News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी पर्यटकहरूले दोलखाको सोक्ला भ्यालीमा पहिलो पटक रक क्लाइम्बिङ गरेका छन्।
- कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।
- नेपाली नेता र स्थानीय समुदायले यस साहसिक गतिविधिलाई दोलखाको पर्यटन विकासको लागि महत्वपूर्ण कदम मानिरहेका छन्।
२ जेठ, काठमाडौं । दोलखाको सोक्ला भ्यालीमा पहिलो पटक अमेरिकी पर्यटकहरुले रक क्लाइम्बिङ गरेका छन्। सगरमाथा यात्रामा रहेका अमेरिकाको साउथ स्टन युनिभर्सिटी, फ्लोरिडाका प्राध्यापक म्याथु वर्नेटसहित १३ जनाको टोलीले ४२० मिटर अग्लो भीरमा सफल आरोहण गरेको हो।
सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा पाँच वर्षदेखि प्रवर्द्धन हुँदै आएको सोक्ला रक क्लाइम्बिङमा विदेशीको पहिलो सहभागिता रहेको अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए। उनीहरुलाई इलामका गाइड अमरदिप वान्तवाले सोक्ला भ्यालीसम्म पुर्याएका थिए। स्थानीय ताम्बा संस्कृतिद्वारा पाहुनाहरूको स्वागत गरिएको थियो।
रक क्लाइम्बिङपछि प्राध्यापक वर्नेटले “यो जीवनकै उत्कृष्ट साहसिक अनुभव” भएको प्रतिक्रिया दिए। अर्की सहभागी इजी विएलले डर भए पनि साहस जुटाएर चढ्न सफल भएको बताइन्। सहभागी एन्ड्रयूले टपबाट देखिएको सोक्ला भ्याली, तामाकोशी र गौरीशंकर हिमालको दृश्य आफूले पहिलो पटक अनुभव गरेको बताए।
कार्यक्रममा अमेरिकन टोलीसँगै हिमालयन क्राउन एकेडेमीका ३९ विद्यार्थीले पनि सहभागिता जनाएका थिए। कविता तामाङ, रितिका माया मगर र निमा डेभिट शेर्पा क्रमशः प्रथम, द्वितीय र तृतीय भए। उनीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।
‘सोक्ला रक क्लाइम्बिङ फेस २०८२’ नाम दिइएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समेत सहभागिता जनाउँदै रक क्लाइम्बिङ दोलखाको पर्यटन विकासको कोसेढुंगा हुने विश्वास व्यक्त गरे।
तस्वीर : टुरिजम मिडिया
प्रतिक्रिया 4