
११ जेठ, पोखरा । राष्ट्रिय युवा संघमा अध्यक्ष क्षितिज थेबेलाई नै दोहोर्याएर सर्वसम्मत गर्ने प्रयास असफल भएको छ ।
शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनमा क्षितिज बाहेक चार जना आकांक्षी रहेकाले सर्वसम्मत गर्न अफ्ठेरो पर्ने र क्षितिजलाई नै दोहोर्याएर सहमति गर्ने नेताहरूले प्रयास गरेका थिए । तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूको प्रयास असफल भएको छ ।
दुई पटक उपाध्यक्ष र हाल महासचिव रहेका सुमन पुरीले अडान नछोडेपछि सर्वसम्मतिको प्रयास विफल भएको हो । अहिले थेबे र पुरी प्यानलसहित चुनावमा जाने पक्का जस्तै भएको छ ।
शनिबार दिनभर नेताहरू सहमति गर्ने बैठकमा बसे । अर्कातिर क्षितिजको नाममा सर्वसम्मति गर्न दबाब दिँदै प्रदर्शन भयो । यसपछि अरु आकांक्षीहरू सुमन पुरी, महाराज गुरुङसहित महासचिव पदका दाबेदारहरूले समेत समूह समूहमा प्रदर्शन गरे ।
यसरी सर्वसम्मतिको प्रयास असफल भएपछि मतदानबाटै नेतृत्व छान्ने पक्का भएको छ । मनोनयन, दाबी-विरोधसहित अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने र सोमबार मतदान गर्ने तालिका सार्वजनिक भएको छ ।
थेबे र पुरी दुवैले मनोनयन दर्ता गराइसकेका छन् ।
४५ मेसिनबाट मतदान गराएर सोमबारै मतगणना गर्ने तयारी गरिएको निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । निर्वाचन प्रक्रियाबाटै नेतृत्व छान्ने अधिकार दिनुपर्ने अधिकांश प्रतिनिधिको माग थियो ।
मतदान हुने पक्कासँगै प्रतिनिधिहरू पनि उत्साही हुँदै आ-आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाइरहेका छन् । क्षितिजलाई अध्यक्ष दोहोर्याउन प्रधानमन्त्री ओलीले नै दबाब दिएका छन् ।
सर्वसम्मत हुने हकमा क्षितिजलाई एक पटक दोहोर्याउन सहमति जनाए पनि त्यो असफल भएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ पनि सुमन पुरीलाई दिएको उनीनिकट नेताहरूले बताएका छन् ।
‘सर्वसम्मत हुने हो भने एक पटकलाई क्षितिजलाई अगाडि बढाउने, होइन भने महासचिव सुमनलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मत भण्डारीको छ । उपाध्यक्ष हुँदै महासचिवमै अघिल्लो पटक चित्त बुझाएका सुमनलाई ल्याउँदा नेतृत्व विकास पनि हुन्छ भन्ने हो,’ भण्डारीनिकट ती केन्द्रीय सदस्यले भने, ‘अब मतदान हुँदा सुमनलाई नेतृत्वमा ल्याउन पूर्वराष्ट्रपति भण्डारीले सन्देश प्रवाह गर्नुभएको छ ।’
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता बढ्दो छ भने एमालेभित्र उनको प्रभावसमेत बलियो भइरहेको छ । ओलीको विकल्पको बहस चलिरहेका बेला विद्या अबको नेतृत्वमा आउनेसमेत नेताहरुको भनाइ छ । ‘हामी एउटा लामो मिसनमा छौं । हामीले सोच्दा तत्काललाई सोचेर मात्र निर्णय गर्दैनौं । भोलि पार्टीकै नेतृत्व गर्नुपर्ने अवस्थासमेत आउन सक्छ । सुमनलाई साथ दिने निर्णय पनि दीर्घकालीन नै हो,’ ती सदस्यले भने ।
सुमनलाई नेतृत्वमा ल्याउने भण्डारीले स्पष्ट सन्देश दिएसँगै युवा संघ नेपालको महाधिवेशन ओली र भण्डारीको प्रतिष्ठासँग पनि जोडिएको छ । उनीहरूको साथ र समर्थनअनुसार दुई प्यानल नै मतदानमा जाने देखिएसँगै संघको महाधिवेशनमा असली रूपमा ओली र भण्डारीको प्रतिष्ठाको जाँचसमेत हुने एक केन्द्रीय सदस्यले बताए ।
अध्यक्षमा क्षितिज र सुमनबीच मतदान हुने भएसँगै अन्य आकांक्षी यिनै दुई उम्मेदवारसँग बाँडिएका छन् । अध्यक्षका आकांक्षी माहाराज गुरुङ क्षितिजको समूहबाट उपाध्यक्ष र प्रकाश गौतम सुमन समूहबाट उपाध्यक्षको उम्मेदवार हुने नेताहरूको भनाइ छ ।
महासचिवमा सुमन प्यानलबाट पर्वत भण्डारी, क्षितिज थेबेको प्यानलबाट महेश चौलागाईं उम्मेदवार हुने देखिएको छ ।
अब पार्टीको राजनीतिमा जाने र युवा संघको नेतृत्व छाड्ने बताएका क्षितिजलाई फेरि दोहोर्याउन ओलीले दबाब दिएपछि आकांक्षीहरू असन्तुष्ट बनेका थिए । ओलीकै निर्देशनमा सर्वसम्मत बनाउन जनसंगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य भानुभक्त ढकाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, राजीव पहारी लगायतले सर्वसम्मत गराउने भन्दै होटलमा बसेर प्रयास गरे पनि सफल हुन सकेन ।
पूर्वअध्यक्षहरू महेश, राजीव र किरण पौडेलले क्षितिजको नाममा सर्वसम्मत नभए महाराज गुरुङलाई अध्यक्ष बनाउन पनि पहल गरेका थिए । तर महाराजलाई क्षितिज समूहकै उपाध्यक्ष बनाउने गरी रणनीति बनाएका हुन् । पूर्वराष्ट्रपति भण्डारीसहित पूर्वअध्यक्ष रमेश पौडेल, बच्चनबहादुर सिंह, पूर्वउपाध्यक्ष सन्तोष रावल लगायत सुमन पुरीलाई अध्यक्ष बनाउन लागिपरेका छन् ।
प्रतिक्रिया 4