
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार यस साता १.८७ प्रतिशतले घटेको छ र बजारमा गिरावटको मुख्य कारण गभर्नर नियुक्ति प्रक्रिया र कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणले भएको हो।
- बजारमा धेरै कारोबार हुने कम्पनीहरू मुख्य रूपमा हाइड्रोपावर कम्पनीहरू रहेका छन् र विश्वका ठूला बजारहरू जस्तै अमेरिका, चीन र जापानका बजारहरू सुधारको दिशामा रहेका छन्।
- आगामी साता बजार बलियो समर्थनमा रहेको र बढ्ने सम्भावना रहेको देखिएको छ, किनभने बजारको रिलेटिभ स्ट्रेन्थ इन्डेक्स तल झरिसकेको छ।
२ जेठ, काठमाडौं । यो साता सेयर बजार १.८७ प्रतिशत अर्थात् ५० अंक घटेको छ । गत साता २६६१ अंकमा बन्द भएको बजार यो साता २६११ मा झरेको छ ।
यो साता कारोबार भएका चारै दिन बजार घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । पहिलो दिन आइतबार १२.५३ अंक घटेको बजार मंगलबार १४.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंक घट्यो ।
बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार १० अर्ब २० करोडको कारोबार भएकोमा मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड तथा बिहीबार ७ अर्ब ८ करोडमा खुम्चियो ।
यो साता होटल तथा पर्यटन सेक्टरले राम्रो प्रदर्शन गरेको छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ७.३० प्रतिशत बढ्यो । साथै विकास बैंक समूह १ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर यो साता घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।
किन घटिरहेको छ बजार ?
पछिल्लो समय बजार घटिरहनुको प्रमुख कारण गभर्नर नियुक्ति प्रक्रिया बल्झिनु हो । सत्ता साझेदार दलबीच गभर्नर नियुक्तिका विषयमा देखिएको किचलो त्यसपछि अदालतमा परेका मुद्दा मामिलाका कारण लगानीकर्ता सशंकित देखिएका हुन् ।
राष्ट्र बैंकजस्तो महत्त्वपूर्ण, संवेदनशील निकायलाई राजनीतिक भागबण्डामा मुछिँदै लगेपछि लगानीकर्तामा निराशा थपिएको छ । अझ सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा पर्न थालेपछि गभर्नर नियुक्ति प्रक्रिया थप लम्बिन सक्ने डर बढेको छ ।
राजनीतिक दाउपेचबाटै वित्तीय क्षेत्रलाई नबुझेको व्यक्ति गभर्नर नियुक्ति हुन सक्ने र यसबाट वित्तीय क्षेत्रलाई दीर्घकालीन रुपमा नकारात्क असर पार्न सक्ने चिन्ता पनि लगानीकर्तामा छ ।
अर्कोतर्फ कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि उत्साहजनक नदेखिनुले बजारलाई प्रभाव पारेको छ ।
धेरै कारोबार भएका कम्पनी
यो साता धेरै कारोबार हुनेमा हाइड्रोपावर कम्पनीहरुको वर्चस्व रह्यो । राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र नेपाल माइक्रो इन्स्योरेन्स क्रमशः यो साता रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनी हुन् ।
कारोबार संख्याका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, युनिभर्सल पावर, ङादी ग्रुप, राधि विद्युत् क्रमशः अगाडि रहे ।
विश्वका ठूला बजार उकालो लागे
व्यापार युद्ध मत्थर हुने संकेतसँगै ठूला बजार पनि सुधारोन्मुख देखिएका छन् । अमेरिकाले चीनसहित मुलुकहरूसँग करका विषयमा सम्वाद गरेसँगै दुवै मुलुकका स्टक मार्केटले वृद्धिको लय समातेका छन् ।
यो साता अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डस्ट्रियल इन्डेक्स २.२२ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक ६.६९ प्रतिशत बढेको छ ।
त्यस्तै ठूला कम्पनीको सूचक एस एण्ड पी ५०० पनि ४.१८ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक १२.१५ प्रतिशत बढिसकेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.३१ प्रतिशत बढेको छ । विगत एक महिनामा सो इन्डेक्स २.६७ प्रतिशत बढेको छ । हङकङको ह्याङसेन्ग इन्डेक्स यो साता ०.४१ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक १०.५४ प्रतिशत बढेको छ ।
जापानको निक्की २२५ इन्डेक्स विगत एक सातामा ०.१५ प्रतिशत बढेको छ । यो इन्डेक्स विगत एक महिनामा भने ११.३० प्रतिशत बढिसकेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.५९ प्रतिशत बढेको छ । एक महिनामा सो सूचक ६.८१ प्रतिशत बढेको छ ।
कता जाला आगामी साताको बजार ?
बजारमा सूचीकृत सबैजसो कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार बैंकहरूको कर्जा रिकभरीमा केही समस्या देखिएको छ । निष्क्रिय कर्जा बढ्नु र प्रोभिजन रकम बढ्नुले त्यसलाई पुष्टि गर्छ ।
जसले गर्दा केही बैंक यो वर्ष पनि लाभांश दिन नसक्ने स्थितिमा छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको नाफा ठूलै दरले घटेको छ । यी दुई बाहेक अन्य सेक्टरका कम्पनीको वित्तीय विवरण बिग्रिएको छैन ।
अर्कोतर्फ बैंकहरुले जेठका लागि सार्वजनिक गरेको ब्याजदर औसतमा सामान्य घटेको छ । यसको अर्थ तत्काल ब्याज बढ्ने अवस्था छैन । जेठ र असार महिना पर्याप्त पूँजीगत खर्च हुने महिना हो । तसर्थ यसले बैंकमा थप निक्षेप बढ्न गई ब्याजदर थप घटाउन दवाव पुग्ने अनुमान गरिएको छ । घटेको ब्याजदर पनि बजारलाई सकारात्मक सपोर्ट गर्दछ ।
बजार बढ्ने आधार बलिया रहे पनि छोटो अवधिमा लगानीकर्ताले राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई बढी चासोका साथ हेरेका छन् । यतिबेला बजार बलियो सपोर्टनजिकको विन्दुमा झरेको छ ।
दैनिक क्यान्डिलस्टिक चार्टअनुसार २६०८ मा सपोर्ट देखिन्छ भने २५८० मा अर्को बलियो सपोर्ट छ । यतिबेला रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ मा छ । यसले घटाइको शक्ति कमजोर बनेको संकेत दिन्छ । तसर्थ बजार आगामी साता बढ्ने संभावना बलियो बनेको छ ।
प्रतिक्रिया 4