News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग लिग २ का खेल खेल्नेछ।
- अभ्यासमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले लिग २ मा महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा हुनेछ।
- हाल १२ खेलमा ६ अंकसहित नेपाल पुछारमा छ, अवे शृंखलामा बटुलेको अंक बोनस पोइन्टका रूपमा रहनेछ।
१८ जेठ, काठमाडौं । सोमबारदेखि स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटको अर्को एक श्रृंखला सुरु हुँदैछ । जहाँ स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुँदैछन् ।
पछिल्लोपटक गत नोभेम्बरमा लिग २ को शृंखला खेलेको नेपाली टोलीलै ६ महिना यता पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । अंकतालिकामा ८ टिममध्ये हाल पुछारमा रहेको नेपाली टोलीका लागि यो अवे शृंखला अंक बटुल्ने हिसाबले महत्वपूर्ण हुनेछ ।
स्कटल्याण्ड आउनुअघि युकेमा काउन्टी टिमहरूसँग अभ्यास खेलेको नेपाली टोलीले यही शृंखलाअघि स्कटल्याण्डको ए टोलीसँग भने एक खेलमा हार बेहोर्दा अर्को खेल वर्षाले नतिजाविहीन बन्यो ।
यद्यपी अभ्यास खेलका दौरान नेपालको विगतको समयमा मुख्य समस्याका रूपमा देखिँदै आएको ब्याटिङमा भने सुधारिएको प्रदर्शन देखिएको छ । विशेषगरी मिडल अर्डर ब्याटिङमा देखिएको समस्याका बीच ब्याटरहरूले संयमित पारी खेलेर साझेदारी बनाउँदै लगेको देखिएको छ । यो लयलाई अब लिग २ मा पनि निरन्तरता दिने लक्ष्य हुनेछ ।
नेपालले दुई बलिया टोली स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग २-२ खेल खेल्नेछ । कन्डिशनले बाँकी दुई टोलीलाई फेभर गर्ने हुँदा नेपाली टोलीका लागि केही चुनौती पनि रहनेछ ।
विशेषगरी युकेमा भएको अभ्यास खेलमा राम्रो प्रदर्शन गरेको नेपाली टोलीले अब लिग २ का खेलहरूमा सोही लय निरन्तरता दिएर चार खेलमा सक्दो अंक बटुल्दै लिग २ को तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।
नेपालका लागि लिग २ मा स्थान सुधार गर्दै लैजान यो शृंखला एक सुरुवात हुनेछ जहाँबाट यसपछिका शृंखलाहरूले नेपालको एकदिवसीय विश्वकप खेल्ने सम्भावनाको रेखा कोर्नेछ ।
हालको अवस्था
नेपाली टोलीले हालसम्म १२ खेल खेल्दा ६ अंक मात्र जोडेको छ । २ खेलमा जित निकालेको नेपालले २ खेलमा वर्षाका कारण अंक बाँडेको छ । तीबाहेक ८ खेलमा नेपाल पराजित भएको छ ।
गत वर्ष फेब्रुअरीदेखि सुरु भएको लिग २ को पहिलो शृंखला नेपालमै भएको थियो जहाँ नामिबिया र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरेको थियो । उक्त शृंखलामा नेपालले नेदरल्याण्ड्ससँग एक खेल मात्र जित्दा नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।
त्यस्तै सेप्टेम्बरमा क्यानडामा भएको ओमान र क्यानडासँगको लिग २ शृंखलामा नेपालले कुनै जित निकाल्न सकेन । नेपालले ३ खेलमा हार बेहोर्दा अर्को खेल वर्षाका कारण हुन सकेन ।
लगत्तै अमेरिकामा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डलाई एक खेलमा हराउँदा अमेरिकासँग दुवै खेलमा पराजित भएको थियो भने स्कटल्याण्डसँगको अर्को खेल वर्षाका कारण हुन सकेन ।
यसरी नेपाल १२ खेलमा ६ अंक मात्र जोडेर यूएईसँग अंक बराबर भएपनि कम जितका कारण पुछारमा छ । यहाँबाट नेपालले अझै २४ खेल खेल्न बाँकी छ जसमध्ये ४ खेल अब हुन लागेको शृंखलामा हुनेछ ।
यसै वर्ष नेपालले थप २ शृंखला गरेर ८ खेल खेल्ने तय छ जसमध्ये एक नेपालमै हुने भनिएको छ । यसअघिको लिग २ साइकलमा नेपाल खराब फर्ममा रहेर एकदिवसीय मान्यता नै गुमाउने खतरा रहेका बेला अन्तिम १२ मध्ये ११ खेल जितेर चमत्कारिक प्रदर्शनका साथ एकदिवसीय मान्यता जोगाएर सोझै विश्वकपको छनोटमा नै पुगेको थियो ।
युकेको अभ्यास
नेपाली टोलीले लिग २ खेल्न स्कटल्याण्ड जानुअघि इंग्ल्याण्डमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो । यस अभ्यास क्याम्पका दौरान चारवटा फरक टोलीसँग खेलहरू खेलेको थियो । कार्डिफको न्यू पोर्ट टोली, एमसीसी र ग्लामोर्गानसँग एकदिवसीय अभ्यास खेलेको नेपाली टोलीले ग्लोसेस्टरशायरको टोलीसँग टी२० अभ्यास खेल खेल्यो र सबैमा अपराजित रह्यो ।
त्यस्तै स्कटल्याण्ड पुगेर पनि नेपालले स्कटल्याण्डको ए टोलीसँग अभ्यास एकदिवसीय खेल खेलेको थियो जहाँ एक खेलमा पराजित हुँदा एक खेल भने नतिजाविहीन बन्यो ।
यी दुवै अभ्यासका क्रममा नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ भने सुधारिएको देखिएको थियो । घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितका बीच नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरेका थिए ।
युकेमा भएको अभ्यासमा कार्डिफसँगको पहिलो खेलमा १८-५ को अवस्थामा पुगेर पनि खेल जितेको नेपाली टोलीले त्यसपछिका खेलमा भने ब्याटिङमा संघर्ष गर्नुपरेन । साझेदारीहरू बनाउँदै नेपाली ब्याटरहरूले राम्रो योगफल खडा गरेर खेल जितेका थिए ।
त्यस्तै स्कटल्याण्डमा भएको अभ्यासमा पहिलो खेलमा ब्याटिङमा केही कमजोर प्रदर्शन भएपनि दोस्रो खेलमा मध्यक्रमका तीन ब्याटरले अर्धशतक बनाएका थिए । नेपालका लागि मध्यक्रममा कप्तान रोहित पौडेल, आरिफ शेख, भीम सार्की र दिपेन्द्रसिंह ऐरी र गुल्शन झाले अभ्यासमा राम्रो गरेका छन् ।
ओपनरबाट भने अझै राम्रो सुरुवात हुन नसकेको अवस्थमा त्यसमा सुधार गरी अझै स्तरीय प्रदर्शनसहित अभ्यासमा देखिएको लयलाई अब स्कटल्याण्डमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ ।
सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्कटल्याण्डको कन्डिशनमा सहयोग पुग्ने गरी युकेको अभ्यासमा कन्डिशन बुझ्न मद्दत पुग्ने बताएका थिए । सोही अनुरुप नेपाली टोलीले अभ्यासमा राम्रो प्रदर्शन पनि गरेको छ ।
क्रिकेटर शरद भेषावकरले अभ्यास खेल भएतापनि यसमा गरेको ब्याटिङ प्रदर्शन सकारात्मक पक्ष भएको बताए । ‘समग्रमा हेर्दा यो राम्रो तयारी भएको छ, जुन स्कटल्याण्डको कन्डिशन छ त्यस अनुसार खेल्न यस अभ्यासले राम्रो तयारी गराएको छ खेलाडीहरूलाई’ उनले भने ।
विपक्षी कस्ता ?
नेपालले प्रतिस्पर्धा गर्ने दुवै टोली हाल लिग २ अंकतालिकामा माथिल्लो भागमा रहेका टोलीहरू हुन् । नेदरल्याण्ड्सले २० खेलमा २६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड १६ खेलमा २० अंक जोडेर चौथो स्थानमा छ । दुवै टोलीको विनिङ रेट उस्तै राम्रो देखिएको छ ।
स्कटल्याण्डले केही दिनअघि मात्रै भएको लिग २ कै खेलमा नेदरल्याण्ड्सविरुद्ध ३८० रनको योगफल खडा गरेर फराकिलो अन्तरको जित निकालेको थियो । तर उक्त खेल नेदरल्याण्ड्समा भएको थियो जहाँको पिचसँग स्कटल्याण्डको पिच कन्डिशन फरक हुनेछ ।
बलरहरूलाई सहयोग पुग्ने पिच स्कटल्याण्डमा हुने भएकाले दुवै टोलीमा राम्रा पेस बलरहरू रहेकाले नेपालका ब्याटरहरूले सुरुवाती ओभरमा संयमित भएर खेल्नुपर्ने हुन्छ ।
स्कटल्याण्डको ए टोलीमा रहेका ४ खेलाडीहरू लिग २ खेल्ने मुख्य टोलीमा पनि छन् । त्यसकारण तीमध्ये केही खेलाडीहरू लिग २ मा पनि खेलेको अवस्थामा नेपालका लागि परिचित रहनेछन् ।
यसअघिको विश्वकप खेलेको टोली नेदरल्याण्ड्स भने पछिल्लो समय लयमा देखिएको छ र पछिल्ला ८ मध्ये ५ खेल जितेको छ र २ खेल रद्द हुँदा १ खेलमा मात्र हार बेहोरेको छ ।
हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । नेपालले पछिल्लो खेल रद्द हुनुअघि अमेरिकाको डलासमा भएको खेल जितेको थियो ।
त्यस्तै नेदरल्याण्ड्ससँगको ५ खेलमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको छ । पछिल्लोपटक सन् २०२४ को फेब्रुअरीमा नेपालमै भएको लिग २ शृंखलामा दुवै टोलीले १-१ खेल जितेका थिए ।
लिग २ मा अवस्था सुधार्ने सुरुवात
नेपाल हाल लिग २ मा ८ टोलीमध्ये पुछारमा छ । १२ खेलमा ६ अंक मात्र जोडेको नेपालका लागि यो अवे (घरभन्दा बाहिर) शृंखलाले बोनस अंक बटुल्नमा ठुलो अर्थ राख्नेछ ।
यसअघि घरबाहिर खेल्दा संघर्ष गर्दै आइरहेको नेपालले अवे शृंखलामा केही अंक हासिल गर्न सके पछि हुने घरेलु शृंखलामा कम दबाब हुनेछ । त्यसकारण नेपालले यो शृंखलाबाट पनि दुवै टोलीसँग कम्तीमा एक-एक खेलमा जित निकालेर दोहोरो अंकमा पुग्न सक्छ ।
बोनस अंक के अर्थमा भन्न सकिन्छ भने नेपाली टोलीले माथिल्लो स्थानमा रहेका टोलीसँग खेल जितेमा आफूले पनि अंक प्राप्त गरेर विपक्षीलाई थप माथि जानबाट रोक्नेछ । अर्कोतर्फ बाहिरी कन्डिशनमा गर्दै आएको खराब प्रदर्शन सुधार्नु नेपाली क्रिकेट टोलीकै लागि पनि सुखद पक्ष हुनेछ ।
यद्यपी नेपालले यस शृंखलाका चारवटै खेल जितेको अवस्थामा पनि नेपाल अधिकतम १४ अंकसम्म पुग्नेछ जुन हालका लागि छैटौं स्थानमा रहने अंक हो । छैटौं स्थानमा रहेको नामिबियाको २० खेलमा १४ अंक छ भने त्यसभन्दा माथि क्यानडाको २० खेलबाट र स्कटल्याण्डको १६ खेलबाट २० अंक छ ।
नामिबियाको नेटरनरेट नेपालको भन्दा धेरै खराब रहेकाले नेपालले चारवटै खेल जितेमा छैटौंमा पुग्नेछ । ३ वा त्योभन्दा कम वा भनौं नेपालले एक खेल मात्र जितेको अवस्थामा पनि हालका लागि आठौंबाट सातौंमा मात्र उक्लनेछ ।
टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्कटल्याण्डमा राम्रो क्रिकेट खेलेर लिग २ मा केही अंक हासिल गर्ने बताए । ‘हामी अहिले राम्रो पोजिसनमा त छैनौं । तर स्कटल्याण्डमा त्यो सुधार गर्ने लक्ष्य हुनेछ, स्थान सुधार्दै जाने कुराको सुरुवात हुनेछ । तयारी पनि राम्रो भएको छ’ उनले नेपालबाट जानुअघि भनेका थिए ।
त्यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरीले स्कटल्याण्डमा गएर राम्रो क्रिकेट खेल्ने बताए । ‘प्राक्टिस राम्रो भएको छ, नयाँ कोच पनि आउनुभएको छ । स्कटल्याण्डमा अलि गाह्रो पिच हुन्छ तर हामी शत प्रतिशत दिनेछौं’ उनले पनि प्रस्थान गर्नुअघि भनेका थिए ।
प्रतिक्रिया 4