+
+
Shares

अध्ययन भन्छ : जलवायु परिवर्तनले घातक ढुसी संक्रमण फैलिने खतरा बढाएको छ

बढ्दो तापमानले खतरनाक ढुसीका जातहरूलाई नयाँ भू-भागहरूमा फैलिन सहज बनाइरहेको अध्ययनको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक अध्ययनले जलवायु परिवर्तनले प्राणघातक ढुसी संक्रमणहरूको विश्वव्यापी फैलावट बढाउने चेतावनी दिएको छ।
  • म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले २१०० सम्म एसपरजिलस फ्युमिगेटस र एसपरजिलस फ्लाभसको फैलावट ७७ र १६ प्रतिशतले बढ्ने अनुमान गरेका छन्।

९ जेठ, काठमाडौं । एक नयाँ अध्ययनका अनुसार, जलवायु संकटका कारण प्राणघातक ढुसी संक्रमणहरू विश्वभर तीव्र रूपमा फैलन थालेका खुलासा भएको छ । बढ्दो तापमानले खतरनाक ढुसीका जातहरूलाई नयाँ भू-भागहरूमा फैलिन सहज बनाइरहेको उक्त अध्ययनको निष्कर्ष छ ।

अनुसन्धानकर्ताहरूका अनुसार दुई प्रमुख ढुसीजन्य रोगहरू एसपरजिलस फ्युमिगेटस र एसपरजिलस फ्लाभसका कारण वैश्विक तापमान वृद्धि हुँदै जाँदा युरोप र अन्य क्षेत्रहरूमा अझ छिटो फैलिन सक्ने सम्भावना छ ।

यी नतिजाहरूले ढुसीजन्य रोगहरूको स्वास्थ्य संकटबारे नयाँ चिन्ता उत्पन्न गराएका छन्, जुन अरू संक्रामक रोगहरूको तुलनामा अझै पनि कम अध्ययन भएको क्षेत्र हो ।

ढुसीको फैलावट र जोखिमको लेखाजोखा

म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूको जलवायु मोडलिङमा आधारित अध्ययनले फोक्सोमा गम्भीर र प्रायः घातक संक्रमण गराउने ए. फ्युमिगेटस सन् २१०० सम्म उच्च-उत्सर्जनको अवस्थामा आफ्नो फैलावट क्षेत्र ७७ प्रतिशतले विस्तार गर्न सक्ने चेतावनी दिएको छ । यसले युरोपभरि थप ९० लाख मानिसलाई जोखिममा पार्न सक्छ ।

त्यस्तै, बालीहरूमा संक्रमण गराउने र क्यान्सर पैदा गर्ने एफ्लाटोक्सिन उत्पादन गर्ने ए. फ्लाभसले विश्वभर १६ प्रतिशत बढी भू-भागमा फैलावट देखाउने प्रक्षेपण गरिएको छ । यसले विशेषगरी जलवायु संकटबाट प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षामै खतराको संकेत गर्छ ।

अध्ययनका सहलेखक डा. नर्मन भान हाइन भन्छन्, ‘आर्द्रता र चरम मौसम परिवर्तनजस्ता वातावरणीय कारकहरूले ढुसीको बासस्थान बदल्ने र त्यसको अनुकूलन तथा फैलावटलाई गति दिनेछन् ।’

छैन स्वास्थ्य नीतिको प्राथमिकतामा 

यो अध्ययन ढुसी संक्रमणहरूलाई विश्वव्यापी स्वास्थ्य नीतिमा लामो समयसम्म उपेक्षा गरिएको सन्दर्भमा आएको हो । तर अब तिनै संक्रमणहरूले ठूलो स्वास्थ्य संकट निम्त्याउने सम्भावना देखिएको छ।

ब्याक्टेरियाजन्य संक्रमणको तुलनामा ढुसीजन्य संक्रमणहरू उपचार गर्न गाह्रो हुन्छन्, र ती धेरै औषधिहरूप्रति प्रतिरोधी पनि हुन्छन्। यति ठूलो खतरा हुँदाहुँदै पनि विश्वभरको अनुमानित ढुसी जातमध्ये १० प्रतिशतभन्दा कम मात्र पहिचान गरिएको छ ।

सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले पहिलोपटक ढुसीजन्य संक्रमणलाई शीर्ष प्राथमिकतामा राख्दै स्वास्थ्य खतरा घोषणा गर्‍यो । त्यसपछि पनि यस क्षेत्रमा लगानी कम छ ।

ढुसी रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै वेलकम ट्रस्टले आगामी वर्षमा ढुसीसम्बन्धी अनुसन्धानका लागि ५० मिलियन पाउन्डस्ट्रलिङ डलरभन्दा बढी बजेट घोषणा गरेको छ ।

डा. भान भन्छन्, ‘हामीले तापमान बढ्दै जाँदा क्यान्डिडा ओरिस ढुसीको उदय देखिसकेका छौं, तर अहिलेसम्म हामीसँग अन्य ढुसीहरूले वातावरणीय परिवर्तनमा कस्तो प्रतिक्रिया दिने भन्ने पर्याप्त जानकारी थिएन।

यो अध्ययनले भविष्यमा ढुसीजन्य संक्रमण विश्वका अधिकांश भागहरूमा फैलिन सक्ने देखाएको छ। त्यसैले ढुसी रोगप्रति सचेतना बढाउनु र प्रभावकारी हस्तक्षेप विकास गर्नु अत्यावश्यक छ।

किन यस्तो भइरहेछ ?

विशेषज्ञहरू भन्छन्- आँधी, खडेरी र डढेलोजस्ता चरम मौसमका घटनाहरूले ढुसीको बीउ फैलाउने र ढुसीको प्रजननका लागि उपयुक्त वातावरण सिर्जना गर्ने भएकाले संक्रमणको जोखिम झनै बढाउने छन्।

अध्ययनले केही भागहरूमा तापमान अत्यधिक बढेपछि केही ढुसीहरू बाँच्न नसक्ने देखाएको छ । यो विशेषगरी अफ्रिकाका केही क्षेत्रहरूमा हुनेछ । तर अनुसन्धानकर्ताहरूको भनाइमा ढुसीको लचिलोपना, ठूलो जीन संरचना र छिटो अनुकूलन क्षमताले तिनीहरूलाई नयाँ वातावरणमा सजिलै विकास गर्न सक्ने बनाउँछ ।

ढुसी प्रतिरोधी क्षमता पनि बढ्दो छ, जसको एक प्रमुख कारण कृषि क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने फंगीसाइडहरू हुन् । धेरै ढुसी संक्रमणहरू उच्च मृत्युदरका छन्, र उपचारमा प्रयोग हुने औषधिहरू सीमित छन्, किनभने ढुसी र मानव कोशिका बीचको जैविक समानता उपचारलाई कठिन बनाउँछ ।

वेलकम ट्रस्टकी अनुसन्धान प्रबन्धक भिभ गूसेन्स भन्छिन्, ‘ढुसीजन्य रोगहरूले मानव स्वास्थ्यलाई मात्र होइन, खाद्य प्रणालीलाई पनि विघटन गरिरहेका छन् । जलवायु परिवर्तनले यी सबै जोखिमहरू अझ बढाउने छ ।’

उनले थपिन्, ‘यी चुनौतीहरूको सामना गर्न हामीले न्यून अनुसन्धानको अवस्था कायम राख्नुहुँदैन । ढुसीको फैलावटको नक्सा र मोडेल प्रयोग गरेर हामी स्रोतहरू सही ठाउँमा लगाउन सक्नेछौं र भविष्यको तयारी गर्न सक्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?