News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनलाई मुलुकको आर्थिक समृद्धिको आधार भएको बताए ।
- उनले पर्वतीय पर्यटनको विकास र ब्रान्डिङ आवश्यकतामा जोड दिए।
- प्रदर्शनीले पर्यटन प्रवर्द्धन र प्रभावकारी समन्वयको महत्व दर्शाएको उनको भनाइ छ ।
११ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएको बताएका छन् ।
यसको विकास र प्रवद्र्धनका लागि समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा उनको जोड छ । गणतन्त्र दिवस २०८२ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस० ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी उद्घाटन गर्दै उनले पर्यटनबाट समृद्धि हासिल हुने गरी नीतिगत तथा संरचनागत सुधारमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले नेपालको पर्वतीय पर्यटनलाई पर्यटन क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा उल्लेख गर्दै यसलाई समन्वित ढंगले विकास गर्नु आवश्यक रहेको बताए ।
‘नेपाल भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण मात्र नभई अद्वितीय साहसिक गन्तव्यको पनि धनी मुलुक हो । यी गन्तव्यको ब्रान्डिङ गरेर नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु अपरिहार्य छ,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका तस्बिरहरूले पर्यटन विकाससँगै नेपालमा केही भइरहेको छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्छ भन्ने विश्वास लिएको छु ।’
उनले सगरमाथा लगायत हिमालको ब्रान्डिङ र प्रचारप्रसारका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
‘नेपालमा अनुपम र अद्वितीय ठाउँ छन्। यस्ता गन्तव्य संरक्षण र प्रवद्र्धन गर्दै पर्यटक आकर्षण बढाउन सरोकार भएका मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य अत्यावश्यक छ,’ उनले भने ।
मन्त्री पाण्डेले एकीकृत पर्यटन विकासका लागि सम्बन्धित सबै मन्त्रालयबीच प्रभावकारी समन्वय हुनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटकीय गन्तव्य प्रवद्र्धन र पूर्वाधार विकासमा मन्त्रालयले विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।
उनले राससले महत्वपूर्ण विषयवस्तुमा फोटो प्रदर्शनी आयोजना गरेर राज्यलाई सचेत गराएको भन्दै यस्तो प्रदर्शनीले पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङ आवश्यक रहेको सन्देश पनि दिएको बताए ।
प्रतिक्रिया 4