+
+
Shares
राजीव पहारीसँग वार्ता :

‘युवासंघमा सर्वसम्मति भएन भने निर्वाचनमा जान्छौं’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १४:०७

तीन दिनका लागि भनेर शुक्रबार पोखरामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने लगभग पक्का भएको छ । महाधिवेशन लम्बिनुमा सर्वसम्मतिबाट नेतृत्व छान्ने नेकपा एमालेका नेताहरुको चाहना मुख्य कारण हो ।

विशेषतः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेकै व्यक्तिलाई अध्यक्ष बनाउन खोज्दा महाधिवेशन लम्बिदै गएको देखिन्छ । तर, ओलीले भनेकै व्यक्तिको नाममा सर्वसम्मति जुटाउन महाधिवेशनमा खटिएका नेताहरुले सकिरहेका छैनन् ।

यसै सन्दर्भमा युवा संघका इन्चार्ज एवं एमाले नेता राजीव पहारीसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी :

महाधिवेशन सुरु भएको शुक्रबारदेखि, बन्दसत्र निर्वाचन प्रक्रिया सुरु भएको पनि त्यही दिनदेखि, तर अहिलेसम्म किन टुंगिएन ?

शुक्रबार हामीले उद्‍घाटन सत्र सम्पन्न गरेर बन्द सत्र सञ्चालन गर्‍यौं । त्यही रातिदेखि ११ बजेभित्र हामीले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट पेस गरियो र ती सबै पारित भए । हिजो (शुक्रबार) मतदाता नामावली निकाल्ने काम भयो । र, मतदाता नामावलीका केही त्रुटि देखियो । र, अब केही समयमै अन्तिम नामावली प्रकाशन गरिनेछ ।

तपाईंहरुको निर्वाचन कार्यसूची अनुसार शुक्रबार नै मनोनयन सकिनुपर्ने थियो । तर, तपाईंहरुको विवाद यसरी अगाडि आयो कि अहिलेसम्म प्रतिनिधि टुंगो लगाउन सक्नु भएको छैन नि ?

विवाद भएको छैन । एकाध जिल्लाको हकमा नाममा भेरिफिकेसन गर्नु पर्ने भएको हो । सँगसँगै यता हामीले प्रक्रिया पनि अगाडि बढाइरहेका छौं । कार्यतालिका अनुसार नै बढाइराखेका छौं  । अर्कोतिर सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नको निम्ति प्रयत्न भएको छ ।

अहिलेचाहिँ प्रतिनिधहरु सभागृहको भित्र-बाहिर गरिराछन् । होटेल-होटेलमा छन् । यो टुंगो कहिले लाग्छ ?

बस्ने होटेलमै हो, घरमै हो । कि होटेलमा हुनुपर्‍यो कि सडकमा हुनु पर्‍यो कि सभागृहमै हो । अब हलभित्र बन्दसत्र गरेकोले भित्रबाहिर गर्ने कुरालाई पनि स्वभाविकै रुपमा लिनु पर्‍यो । त्यसलाई अन्यथा मान्नु हुँदैन । अब हामीले आज बेलुका, ढिलोमा भोलिभित्र महाधिवेशन सम्पन्न गरिसक्छौं ।

कसरी सम्पन्न गर्नुहुन्छ ? नेता-नेताहरुले आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउनका लागि काखी च्याप्दाखेरी प्रतिनिधिहरुमा तीव्र असन्तुष्टि सुनिन्छ । तर, तपाईंहरुले सर्वसम्मतको नाममा चाहिँ प्रतिस्पर्धालाई छेक्ने काम गरिराख्नुभएको छ भन्ने आरोप छ नि ?

बजार हल्लाको पछाडि लाग्नुको कुनै अर्थ र तुक छैन । निर्वाचनको प्रक्रिया सुरु भइरहेको छ । उम्मेदवारको नोमिनेसनसम्म पुगेकै छैन । को-को उम्मेदवार हुने हो भन्ने कुरै भएको छैन । सामाजिक संजाल, पत्रपत्रिकामा लेखेको भरमा बोलेको भरमा फलानो अध्यक्ष फलानो उपाध्यक्षको उम्मेदवार भन्ने कुराको कुनै अर्थ हुन्छ र ?

तर देखिन्छ त्यही । तपाईंहरूले अहिलेसम्म निर्वाचन प्रक्रिया नै अगाडि बढाउनु भएन । प्रतिनिधि नै टुंग्याउनु भएको छैन ।  तपाईंहरुले नै तोकेको सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अवरुद्ध छ ।

पार्टीका तर्फबाट हेर्ने नै मैले हो । अनि पार्टीको अमुक नेताको नाम लिएर यस्तो छ, उस्तो छ भन्ने कुराको कुनै अर्थ नै छैन

अलिकति संशोधन भएकोमात्रै हो । बन्दसत्र सकियो । प्रतिनिवेदन त सबै पारित भइसक्यो । हिजो नै धेरै काम सम्पन्न भइसक्यो । आज पनि हामीले करिबकरिब सकेसम्म निर्वाचनमै पुग्छौं । नभए पनि नोमिनेसन प्रक्रिया हामीले टुंग्याउँछौं । नोमिनेसन भइसकेपछि कुन पदमा को आकांक्षी रैछ भन्ने आधारमा बल्ल छलफल चल्ने हो ।

अहिलेसम्म प्रतिनिधिकै टुंगो देखिदैन ?

प्रतिनिधिको अन्तिम नामावली टाँस्न बाँकी छ ।

चुनावी प्रतिस्पर्धालाई रोक्ने काम चाहिँ किन गर्दै हुनुनुहन्छ ?

प्रक्रियामा जाँदैछ त । केहीबेरमा नोमिनेसनमा जान्छ । त्यहाँ कसले कुन पदमा उम्मेदवारी हाल्नु हुन्छ भन्ने थाहा हुन्छ । उम्मेदवारी हालेपछि केही समय उनीहरुसँग छलफल गरिन्छ । छलफल गर्दा पनि सहमति भएन भने निर्वाचनमा जान्छ ।

तर मतदानमा जानै नदिन सक्रिय हुनुभएको छ भन्ने छ ?

निर्वाचनको सर्वोत्तम विधि भनेको सर्वसम्मति नै होला नि । सर्वसम्मति ढंगले गर्नु भनेको जति प्रतिनिधि छन्, उनीहरु सबैको मन जित्ने कुरा हो । तर सर्वसम्मति भएन भने निर्वाचन प्रक्रियामा जान्छौं । निर्वाचन प्रक्रियामा जाने भनेरै मेसिन (मत मेटिका) लिएर आइसकेका छौं नि ।

सर्वसम्मतको चाहिँ माथिबाट भनेको मान्छेलाई ?

छैन, छैन । हाम्रो कोही पनि पात्र छैन ।

उसो भए निर्वाचनमा जान तयार हुनु हुन्छ, होइन ?

मेसिन ल्याइसकियो । देखाउनका लागि ल्याएको त होइन नि । सर्वसम्मतको प्रयत्न पनि गर्छौ, भइहाल्यो भने कुरा सिद्धियो । तर प्रक्रिया भइसक्यो ।

आजसम्म भनेर प्रतिनिधिलाई राख्ने व्यवस्था गर्नुभएको थियो, अहिलेसम्म प्रक्रिया सुरु नै भएको छैन । प्रतिनिधि त बिलखबन्दमा पर्ने भएन नि ?

राति १२ बजेसम्म हो । समय अझै छ नि ।

सर्वसम्मति भनेको प्रतिनिधि र उम्मेदवारबीच सहमति हुने हो कि माथिबाट सुनाएको नाममा ताली बजाउने हो ?

प्रतिनिधि परिपक्क हुनु हुन्छ, जिम्मेवार हुनुहुन्छ । प्रतिनिधिहरुलाई सबै कुरा थाहा छ । पहिलोपटक प्रतिनिधि आउनु भएकाहरु पनि धेरै महाधिवेशनमा आउनु भएकै छ ।

उहाँहरुले नयाँ नेतृत्व लिएर मात्र जानु हुन्छ ।

सर्वसम्मतको प्रयास गरियो भन्नुभएको थियो, के–के गर्नुभयो ?

साविकका पदाधिकारीहरुसँग इन्चार्जको हिसाबले मैले एक पक्षीय बहुपक्षीय सबैसँग कुराकानी गरेँ । पार्टीका तर्फबाट हेर्ने नै मैले हो । अनि पार्टीको अमुक नेताको नाम लिएर यस्तो छ, उस्तो छ भन्ने कुराको कुनै अर्थ नै छैन । पार्टीको कुरा भए पनि म मार्फत आउने होला नि । यहाँ कसैको इन्टेरेस्ट नै छैन ।

तर केपी ओलीले सार्वजनिक मञ्चबाटै सर्वसम्मति भन्नुभयो, तपाईले पनि सर्वसम्मत गरेर आउछु भन्नुभयो ?

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको कुरा के छ भने सर्वसम्मत गर्नु, कथं सर्वसम्मत भएन भने स्वस्थ्य, मर्यादित ढंगबाट प्रक्रियामा जानु । त्यसो भएर आफूलाई चाहिने जति मात्र कुरा सुन्नु भएन नि ।

तपाईं आफैं इन्चार्ज र पूर्व अध्यक्ष हुनुहुन्छ । तर समयमा महाधिवेशन टुंग्याउन सक्षम देखिनु भएन भन्ने आरोप छ नि ?

यति धेरै व्यवस्थित र मर्यादित ढंगबाट अधिवेशन भएको छ, त्यो कुरा प्रतिनिधिसँग बुझ्दा थाहा हुन्छ । प्रतिनिधिकै कुरा हो, यो प्रतिनिधिको कुरा भनेर तपाईंले आफ्नो कुरा भन्नुभयो ।

प्रतिनिधिको कुरालाई ध्यान दिएर समयमै प्रक्रिया बढाउने भन्दा पनि होटल होटलमा कसैलाई सर्वसम्मत बनाउन लागिरहनु भएको छ भन्ने छ ?

तीन दिनको अधिवेशन भनिएको छ । तीन दिन भनेपछि सामान्यतः चार/पाँच दिन त लागिहाल्छ नि ! नेपालगञ्जको महाधिवेशन सात/आठ दिन लागेको होइन । अहिले त तीन दिनभित्र धेरै काम सम्पन्न गरिसकेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?