
News Summary
Generated by OK AI. Editorially reviewed.- मौसमविद् गोविन्द झाले बताए, यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना छ।
- भारत, भुटान र बंगलादेशका पूर्व भूभागमा मनसुन आइसकेकाले नेपालमा प्रवेशको पूर्वानुमान गरिएको हो।
- फेबरेबल कन्डिसनका कारण यस वर्षको मनसुन सामान्यभन्दा छिटो आउने देखिन्छ।
१३ जेठ, काठमाडौं । यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो ।
‘नेपालको पूर्वी भूभागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर ‘फेबरेबल कन्डिसन’ देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश हुने सम्भावना छ ।’
कहिलेकाहिँ मनसुनी वायु बग्दै नेपालतिर आउनेक्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नदेखिएकाले ‘फेबरेबल कन्डिसन’ भनिएको उनको भनाइ छ ।
कहाँ कति प्रतिशत वर्षाको सम्भावना ?
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
त्यसैगरी मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुनेगरेको छ ।
प्रतिक्रिया 4