
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्ड र नाट्टाले आयोजना गरेको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट विवादमा परेको छ।
- रुपन्देहीका पर्यटन व्यवसायीहरूले कार्यक्रम लुम्बिनीमा आयोजना गर्नुपर्नेमा काठमाडौंमा आयोजना गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
- उनीहरूले अघिल्लो कार्यक्रमको भुक्तानी समेत नपाएको आरोप लगाएका छन्।
११ जेठ,बुटवल । बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआइटीएम) को तेस्रो संस्करण विवादमा तानिएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा जारी तीन दिने मार्टको समापन आज भैरहवामा हुँदैछ ।
उद्घाटन कार्यक्रम भने शुक्रबार काठमाडौंमा भएको थियो, दोस्रो दिनको कार्यक्रम पनि काठमाडौंमै भयो ।
रुपन्देहीका पर्यटन व्यवसायीहरूले बुद्धिस्ट मार्ट भएकाले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्नुपर्नेमा उद्घाटन सहित दुई दिन काठमाडौंमा गरिएको र यसअघिका मार्टको लाखौं भुक्तानी रुपन्देहीका व्यवसायीलाई नदिइएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । केही पर्यटन व्यवसायीले समापन कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
सोसाइटी अफ ट्राभल्स एन्ड टुर अप्रेटर नेपाल (सोट्टो) लुम्बिनीका पूर्वअध्यक्ष सञ्जय बजिमयले बुद्धका नाममा काठमाडौंका पाँचतारे होटलभित्र सीमित कार्यक्रम गररे लुम्बिनी र नेपालमा पर्यटकहरुको आगमनमा कुनै उल्लेखनीय वृद्धि हुन नसक्ने बताए ।
‘बुद्धिस्ट मार्ट भनेपछि बुद्ध जन्मेको ठाउँ लुम्बिनीमै सबै कार्यक्रम हुनुपर्थ्यो,’ बजिमयले भने, ‘अघिल्ला मार्टको लाखौं रुपैयाँ भुक्तानी नदिइएकाले समापनमा सहभागी हुनुको औचित्य छैन ।’
केन्द्रीकृतरूपमा करोडौंको बजेट केही सिमित केन्द्रीय संस्था र नेपाल पर्यटन बोर्डमा सेटिङ गरेर लुम्बिनी र बुद्धका नाममा सरकारको ठूलो बजेटको दुरुपयोग भएकोमा गम्भीर ध्यानाकर्षण सहित घोर आपत्ति भएको उनले सामाजिक सञ्जालमै उल्लेख गरेका छन् । बजिमयले पहिलो मार्टको एक लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको बताए ।
अर्का पर्यटन व्यवसायी पवन हलुवाईले सन् २०२३ मा भएको अघिल्लो बुद्धिस्ट मार्टमा आफ्नो होटेल पवन प्यालेसमा पाहुना बसेको कोठा र खानाको करिब ३६ लाख रुपैयां दुई वर्षसम्म आयोजकले भुक्तानी नगरेको गुनासो गरे ।
‘सरकारी निकाय समेत जोडिएको कार्यक्रमको बिलको ३६ लाख रकम भुक्तानी नहुँदा आर्थिक संकट परेर होटल नै बेच्नुपरेको छ,’ हलुवाईले भने, ‘यस्तो कार्यक्रमले कसरी पर्यटन प्रवर्द्धन हुन्छ, उल्टो घाटा भइरहेको छ, धेरै साथीहरूको कार्यक्रमप्रति असन्तुष्टि छ, बिलको भुक्तानी माग्नका लागि मात्रै जानुपर्ने बाध्यता छ ।’
मार्टका केन्द्रीय सल्लाहकार एवं सिद्धार्थ होटेल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बुद्धिस्ट मार्ट काठमाडौंमा नभई लुम्बिनी र बुद्धसँग सम्बन्धित ठाउँहरूमा गरिनु पर्नेमा त्यो नहुँदा रुपन्देहीका पर्यटन व्यवसायी असन्तुष्ट बनेको बताए ।
‘एकातिर अघिल्ला मार्टको लाखौं रुपैयाँ भुक्तानी भएको छैन, अर्कोतिर बुद्धसँग सम्बन्धित ठाउँमा बुद्धिस्ट मार्ट गर्नु पर्नेमा काठमाडौं गरिनु सरासर गलत भएको छ,’ श्रेष्ठले भने, ‘यस्ता कार्यक्रम बोर्डले नभई होटल तथा पर्यटन व्यवसायीलाई जिम्मा दिने हो भने कम खर्चमा बढी प्रतिफल आउने गरी गर्न सकिन्छ ।’
अर्का पर्यटन व्यवसायी विष्णु शर्माले सरकारको ठूलो रकम खर्च हुने कार्यक्रमले प्रतिफल दिन स्थानीय व्यवसायीसँगको सार्थक सहकार्य आवश्यक हुनेमा त्यसमा कमी देखिएको बताए । अघिल्लो मार्टको ८२ हजार रुपैयाँ भुक्तानी नभएको बताउँदै शर्माले सरकारी निकायले व्यवसायीको लाखौं रकम भुक्तानी नगरी कार्यक्रमलाई निरन्तरता दिनुले राम्रो सन्देश नगएको बताए ।
सोट्टो लुम्बिनीका एसबी गुप्ताले सरकारी निकाय समेत आयोजक भएको यो कार्यक्रमको खर्चबारे नियमाक निकायले छानवीन गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘पर्यटन प्रवद्र्धनका नाममा गरिने कार्यक्रम सबै हिसाबले पारदर्शी र समावेशी हुनुपर्छ,’ गुप्ताले भने, ‘यो कार्यक्रम सीमित संस्था र व्यक्तिको आफूखुसी गर्ने माध्यम मात्रै बनेको छ ।’
नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनील शर्माले आफू मिटिङमा भएको भन्दै थप प्रतिक्रिया दिन चाहेनन् ।
आज हुने समापनमा बिटुबी सत्र, फार्म ट्रिप, नेटवर्किङ डिनर गरिनेछ । कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरिदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताको सहभागिता हुने अपेक्षा आयोजकको छ ।
सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्यान्ड, मलेसिया, श्रीलंकालगायत देश छन् ।
प्रतिक्रिया 4