
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार र कनेक्टिभिटी बढाउन आग्रह गरे।
- उनले बौद्ध पर्यटन केन्द्रको रूपमा नेपाललाई स्थापित गर्न र बौद्ध सर्किट विकास गर्न सुझाव दिए।
- अध्यक्ष ढकालले नेपालका विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकारसँग ठोस पहल गर्न आग्रह गरे।
९ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट उद्घाटनमा उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।
मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्रान्डको रूपमा विकास गर्नु पर्नेमा जोड दिए ।
‘हाम्रा दुई छिमेकी देश भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ,’ उनले भने ।
उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने बताए ।
अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोही अनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राखे ।
अर्बौंको लागतमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गरे ।
बीआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा राखे ।
नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले नेपालको सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीयहरू मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिए ।
प्रतिक्रिया 4