
News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथा दिवसलाई सप्ताहव्यापी रुपमा विविध कार्यक्रमसहित भव्य रुपमा मनाउने निर्णय भएको छ।
- बैठकले पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवद्र्धन र पर्यटन प्रवाह बढाउने उद्देश्यले विभिन्न कार्यक्रम तय गरेको छ।
- अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि कूटनीतिक माध्यम र विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सहकार्य गर्ने निर्णय भएको छ।
१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठन गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक बसेको छ ।
बैठकले सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रम सहित भव्य रूपमा मनाउने निर्णय गरेको हो । बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तक्र्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश गरिने छ ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सगरमाथा केवल भौगोलिक उच्चता नभई नेपाल र सम्पूर्ण विश्वको गौरव भएको उल्लेख गर्दै दिवसलाई सोही भावना सहित मनाउनुपर्ने आवश्यकता औंल्याए ।
‘सगरमाथाकै कारण नेपाल विश्वमा चिनिएको छ । एभरेस्ट केवल एक प्रतीक हो । नेपालका अन्य हिमाल समेत यसमा समेटिनुपर्छ । आरोही र हिमाल दुवैलाई समेटेर अघि बढ्नुपर्छ,’ उनले भने ।
बैठकले कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सम्मान गर्न पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।
साथै, दिवसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि विदेशस्थित नेपाली राजदूतावास, महावाणिज्यदूतावास, पर्यटक प्रवद्र्धक र अन्य कूटनीतिक संयन्त्र मार्फत कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी समारोहलाई भव्यरूपमा सम्पन्न गर्न विभिन्न संघसंस्था, विज्ञ तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा आवश्यक निर्णय गर्न कार्यान्वयन समितिलाई जिम्मेवारी दिइएको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवस हरेक वर्ष मे २९ मा मनाउने गरिन्छ, जुन दिन सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।
समितिमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन नेपाल, सगरमाथा आरोही संघ, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय लगायत प्रतिनिधि समावेश छन् । समितिमा १७ सदस्यीय संरचना छ ।
प्रतिक्रिया 4