
News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ५ का हरिराम यादवलाई श्रीमती अञ्जली यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
- प्रहरीले बताएअनुसार, हरिरामले गर्भवती श्रीमती र छोरीलाई नशाको नशामा हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेको छ।
- अञ्जलीको शव फागुन १७ गते घरको पूजा कोठामा भेटिएको थियो, र अनुसन्धानपछि उनलाई बिहीबार पक्राउ गरिएको हो।
८ जेठ, जनकपुरधाम । श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ५ बनिनियाका हरिराम यादवलाई धनुषा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनले आफ्नी श्रीमती २५ वर्षीया अञ्जली यादवलाई गर्भवती अवस्थामा हत्या गरेको खुलेको छ ।
प्रहरीका अनुसार लागुऔषध सेवनकर्ता रहेका उनले नशाको लतमा आठ महनाकी गर्भवती अञ्जलीको घरायसी विवादमा निर्मम हत्या गरेका हुन् । सँगै आफ्नै १० महिने छोरीलाई समेत हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
‘पक्राउ परेका श्रीमान् हरिराम लागुऔषध सेवनकर्ता हुन् । उनले प्रहरीलाई दिएको बयानमा अञ्जली आठ महिनाकी गर्भवती थिइन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘राति लागुऔषधको नशामा विवाद हुँदा पेटसहितको भागमा जोडले हिर्काएको र त्यसपछि पीडाले छटपटाउँदै मृत्यु भयो । मृत्यु भएपछि लुकाउन माटोमा गाडेको हो भन्ने हरिरामको बयान छ ।’
ती अनुसन्धान अधिकारीका अनुसार घटनापछि पनि हरिराम तीन/चारदिनसम्म घरमै रहेका थिए । पछि उनी फरार भए । तर छोरी के कुन अवस्थामा छ भन्ने उनको फरक बयानले प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । छोरीको पनि हत्या गरेर फालेको हुनसक्ने प्रहरीको आशंका छ ।
‘हरिरामले घटनाकै राति सुरुमा गाउँको छेउको नालामा फालेको बयान दिएका थिए । त्यहाँ खोजबिन गर्दा केही भेटिएन । पछिसँगै लगेको पनि बयान दिएका छन् । तर फरक बयानले घटना शंकास्पद छ,’ ती अनुसन्धान अधिकारी भन्छन् ।
गत फागुन १७ गते दिउँसो उनको घरमाको पूजा कोठामा अञ्जलीको शव गाडेको अवस्थामा फेला परेको थियो ।
धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार तीनचार दिनदेखि घरमा कोही नरहेको स्थानीयले चाल पाएपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरको ताला फुटाएर खोजबिन गर्दा पूजा कोठामा केही दिनअघि मात्र सिमेन्टले ढलान गरेको पाइएको थियो । शंका लागेर फोडेर उत्खनन गर्दा अञ्जलीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले खोज अनुसन्धानको क्रममा झण्डै तीन महिनापछि बिहीबार बिहान ९ बजे धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरी स्थित रेल्वे स्टेशनबाट पक्राउ परेका छन् ।
पक्राउ परेका हरिरामलाई प्रहरीले जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए । यद्यपि १० महिने छोरी कुन अवस्थामा छ भन्ने कुरामा अहिले खुल्न नसकेको उनको भनाइ छ ।
‘छोरी के कुन अवस्थामा छ हामीले खोजबिन गरिरहेका छौं । अहिले केही भन्न सक्ने अवस्था छैन,’ एसपी रेग्मीले भने ।
प्रतिक्रिया 4