
News Summary
Generated by OK AI. Editorially reviewed.- गगन थापाले क्रियाशील सदस्यता नवीकरण असार मसान्तसम्म सम्पन्न गर्न पार्टी नेताहरूको सहयोग आवश्यक रहेको बताए।
- सभापति शेरबहादुर देउवाको उपस्थितिमा ९ जिल्लामा विवाद र समस्या समाधानका लागि छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरण असार मसान्तसम्म सक्नका लागि पार्टीका सबै नेताले सहयोग गर्नुपर्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा सोमबार बिहान बसेको बैठकमा थापाले क्रियाशील सदस्यता नवीकरणमा अहिलेसम्म भएका कार्य र समस्या रहेका स्थानबारे जानकारी गराएका थिए ।
‘क्रियाशील सदस्यता नवीकरणको काम असार मसान्तभित्र सम्पन्न गर्न सकिन्छ । तर, यसमा चाहिँ मलाई पार्टीका सबै नेताहरूको मद्दत चाहियो,’ बैठकमा थापाले भने ।
थापा कांग्रेसले गठन गरेको सदस्यता व्यवस्थापन समितिको संयोजक समेत हुन् । केही जिल्लाले काम टुंग्याएको र कतिपयले बुझाउने अन्तिम चरणमा रहेको पार्टी बैठकमा जानकारी गराएका थिए ।
क्रियाशील सदस्यता नवीकरणका लागि ९ जिल्लामा समस्या रहेको उनले सुनाएका थिए । बारा, पर्सा, सिराहा, सप्तरी, सर्लाही खोटाङ, रामेछाप लगायतका जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद रहेको छ ।
विवाद रहेका जिल्लाका नेताहरूलाई केन्द्रमा बोलाएर सभापति देउवासँगै राखेर छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।
पार्टीभित्रका समूह-समूहको इगोका कारणले विवाद भएको कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।
‘९ जिल्लामा सभापतिकै उपस्थितिमा बसेर छलफल गर्ने भन्ने कुरा भयो । नवीकरणको काम सकेपछि नयाँ वितरणको काम सुरु गर्ने कुरा भएको छ,’ महामन्त्री थापाले भने ।
अनुशासनको कारबाही सिफारिस भएको तर निर्णय हुन नसक्दा समेत क्रियाशील सदस्यता नवीकरणमा विवाद देखिएको छ । अनुशासन समितिले निर्णय नगर्दा समेत नवीकरण हुन अवरोध भएको महामन्त्री थापाले बैठकमा सुनाएका थिए ।
क्रियाशील सदस्यता नवीकरणमा हस्ताक्षर गर्ने कतिपय व्यक्तिहरू नै अनुशासनको कारबाही सिफारिसमा पर्दा समस्या उत्पन्न भएको जानकारी गराइएको छ ।
‘कतिपय स्थानबाट क्रियाशीलमा प्रमाणित गर्ने मान्छेलाई समेत पनि अनुशासनको कारबाहीको सिफारिस छ । सिफारिस भएता पनि अन्तिम टुंगो नलाग्ने बेलासम्म कसैलाई पनि कारबाही गरेको मानिन्न । त्यसले गर्दा पनि केही ठाउँमा समस्या देखिएको छ,’ थापाले भने ।
अनुशासन समितिसँग छिट्टै बैठक गरेर यो विषयमा टुंगो लगाउने थापाले जानकारी गराए ।
प्रतिक्रिया 4