+
+
Shares

भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापनाका लागि पहल गर्ने भएका छन् ।
  • प्रचण्डले जनसंवाद कार्यक्रममा भूकम्प पीडितहरूको पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्ने बताए ।
  • सरोकारवालाले भूकम्प पीडितहरूको पुनर्स्थापनामा सरकारले ध्यान नदिइएको र विकास आयोजनाहरू अघि नबढेको विषय उठाएका थिए ।

६ जेठ, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्ने बताएका छन् ।

मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ अन्तर्गत मंगलबार बिहान जाजरकोट खलंगामा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प प्रभावितहरूको पुनः स्थापनाको विषयमा गम्भीर रूपमा आवाज उठाउने बताएका हुन् ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले करिब डेढ वर्षदेखि भूकम्प प्रभावितहरूको बिचल्ली रहेको र सरकारले प्रभावितहरूको पुनः स्थापनामा ध्यान नदिएको भन्दै त्यसतर्फ आवाज उठाउन प्रचण्डलाई आग्रह गरेका थिए ।

सरोकारवालाहरूका प्रश्न सुनेपछि जवाफ दिँदै अध्यक्ष प्रचण्डले जनताको सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए ।

‘भूकम्प प्रभावितको सवालमा म गम्भीर छु । त्यो बेला म प्रधानमन्त्री हुँदा आफैं घटनास्थलमा खटिएर तत्काल राहत तथा उद्धारका काममा लागेको तपाईंहरूलाई अवगत नै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले त्यति बेला तत्कालै बजेट पनि छुट्टाएको थिएँ , तर त्योअनुसार काम हुन नसक्नु दुःखद कुरा हो ।’

जाजरकोट खलंगामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक समाज तथा स्थानीय सरोकारवालासँग विचार आदानप्रदान गरे । कार्यक्रममा बोल्दै सहभागी सरोकारवालाहरूले जाजरकोटमा भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढेको बताए ।

गाउँ–गाउँमा सडक पुगेको, तर भूकम्प प्रभावितहरूको पुनर्स्थापना नभएको तथा नलगाड जलविद्युत् आयोजना अझै अघि नबढेको भन्दै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रदेश सरकार कमजोर भएको र जनतामा यसको प्रभावकारितामाथि प्रश्न उठेको भन्दै सरोकारवालाहरूले संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन नहुँदा जनगुनासो बढेको र त्यसलाई सम्बोधन गर्दै संघीयताको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?