३१ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूमाथि षड्यन्त्र गर्दै पदबाट हटाउन खोजेको आरोप लगाएका छन् ।
गुरुङले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यान आफू विरुद्ध अवैधानिक रुपमा अविश्वासको प्रस्ताव ल्याइएको र त्यसको विरुद्धमा कानुनी उपचार खोज्ने सम्मको चेतावनी दिएका छन् । गुरुङले क्यान अध्यक्ष चन्दले नै प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर आफू विरुद्ध उत्रन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
उनले प्रदेशको आन्तरिक छलफलबिनै सिधै क्यानको केन्द्रिय कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने कदमले आफू अपमानित भएको बताए । उनले क्यानबाट आफू निलम्बित भएको पत्र प्राप्त गर्दा उक्त पत्रमा अध्यक्ष चन्दकै हस्ताक्षर रहेको बताए ।
गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि निर्णय गर्नका लागि जेठ ३ गतेलाई लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा बोलाइएको छ । तर गुरुङले अविश्वास प्रस्तावको प्रक्रिया नै अवैधानिक रनियोजित रहेको दावी गरेका छन् । साथै उनले यो प्रक्रिया रोक्नका लागि राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन् ।
गुरुङविरुद्ध अविस्तावको प्रस्ताव आएपछि क्यानले गुरुङलाई निलम्बन गरेर लुम्बिनी प्रदेशको विशेष साधारण सभा आयोजना गर्न लागेको हो । तर आफूलाई अविश्वासको प्रस्तावमार्फत निलम्बन गर्न लागिएको विशेष साधारण सभा आफूले नै फेस गर्न नपाउनु अचम्म भएको बताए ।
गुरुङले अविश्वास पत्र र आफूमाथि अविश्वासको प्रस्ताव ल्याउन आधार बनाइएको प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ एकै दिन क्यानले पठाएकोले यो आफैमा अवैधानिक रहेको बताए ।
यसअघि नै प्रादेशिक क्रिकेट संघ विनियमावली २०८० पास भइसकेको अवस्थामा क्यान अध्यक्षले नयाँ विनियमावली ल्याएर क्यान कब्जा गर्न खोजेको गुरुङले आरोप लगाए ।
गुरुङले आफूविरुद्धको अविश्वासको प्रस्ताव स्वभाविक नभएको बताए । ‘यो प्रस्ताव कुनै पनि हालतमा स्वभाविक छैन । अध्यक्षज्यूले साथीहरुलाई जबरजस्ती गर्न लगाउनुभएको छ । मविरुद्धको अविश्वास प्रस्ताव मैले फेस गर्न पाउनुपर्ने थियो । तर मलाई पहिल्यै निलम्बन गरेर साधारणसभा बोलाउनुभएको छ ।’
यस्तै गुरुङले क्यानबाट आउने पत्र सचिव र सचिवालय मार्फत आउनुपर्ने भएपनि क्यान अध्यक्षले आफैं हस्ताक्षर गरेर आफूलाई पत्र पठाएको बताए । उनले आफूमाथि प्रतिशोध साँधेर यो सबै प्रकृया गराइएको दावी गरे ।
गुरुङले जेठ ३ गतेलाई तय भएको लुमब्नी प्रदेश क्रिकेट संघको विशेष साधारण सभा रोक्न राष्ट्रिय खेलकुद परिषदलाई आग्रह गरेको बताउँदै न्याए नपाएमा अदालत जान बाध्य हुने बताए ।
यस विषयमा बुझ्न क्यान अध्यक्षलाई सम्पर्क प्रयास गर्दा भने सम्पर्क हुन सकेन ।
प्रतिक्रिया 4