+
+
Shares

ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ जेठभित्र पुल निर्माण नसके ठेकेदारलाई खोलामा गाडिदिने धम्की दिएका छन्।
  • बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको पुलको निरीक्षण गर्दै उनले १५ जेठभित्र काम सक्नुपर्ने बताएका छन्।
  • पुलको दुवै तर्फको एप्रोच नबन्दा पुल सञ्चालनमा नआउँदा स्थानीयले समस्या झेल्दै आउनु परेको छ ।

६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले १५ जेठभित्र पुल निर्माणको काम नसके ठेकेदारलाई नै खोलामा गाडिदिने धम्की दिएका छन् ।

बाराको पर्सौनी र कलैया जोड्ने बंगरी नदीको बञ्जरीयास्थित पुलको मंगलबार निरीक्षण गर्ने क्रममा उनले पुल निर्माणको जिम्मा लिएका दुई ठेकेदारलाई यस्तो धम्की दिएका हुन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकाम जोड्ने महत्त्वपूर्ण मार्गमा रहेको यो पुल १३ वर्षदेखि अलपत्र छ ।

२०७९ सालको निर्वाचनमा सांसद श्रेष्ठले पुल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार पुल निर्माणको काम सकिए पनि पुलको दुवैतर्फ एप्रोच नबनाई ठेकेदार कम्पनीले अलपत्र छाडिदिएको थियो ।

एप्रोच नबनेकै कारण पुल सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रका सर्वसाधारणहरू आउजाउ गर्न समस्यामा थिए ।

सांसद श्रेष्ठ सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारी सहितको टोली लिएर मंगलबार अनुगमन गर्न बारा पुगेका थिए । सो क्रममा उनले भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु । प्लिज मैले एकदम भद्र भएर बोल्या छु । आज ६ गते भयो । भोलि बिहान टिपर र १० एक्साभेटर ल्याउने । यस्तो पनि हो भन्या के ?’

उनले अगाडि भने, ‘आज बेलुकासम्म डीजी सा’ब, इन्जिनियर सा’बले यहाँ हेर्नुहुन्छ। आज बेलुकासम्म एउटा एक्साभेटर र दुइटा टिपर देख्नुपर्‍यो । बिहानदेखि काम सुरु गर्नुपर्‍यो । अन्तबाट केही गर्नुपर्दैन । ग्याबिन नापेर इन्जिनियर सा’बले भन्नुहुन्छ । ग्याबिन झार्दिने । १५ गते फिलिङ गरेर ढलान गर्ने । दुईजना ठेकेदार सा’ब सुन्नूस् है फेरि, यहाँ डीजी सा’बको अगाडि बोल्या छु  । इन्जिनियर सा’ब पनि हुनुहुन्छ । १५ गते मलाई फाइनल चाहियो । मैले नत्र खोलामा गाड्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?