+
+
Shares

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई संसद्‌मा काउन्टर दिने विपक्षी रणनीति

सत्तापक्षले गृहमन्त्री लेखकको बचाउ गरिरहँदा विपक्षी दलहरूले मंगलबार संसद बैठक सहज रूपमा चल्न नदिने संकेत गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ १२ गते २२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी र भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान थालेको छ।
  • उहाँले सदनमा जवाफ दिन तयारी गरे पनि विपक्षी दलहरूले विरोध जनाएका छन्।
  • रास्वपा र माओवादी केन्द्रले यस मुद्दालाई संसद्मा सशक्त रूपमा उठाउने तयारी गरेका छन्।

१२ जेठ, काठमाडौं । कांग्रेस नेता प्रदीप गिरि भन्थे, ‘आफू विपक्षमा हुँदा त्यस्ता अभिव्यक्ति नदिनू जुन सत्तामा पुगेका बेला कार्यान्वयन गर्न नसकियोस् ।’

गिरिको यो भनाइको सन्दर्भ बेग्लै थियो । तर, अहिले परिस्थिति गृहमन्त्री रमेश लेखकसँग मिल्न पुगेको छ । करिब १४ महिनाअघि तत्कालीन प्रमुख प्रतिपक्षी दलको तर्फबाट गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै उनले दिएको नैतिकताको उपदेश आफैंलाई भारी परेको छ ।

मानव तस्करहरूसँग मिलेर भिजिट भिसामा नेपाली युवा विदेश पठाउन सक्रिय संगठित गिरोहलाई लाभ हुने गरी निर्णयहरू लिएको भन्दै गृहमन्त्री लेखक मुछिएका छन् ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडि बढाएको छ । पदमै रहँदा उनले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै राजीनामाको माग पनि बढेको छ । त्यसबेला लामिछानेमाथि उनले उठाएको नैतिकताको प्रश्न उनीतिरै तेर्सिएको छ ।

यद्यपि, सत्तागठबन्धनका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो साथ उनलाई छ । विपक्षी दलहरू पनि सशक्त प्रतिरोधको तयारी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही कर्मचारीलाई नियन्त्रणमा लिएसँगै यो प्रकरणमा गृहमन्त्री लेखकसमेत मुछिएका हुन् । गृहमन्त्री लेखकको रुची अनुसार भट्टरार्ई अध्यागमनको नेतृत्वमा पुगेको आरोप उनी माथि लागेको छ ।

अध्यागमन कार्यालयमा मानव बेचबिखनको संगठित जालो भएको र त्यस कार्यका लागि गृहमन्त्रीको भूमिका समेत देखिएको विपक्षी दलले आरोप लगाएका छन् । पार्टीभित्र र बाहिरबाट आफू माथि प्रश्न उठेपछि लेखकले प्रतिनिधिसभाको मंगलबारको बैठकमा त्यसको जवाफ दिने समय लिएका छन् ।

तर, विपक्षी दलले सहज रूपमा बैठकलाई चल्न नदिने संकेत गरेका छन् । प्रतिनिधिसभाको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ जेठको संसद् बैठक सहज तरिकाले चल्न नदिने बताइसकेको छ ।

रास्वपाले यो मुद्दालाई तत्कालीन समयका गृहमन्त्री तथा आफ्ना पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै संसद्मै लेखकले व्यक्त गरेको नैतिकताको प्रश्नसँग जोड्न खोजेको छ ।

तत्कालीन समयमा विपक्षी दलको तर्फबाट संसदको आकस्मिक समय लिएर लेखकले प्रश्न उठिसकेपछि राजीनामा दिएर छानबिनमा सघाउन र नैतिक प्रदर्शन गर्न चुनौति दिएका थिए ।

६ चैत २०८० मा बसेको प्रतिनिधिसभा बैठकमा तत्कालीन प्रमुख प्रतिपक्षी दलको तर्फबाट गृहमन्त्रीको राजीनामा माग्दै रमेश लेखक । फाइल फोटो ।

आफ्नो त्यही अभिव्यक्तिले अहिले लेखक घेरिएका छन् । अहिले लेखकमाथि त्यही प्रश्न उठेको छ, तर उनी राजीनामा दिएर छानबिनलाई सघाउन भन्दा सरकारमै रहेर छानबिन प्रभावित पार्न उद्यत रहेको विपक्षी दलहरूको आरोप छ ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले गृहमन्त्रीको पदबाट यथाशीघ्र राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको थियो । सोमबार साँझ सकिएको रास्वपाको संसदीय दलको बैठकले सदनमा सशक्त रूपमा प्रस्तुत हुने थप निर्णय गरेको छ ।

कार्यबाहक प्रवक्ता मनीष झाले मानव तस्करीसँग जोडिएको भिजिट भिसा प्रकरणलाई सदनमा सशक्त प्रस्तुत उठाउने निर्णय भएको जानकारी दिए । ‘प्रश्न उठ्दैमा राजीनामा गरिहाल्नुपर्छ भनेर अरुलाई उपदेश दिएका गृहमन्त्रीले आफ्नो विषयमा कुरा उठ्दा किन बहाना खोजेको ?’ झाले प्रश्न गरे ।

सोमबार बसेको रास्वपाको संसदीय दलको बैठक ।

रास्वपाले सदनमा रहेका अन्य विपक्षी दललाई पनि यो मुद्दामा सहकार्यको प्रस्ताव गरेको छ । कार्यबाहक प्रवक्ता झाले अन्य विपक्षी दलहरूसँग पनि समान धारणा बनाउने प्रयास स्वरूप आन्तरिक छलफल चलिरहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समेत यो विषय सद्नमा चर्कैसँग उठाउने देखिएको छ । माओवादीले विपक्षी दलहरूको बैठक नै राख्ने तयारी गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मंगलबार संसद बैठक बस्नुअघि विपक्षी दलको बैठक बस्ने तयारी भएको जानकारी दिए ।

‘माओवादी केन्द्र सुशासनको पक्षमा जहिले पनि उभिएको छ । भ्रष्टाचारको विषयवस्तु आएको छ । यो मुद्दालाई माओवादी केन्द्रले उठाइहाल्छ नि,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘विपक्ष दलको बैठक बसेर संसद्मा कसरी प्रस्तुत हुने निचोड निकाल्छौं ।’

गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नहरूको जवाफ सदनमा दिने बताए पनि उनका लागि वातावरण सहज देखिएको छैन । जसरी लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गरेको थियो, विपक्षी दलहरूले यसपटक त्यसैलाई दोहोर्‍याउने सम्भावना देखिएको छ ।

विपक्षले संसदमा प्रश्न सोध्न नपाउँदै गृहमन्त्री लेखकले जवाफ दिन्छु भन्नुको औचित्यता नहुने विपक्षी दलका नेताहरूको भनाइ छ । ‘हामीले गृहमन्त्रीलाई प्रश्न सोध्नै पाएका छैनौं । घरबाट आफैं प्रश्न बनाउने र आफैं उत्तर लिएर आएर उभिने तरिका स्वीकार्य हुँदैन,’ रास्वपा कार्यवाहक प्रवक्ता झाले विगत सम्झँदै भने, ‘हाम्रा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे सदनमा जवाफ दिन्छु भनेर समय माग गर्दा कांग्रेसले २२ वटा बैठक अवरोध गरेको थियो र जवाफ दिन रोकेको थियो ।’

झाको अभिव्यक्तिले यथास्थितिमा रास्वपाले संसद् चल्न नदिने रणनीति बनाएको बुझिन्छ । अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सदनमा सशक्त रूपमा प्रस्तुत हुने बताइसकेको छ । सुशासनको मुद्दा जोडतोडले उठाउने उसको भनाइ छ ।

राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणलाई जोडदार रूपमा संसद बैठकमा उठाउने बताए । गृहमन्त्री लेखकले भने भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरिरहेका छन् ।

गृहमन्त्री लेखकले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरेको विषय पार्टी बैठकमा सुनाएका थिए । कर्मचारीले गरेको कर्मको दोषी आफू नहुने उनले स्पष्टीकरण दिएका छन् ।

 

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?