+

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त

२०८२ जेठ  ३ गते १८:११ २०८२ जेठ ३ गते १८:११
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङ पदमुक्त

३ जेठ,बुटवल । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ पदमुक्त भएका छन् । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् ।

२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष विनय राजभण्डारी प्रस्तावक रहेर ३१ जना प्रतिनिधिले हस्ताक्षर गरी गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाइएको थियो ।

क्यानको निर्देशनअनुसार शनिबार कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि उनी पदमुक्त भएका हुन् । गुरुङ पछिल्लो डेढ वर्ष यता संघको अध्यक्ष थिए ।

विशेष साधारणसभामा उपस्थित ३८ जना (शतप्रतिशत) प्रतिनिधिले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका छन् । गुरुङको पक्षमा भने शुन्य मत परेको प्रदेश क्रिकेट संघले जनाएको छ ।

संघका कुल ४१ प्रतिनिधिमध्ये कोषाध्यक्ष राजेश शाक्यको मृत्यु भएपछि उक्त पद खाली छ । साधारण सभामा अध्यक्ष गुरुङ उपस्थित भएनन् भने संघका सदस्य सुभाष तिमिल्सिना अष्ट्रेलियामा भएकाले उपस्थित भएनन् । गुरुङ पदमुक्त भएपछि संघको अध्यक्ष पद खाली भएको छ ।

गुरुङ पदमुक्त भएपछि संघको उपाध्यक्ष राजभण्डारी कार्यबाहक अध्यक्ष बनेका छन् । संघको विशेष साधारणसभाले रिक्त अध्यक्ष र कोषाध्यक्ष चयनका लागि एक विशेष साधारण सभा गर्ने तयारी गरेको कार्यबाहक अध्यक्ष राजभण्डारीले बताए ।

गुरुङले मनपरी ढंगले संघ चलाएको, आर्थिक अनियमितता गरेको र विधानलाई बेवास्ता गरी अघि बढेको भन्दै संघमा आवद्ध दुई तिहाई बढी प्रतिनिधिले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । विशेष सधारण सभाबाट गुरुङ पदमुक्त भएपछि कार्यबाहक अध्यक्ष राजभण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्यसमितिको बैठकले सधारणसभाको मिति समेत तोकेको छ ।

राजभण्डारीका अनुसार बैठकले जेठ ३१ गते पाल्लामा विशेष सधारण सभा गर्ने निर्णय गरेको उनले बताए । उनले उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गरेर संघलाई बलियो, पारदर्शी र क्रिकेट गतिविधिमा क्रियाशील बनाउने जानकारी दिए ।

विशेष साधारणसभामा बोल्दै संघमा आबद्ध केन्द्र र प्रदेशका क्रिकेटकर्मी नेताहरुले अध्यक्ष गुरुङ स्वेच्छाचारी ढंगबाट अघि बढेको, विधानको बर्खिलाप काम गरेको र क्रिकेट संघलाई व्यवस्थित ढंगले अघि बढाउन नसकेको आरोप लगाएका थिए । संघका प्रदेश उपाध्यक्ष विनय राजभण्डारीले आफूहरुको डेढ वर्षको कार्यकालमा अध्यक्ष गुरुङकै कारण प्रदेशमा क्रिकेटका गतिविधि सुस्ताएको बताए ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले अहिलेको युगमा पनि कसैले निरंकुशता लागू गरेर नेतृत्व गर्छु भन्ने सोच्न नहुने बताए।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले कानून, विधि र विधान अनुसार चल्न सबैलाई आग्रह गरे । विशेष साधारणसभाको उद्घाटन गर्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले क्रिकेट संघले बैधानिक बाटो छाड्न नहुने बताए । उनले ९० प्रतिशत प्रतिनिधि उपस्थिति भएर विशेष साधारणसभा गरिरहँदा र आगामी नेतृत्व चयन गर्दा कम्तिमा भोलिका दिनमा लुम्बिनी प्रदेशको क्रिकेट अन्य प्रदेशका तुलनामा माथि जानुपर्ने बताए । उनले पछिल्लो समय क्रिकेटले मुलुकमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गरेको जनाउँदै तल्लो तहबाट यसको विकास हुनुपर्ने जनाए ।

विशेष साधारण सभामा प्रदेशसभा सदस्य सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगर, कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे, कपिलवस्तु जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिनप्रसाद पोखरेल र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खगप्रसाद चापागाईले क्रिकेटको विकासमा जोड दिँदै कानून र संघको विधान पालना गर्नुपर्ने सुझाव राखे ।

२०८१ चैत्र २२ गते संघका उपाध्यक्ष राजभण्डारी प्रस्तावक बस्दै अविश्वासको प्रस्ताव दर्ता गर्दै क्यानलाई यसबारेमा जानकारी गराइएको थियो । यसपछि क्यानले विशेष साधारणसभा गर्न निर्देशन गरेको थियो ।

तर, बीचमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साधारण सभा रोक्न पत्र काटेको थियो । यही बीचमा राखेपले पुनः पत्र लेख्दै कानूनअनुसार गर्नु भनेपछि शनिबार विशेष साधारणसभा गरिएको प्रदेश क्रिकेट संघले जनाएको छ ।

संजय गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय