
News Summary
Generated by OK AI. Editorially reviewed.- घनले हानेर मार्न खोज्दा वधशालाबाट उम्किएकी भैँसीबाट मैचाको जन्म भयो ।
- मानवीय क्रुरताको साक्षी बसेकी मैचाले पनि एक वर्ष नपुग्दै संसार छाडिन् ।
अन्ततः मैचाले पनि छाडेर गइन् । मैचा, पाडी मात्र थिइनन् । मान्छेको क्रूरता र पाखण्डपनको ज्यूँदो साक्षी थिइन् । भाग्यले बाँचेकी एक प्राणी थिइन् ।
जतिबेला उनी गर्भमा थिइन्, उनकी आमा (भैँसी)लाई वधशालामा पुर्याइएको थियो । थारो भएको वा दूध कम दिएको भन्दै किसानले व्यापारीलाई बेचिदिए । व्यापारीले काठमाडौँको वधशालामा पुर्याए । वधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले ऊ रन्थनिएर भाग्न थालिन् । भाग्दै–भाग्दै एउटा विद्यालयभित्र पसेर लुकिन्।
भाग्ने क्रममा उनले केही मान्छे र गाडीलाई समेत क्षति पुर्याएको थिइन् । त्यही कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारी भेला भएर भैँसीलाई मार्ने तयारी थाले । यत्तिकैमा पशुप्रेमीहरू त्यहाँ पुगे । उनीहरूले सो भैँसीलाई मार्न होइन बचाउन जरुरी भएको भन्दै सेल्टरमा लिएर गए ।
भैँसीको हालत एकदमै दर्दनाक थियो । उसको टाउकोमा घनको डोब थियो । सिङ भाँचिएको थियो । सिङ र आँखाबाट रगत चुहिएको थियो । वधशालामा काट्न ल्याइएको उक्त भैँसी ब्याउने रहेछ । स्नेह केयर्समा राखेर उनलाई स्याहारसुसार गरेपछि केही महिनामा पाडीलाई जन्मियो । त्यसलाई नाम दिइयो ‘मैचा’ । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैयाँ भनेर सम्बोधन गरे जस्तै हो ।
तर, पहिले वधशालामा घनको प्रहारले गर्दा उसको स्वास्थ्यमा समस्या देखियो । बिस्तारै हिँड्न र उठ्न नसक्ने भयो । संयोगवश मैचा जन्मिएको केही दिनमा नै उनकी आमा माया कुमारीको मृत्यु भयो । भैँसीको मृत्यु भएपछि विधिवत् रूपमा अन्त्येष्टि गरियो । यसरी पशु खास गरी भैँसीलाई भावपूर्ण बिदाइ गरिएको यो विरलै घटना हो ।
जति बेला मैचालाई आमाको दूध र स्पर्श चाहिएको थियो त्यो उनले पाइनन् । आमाको माया नपाए पनि उनी धेरै जनाको माया र स्नेहको साथ हुर्किरहेकी थिइन् । यसरी आमाको गर्भमा हुँदादेखि नै विभिन्न पीडा सहेर बाँचेकी मैचा मानवीय क्रूरताको साक्षी थिइन् । उनले अझै धेरै वर्ष बाँचेर सन्तान जन्माएर यो मानवीय क्रूरता विरुद्धको लडाइ लड्नु पर्थ्यो । तर, उनको कथाको दुखान्त अन्त्य भयो ।
केही दिनअघि मैचाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्नेह केयरले भेटेरिनरी टिमलाई परीक्षणका लागि बोलायो । परीक्षण गर्दा एउटा निकै दुःखद तथ्य पत्ता लाग्यो, मैचाको पेटभित्र प्लास्टिक र फलामका टुक्राहरू भेटिए । मैचाले चर्न जाने क्रममा खोला किनारमा फालिएका खानेकुरासँगै प्लास्टिक र फलामका टुक्राहरू पनि खाइन् ।
जसले गर्दा उनको पेटमा समस्या भएको रहेछ । तुरुन्तै सर्जरी गरेर ती वस्तुहरूलाई निकालियो । तैपनि मैचालाई बचाउन सकिएन ।
सात दिनपछि मैचाको पहिलो जन्मदिन थियो । स्नेहा केयरले उनको जन्मदिन धूमधामले मनाउने तयारी गर्दै थियो । तर, केही दिन अघिदेखि उनले खाना खान छोडिन् र बिस्तारै गल्दै गइन् र अन्त्यमा प्राण त्यागिन् ।
मैचाको मृत्युपछि स्नेहा केयरकी सञ्चालिका स्नेहा श्रेष्ठले मैचाको मृत्युमा शोक व्यक्त गर्दै फेसबुकमा लेखेकी छिन् ‘ प्रिय मैचा, तिम्री आमालाई मृत्युको मुखबाट खोसेर ल्याएथेँ अनि तिमीलाई पाएर मेरो खुसी दोब्बर भएथ्यो । हिजो जस्तो लाग्छ तिमी जन्मिँदा मैले उत्सव मनाएको, अनि आज तिम्रो वियोगमा छाती पोलिरहेछ, म कसरी पत्याउँ यो खबर, कसरी तिम्रो वियोगमा शोक मनाउ ?
शायद हाम्रो मिलन यत्ति नै थियो होला, भावीको लेखान्त यस्तै थियो होला, मुटुभरिको माया दिएर, दुई दिनको रामछायाँ बनी तिमी गइहाल्यौ । यदि मिल्थ्यो भने तिम्रा लागि मेरो आयु दिने थिएँ, मात्र एक पटक फर्केर आईदेउन प्रिय । तिमीलाई अँगालो हालेर रुनेछु, तिम्रा लागि गर्न बाँकी सबै सेवा सुसार गर्नेछु, अन्तिम घडीमा कति खोज्यौ होला मलाई, मेरी आमा आउँछे भनी कति पर्खियौ होला मलाई, निष्ठूरी दैवले तिमीलाई खोसेर लगिहाल्यो, अब म कहाँ भेटौँ तिमीलाई ? अब मात्र बाँकी छन् तिम्रा स्मृतिहरू, तिम्रा पदचापहरू, तिमीलाई सदैव देख्न पाउँ इन्द्रेणी रङ्गहरूमा, तिमीलाई महसुस गर्न पाउँ हावाका झोक्काहरूमा, मेरा सपनाहरूमा बेलाबेला आइदिनु है, तिम्रो सन्चो बिसन्चो थाहा दिनु है, तिम्रो स्वर्ग बासको कामना गर्दछु प्रिय मैचा । अलबिदा !’
शहरका धेरै पशु प्राणी खोला किनारमा नै चर्ने गर्छन् । यस्तोमा मानवले खोला किनारमा फालेका खानेकुरा खाने गर्छन् । त्यस्ता खानेकुरामा भएका प्लास्टिकका टुक्रा, सिसाका टुक्रा, फलामको टुक्रा र ब्लेडका टुक्रा खाएर अरू कति पशु प्राणीले आफ्नो ज्यान गुमाउने हुन् ।
प्रतिक्रिया 4