
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत विराटनगरले मानगढ खानेपानी आयोजनाको मतदानलाई बदर गरेपछि पुनः आज मतदान भएको छ।
- मतदानमा ५ हजार ९९८ मतदाता रहेको र नयाँ नेतृत्वका लागि तीन उम्मेदवार प्रतिस्पर्धामा छन्।
१० जेठ, विराटनगर । मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ ।
मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि २०८१ जेठ १९ गते मतदान भएको थियो । तर, त्यो निर्वाचनलाई उच्च अदालत विराटनगरले बदर गरेका कारण १ वर्षपछि आज पुन: मतदान भएको हो ।
विराटनगर महानगरपालिका – १ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा बिहान सवा ७ बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछन् ।
निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालका अनुसार निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता छन् ।
नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ ।
भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् ।
भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयाेग गरेका छन् ।
गत वर्ष एमालेको आधिकारिक उम्मेदवारका विरुद्ध लागेको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । थापा अहिले एमालेको मोरङ उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।
२०८१ जेठ १९ मा भएकाे मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसमेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।
टंकप्रसाद खतिवडासमेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको थियो । गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको थियो ।
अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान मात्रै पुनः गर्नुपर्ने भनेको थियो ।
प्रतिक्रिया 4