News Summary
Generated by OK AI. Editorially reviewed.- शहीद स्मारक बी डिभिजन लिगमा वीरगंज युनाइटेडसँग बराबरी खेलेपछि आरसिटीले रेलिगेसन टारेको छ।
- आरसिटीले १२ खेलबाट १५ अंक जोड्दै बी डिभिजनकै हैसियत कायम राख्यो भने टुसाल युथ क्लब रेलिगेसनमा परेको छ।
- प्लानिङ ब्वाइज युनाइटेडले बी डिभिजनको उपाधि जितिसकेको र ए डिभिजनमा बढुवा हुने एक क्लबको टुङ्गो बाँकी रहेको छ।
६ जेठ, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र वीरगंज युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजापछि ६ पटकको ए डिभिजन लिग विजेता समेत रहेको आरसिटीले रेलिगेसन टारेको छ र अर्को सिजनका लागि बी डिभिजन लिगमै कायम रहेको छ । आरसिटीले १२ खेलबाट १५ अंक जोड्दै बी डिभिजनकै हैसियत बचाएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रज्वल गुरुङले ४८औं मिनेटमा गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर आरसिटीले उक्त अग्रता जोगाउन सकेन । सन्जय चौधरीले ५८औं मिनेटमा वीरगंजका लागि बराबरी गोल गरे । बराबरीपछि १२ खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा छ ।
आरसिटी र वीरगंज युनाइटेडको खेल बराबरी भएपछि टुसाल युथ क्लब भने रेलिगेसनमा परेको छ । यसअघि नै नयाँबस्ती युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
टुसालको १२ खेलबाट ११ अंक छ र १३औं स्थानमा छ । अब टुसालले अन्तिम खेल जितेपनि अंकतालिकामा कुनै परिवर्तन हुँदैन । टुसाल भन्दा अगाडि रहेका ६ क्लबको समान १५ अंक छ ।
यस्तै प्लानिङ ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ भने बी डिभिजन लिगको उपाधि पनि पक्का गरिसकेको छ । अब प्लानिङसँगै ए डिभिजनमा बढुवा हुने एक क्लबको टुङ्गो लाग्न बाँकी छ ।
श्री भगवती क्लब २३ अंकसहित दोस्रो र ब्वाइज युनियन क्लब १९ अंकसहित तेस्रो स्थानमा छन् । यी दुई टोलीबीच मंगलबारै प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा जित वा बराबरीले श्री भगवती क्लब पनि ए डिभिजन लिगमा बढुवा हुनेछ । ब्वाइज युनियन विजयी भएमा भने अन्तिम चरणको खेलको नतिजा कुर्नुपर्नेछ ।
प्रतिक्रिया 4