News Summary
Generated by OK AI. Editorially reviewed.- बेंगलुरुले लखनउ सुपर जान्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ।
- जितेश शर्माले ३३ बलमा ८५ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले २२८ रनको लक्ष्य १८.४ ओभरमा पूरा गर्यो।
- रिषभ पन्तले ११८ रन बनाएपनि जित हुन सकेन।
१३ जेठ, काठमाडौं । जितेश शर्माले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ८५ रन बनाएपछि रोयल च्यालेन्जर्स बेंगलुरुले २२८ रनको लक्ष्य पूरा गर्दै आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।
लखनउ सुपर जान्ट्सलाई ६ विकेटले हराउने क्रममा बेंगलुरुले २२८ रनको बलियो लक्ष्य १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । निमित्त कप्तान जितेशले ८ चौका र ६ छक्काको मद्दतमा शानदार इनिङ खेलेका हुन् ।
त्यसअघि १२औं ओभरमा विराट कोहली आउट भएपछि दबाबमा आएको बेंगलुरुका लागि जितेशले म्याच विनिङ पारी खेलेका हुन् । कोहली ५४ रनमा आउट भएका थिए ।
जितेशले ४९ रनमा जीवनदान पाएका थिए । दिग्वेश राठीको बलमा क्याचआउट भएपनि उक्त बल ब्याकफूट नो बल ठहरिएको थियो । त्यसपछि जितेशले पछाडि फर्किएर हेरेनन् ।
लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए। आवेश खान र आकाश सिंहले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले कप्तान रिषभ पन्तको अविजित शतक मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । रिषभ पन्तले अविजित ११८ रन बनाए । मिचेल मार्शले ३७ बलमा ६७ रन बनाए ।
बेंगलुरुका नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले १-१ विकेट लिए ।
योसँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटमा पञ्जाबभन्दा पछाडि दोस्रोमा रहेर सिजन सकाएको छ ।
अब पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु तथा इलिमिनेटरमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4