
News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक महासंघसँग भएको सहमतिको स्पष्टता खोजिरहेको छ।
- सहमतिबारे कुन ऐनमा समावेश गर्ने र मन्त्रालयले कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ।
- सहमतिपछि शिक्षक महासंघले आन्दोलन स्थगित गरे पनि, ऐनको कार्यान्वयन र छलफल अझै बाँकी रहेको छ।
७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिमा सरकार र शिक्षक महासंघबीच भएको सहमतिको खोजी भएको छ ।
बुधाबार समितिको बैठकमा समिति सदस्यहरूले शिक्षक महासंघसँग भएको सहमति कुन ऐनमा समावेश गर्ने हो कुन मन्त्रालयले सम्बोधन गर्नुपर्ने हो त्यो सरकारबाट स्पष्ट आउनु पर्ने धारणा राखे ।
शिक्षा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा शिक्षक महासंघले असन्तुष्टि जनाएपछि समितिमा भएको सहमतिबारे खोजी भएको हो ।
‘महासंघसँग भएको सम्झौता अनुसार हुबहु नभए पनि सहमतिबाट चुक्यो भन्ने कुरा आएको छ । ती सम्झौता कति सम्बोधन भए ? उपसमितिको प्रतिवेदनले विचलित भयो भन्ने कुरा आएको छ,’ सांसद धनराज गुरुङले भने ।
शिक्षा मन्त्रालयले यसबारे प्रष्ट पार्नुपर्ने धारणा उनको छ । ‘सरकारले फेरि सम्बन्धित पक्षसँग छलफल गर्नुपर्छ । शिक्षक महासंघ, अभिभावक संघसँग सरकार बस्नु पर्यो । सरकारले छलफल गरेपछि दफावार छलफल गर्दा ठीक ठाउँमा पुग्न सकिन्छ,’ उनले भने ।
सांसद दीपा शर्माले पनि सहमतिको विवरण खोजिन् । ‘शिक्षक महासंघ र अभिभावकबाट धारणा आएको छ । सरकार र महासंघबीच समझौता भए तर लागु भएन । महासंघको माग कति सम्बोधन गर्न सकिन्छ, कति सकिँदैन ?,’ उनले प्रश्न गरिन् ।
सांसद रेखा शर्माले सहमति अनुसार कुन मन्त्रालयले सम्बोधन गर्ने हो, कुन ऐनमा समावेश गर्ने हो मन्त्रालयबाट स्पष्ट नआएको टिप्पणी गरिन् ।
‘पटक-पटक सम्झौता भएको छ । सम्झौताको विषय ऐनमा समावेश गर्नुपर्ने हो होइन ? मन्त्रालयले तयारी गर्नुपर्यो । त्यो आएको छैन,’ उनले भनिन् । सरकारबाट स्पष्ट कुरा नआएकाले कतिपय विषय टुंगो लगाउन बाँकी रहेको उनले बताइन् ।
सांसदहरूले प्रश्न उठाएपछि सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षम महासंघसँग बसेर कुरा गर्न ध्यानकर्षण गराए । मन्त्री पन्तले आफू विधेयक लम्ब्याउने पक्षमा नरहेको तर कतिपय विषयमा राजनीतिक सहमति हुनुपर्ने बताए ।
‘विधेयक लम्ब्याउने पक्षमा छैन । तर कतिपय विषय राजनीतिक सहमति खोज्नु पर्ने हुन्छन् । टुंगो लगाउँदै जाऊँ । नटुंगिएका थाती राखेर अन्तिममा टुंगो लगाऊँ,’ मन्त्री पन्तले भने ।
शिक्षक महासंघ र सरकारबीच गत १७ वैशाखमा सहमति भएपछि २९ दिने आन्दोलन शिक्षकहरूले स्थगित गरेका थिए । तर सहमति अनुसार उपसमितिको प्रतिवेदन नआएपछि शिक्षक महासंघले शिक्षा समितिलाई समेत ध्यानकर्षण गराएका छन् । १५ असारभित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सम्झौता समेत भएको छ ।
प्रतिक्रिया 4