्तर्राष्ट्रिय स्तरमै नेपालको बेइज्जत भएको छ ।’

जापानको ओसाकामा ‘ओसाका वर्ल्ड एक्स्पो २०२५’ आयोजना भइरहेको छ । त्यहाँ विश्वका १६० भन्दा बढी राष्ट्रहरूले आ–आफ्नो पहिचान, प्रगति र सम्भावनाहरू प्रदर्शन गरिरहेका छन् ।

करिब २ करोड ८० लाखभन्दा बढी व्यक्तिहरुले भ्रमण गर्ने अपेक्षा गरिएको उक्त एक्स्पो सन् २०२५ अप्रिल १३ देखि अक्टोबर १३ सम्म चल्नेछ ।

यति महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो कला, संस्कृति, पर्यटन र लगानीका अवसरहरू प्रस्तुत गरेर विश्वको ध्यानाकर्षित गर्ने सुनौलो अवसर भए पनि त्यस्तो हुन नसकेको उनले बताए ।

यस्तो संवेदनशील विषयमा नेपाल सरकारको तुरुन्त ध्यान जानुपर्ने खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?