+
+
Shares

बागबजारको गेस्टहाउसमा युवती हत्या : डस्टबिनमा फालेको चेकले पत्ता लाग्यो आरोपी

प्रहरीले कोठाबाट पुरुषले लगाउने पेन्टी र डस्टबिनमा एक थान च्यातिएको चेक बरामद गर्‍यो । च्यातिएको चेक जोडजाड पारेर हेर्दा उक्त चेक रामचन्द्र पन्त र सुशीला पन्तको संयुक्त नामको रहेको खुल्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १९:४२
पक्राउ परेका रामचन्द्र पन्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानगरपालिकाको होटलमा युवतीको शव भेटिएको थियो र अनुसन्धानले मृतकको पहिचान खुल्न सफल भयो।
  • प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्त रामचन्द्रलाई भारतबाट पक्राउ गरेको र उनले हत्या स्वीकार गरेको बताएका छन्।
  • हत्या घटनाको अनुसन्धान जारी रहेको र मुख्य आरोपीलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ।

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सहारा गेस्टहाउसको कोठा नम्बर ३०१ मा गन्ध आउन थालेपछि सञ्चालकले प्रहरीलाई खबर गरे ।

गेस्टहाउसको ढोकामा बाहिरबाट सधैं लगाउने तालाचाबीको साटो अर्कै तालाचाबी लगाएको र भित्र गन्ध आएको सूचना आएपछि प्रहरी वृत्त सिंहदरबारको टोली घटनास्थल पुग्यो ।

स्थानीय जनप्रतिनिधि समेतको रोहबरमा तालचाबी फुटाएर हेर्दा कोठामा सडिसकेको अवस्थामा युवतीको शव भेटियो ।
यो घटना २९ चैत २०८१ को थियो । तर शवको प्रकृति हेर्दा १०/१२ दिन अगाडिको जस्तो देखिन्थ्यो ।

सिरकले छोपिएको महिलाको शव अर्धनग्न अवस्थामा थियो । शवको प्रकृति हेर्नासाथ हत्याको आशंका गरेर प्रहरीले अनुसन्धान अघि बढायो ।

तर, सोधपुछका क्रममा होटल सञ्चालकले उक्त रुममा को बसेका थिए भन्ने लगत नै नराखेको खुल्यो । त्यसपछि प्रहरीले होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्‍यो । मृत महिलाको पहिचान भने खुल्न सकेन ।

वरपरका सीसीक्यामेराका फुटेज केलाउँदा पनि उक्त होटलमा को गए र कोठामा को बसे भन्ने खुल्न सकेन । घटना कहिलेको हो भन्ने पनि यकिन हुन सकेन ।

शवको सनाखत भएपछि प्रहरी अनुसन्धानमा एक कदम सफलता मिल्यो । तर मुख्य काम अभियुक्तको पहिचान र पक्राउ भने बाँकी नै थियो ।

त्यसपछि मृत फेला परेकी युवतीको तस्वीर सहितको हुलिया प्रहरी कार्यालयहरूमा सर्कुलर गर्दै उक्त हुलियाकी युवती हराएको उजुरी आए खबर गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सर्कुलर गर्‍यो ।

त्यसपछि बल्ल मृत युवतीको पहिचान खुल्यो । २९ चैतमा मृत भेटिएकी युवती हराएको भन्दै उनका दाजु नुवाकोट सूर्यगढी नगरपालिका-१ का नवीन तामाङले प्रहरी वृत्त बालाजुमा उजुरी दिएको खुल्यो । त्यसपछि तामाङलाई बोलाएर देखाउँदा उनले मृतक युवती आफ्नी बहिनी २८ वर्षीया बिमला तामाङ भएको भन्दै सनाखत गरे ।

शवको सनाखत भएपछि प्रहरी अनुसन्धानमा एक कदम सफलता मिल्यो । तर मुख्य काम अभियुक्तको पहिचान र पक्राउ भने बाँकी नै थियो । अपराध अनुसन्धानको प्रथम बिन्दु क्राइम सिन रहेकाले घटनास्थल मुचुल्का गर्दा कोठाबाट उठाइएका वस्तुबारे प्रहरीले पुन: केलाउन थाल्यो ।

उक्त कोठाबाट पुरुष व्यक्तिले लगाउने पेन्टी र डस्टबिनमा एक थान च्यातिएको चेक पनि बरामद भएको थियो । ‘च्यातिएको चेकलाई जोडजाड पारेर हेर्दा नेपाल एसबीआई बैंकको उक्त चेक रामचन्द्र पन्त र सुशीला पन्तको संयुक्त नामको रहेको खुल्यो,’ एक जुनियर अनुसन्धान अधिकृतले भने, ‘लक्की नै भन्नुपर्छ, चेकको पछाडि एउटा मोबाइल नम्म्बर समेत फेला पर्‍यो ।’

मोबाइल नम्बर नै फेला परेपछि प्रहरी अनुसन्धान धेरै सहज भयो । उक्त मोबाइल नम्बर सुशीला पन्तकै रहेको खुल्यो । मोबाइल सम्पर्कमार्फत प्रहरी सुशीला पन्तसम्म पुग्यो । प्रहरी अनुसन्धानका क्रममा चेकमा नाम उल्लेख भएका रामचन्द्र सुशीलाका श्रीमान् रहेको खुल्यो । तर श्रीमान् भने १४/१५ दिनदेखि सम्पर्कमा नरहेको, मोबाइल अफ रहेको र घर नआएको सुशीलाले प्रहरीसमक्ष बताइन् ।

यो घटनापछि बिमलाको हत्या रामचन्द्रबाटै भएको हुनसक्नेमा अनुसन्धान अधिकृत धरै हदसम्म ढुक्क थिए । अझ अनुसन्धानकै क्रममा मृतक बिमला पनि विवाहित रहेको र रामचन्द्र र बिमलाबीच यसअघि पनि विवाहत्तेर सम्बन्धका कारण खटपट भएर उजुरी प्रहरीसम्म पुगेको खुल्यो ।

केही समयअघि मात्रै यी दुईलाई प्रहरी वृत्त बालाजुले छलफल गराएर मिलापत्र गरेकोसम्म भेटिएपछि हत्यामा रामचन्द्र नै संलग्न हुनसक्नेमा प्रहरी अधिकारीहरू ढुक्क थिए ।

सुशीलाकै सोधपुछका क्रममा रामचन्द्र पूर्वभारतीय सेना रहेको खुल्यो । उनी हवल्दारबाट अवकाशप्राप्त भारतीय सेना रहेको खुलेपछि रामचन्द्र हत्यापछि भागेर भारत पुगेको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढायो ।

रामचन्द्रले बिमलालाई ढुंगा प्रहार गरेको र हत्यापछि सिरकले शव छापेर नयाँ ताला लगाएर हिँडेको पाइएको प्रहरीले बताएको छ ।

नभन्दै उनी भारत पुगेको र त्यहाँ आफ्ना पुराना साथीहरूसँग बसेको भन्नेसम्म प्रहरीले पत्ता लगाएको थियो । यो हत्याको घटनाबारे कहीँ, कतै समाचार पनि नआएको र एक/डेढ महिना पुरानो भएकाले सामसुम भएको हुनसक्ने ठानेर रामचन्द्र भारत छाडेर नेपाल छिरेका थिए ।

तर, भारतमै ट्र्याक गरिसकेको प्रहरीले उनको रेकी गरिरहेको थियो । उनी काठमाडौं फर्किँदै गरेको अवस्थामा नागढुंगाबाट ३० वैशाखमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

पक्राउ परेका रामचन्द्रले हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ । गेस्टहाउसमा बस्न दुवै जना सहमत भएर गएको र सो क्रममा विवाद भएपछि हत्या भएको उनले बताएका छन् ।

सुरुमा बिमलाले आफूमाथि आक्रमण गरेपछि ढुंगाले हानेर उनको हत्या गरेको रामचन्द्रको भनाइ छ । आफूलाई हान्न भनेर ल्याएको ढुंगा खोसेर बिमलालाई प्रहार गरेको र हत्यापछि सिरकले शव छापेर नयाँ ताला लगाएर हिँडेको पाइएको प्रहरीले बताएको छ ।

अहिले प्रहरी हिरासतमा रहेका रामचन्द्र धादिङको गल्छी गाउँपालिका घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा बस्दै आएका थिए । ६० वर्षीय पन्तविरुद्ध कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?