+
+
Shares

सांसद दीपक सिंह : कमल थापालाई भेट्न पुगेका थिए परिसर, प्रहरीले राख्दियो हिरासत

राजावादी प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेर परिसर भद्रकाली पुर्‍याएको थियो । त्यसपछि सांसद सिंह थापा लगायतलाई भेट्न भन्दै परिसर भद्रकाली पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले हिरासतमा लिएको छ, किनभने उनी प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने प्रयासमा सहभागी भएको प्रहरीको आरोप छ ।
  • प्रहरीले सिंहसहित आठ व्यक्तिलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा छन् ।

राजावादी प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापालाई प्रहरीले पक्राउ गरेर परिसर भद्रकाली पुर्‍याएको थियो । त्यसपछि सांसद सिंह थापा लगायतलाई भेट्न भन्दै परिसर भद्रकाली पुगेका थिए ।

थापालाई भेटेर आउने उदेश्यले परिसर पुगेका सिंह अहिले आफैं हिरासतमा पुगेका छन् । ‘उहाँ कमल थापालाई भेट्न भनेर आउनु भएको थियो । तर, प्रदर्शनमा निषेधित क्षेत्र तोड्न उनको समेत भूमिका देखिएपछि नियन्त्रणमा लिएर राखेका हौं,’ परिसर स्रोतले अनलाइनखबरसँग भन्यो ।

परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले पनि सिंहलाई नियन्त्रणमा लिइएको बताए । ‘माननीयज्यूलाई नियन्त्रणमा लिएका छौं । थप अनुसन्धान हुँदैछ,’ एसपी बोहराले भने ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई वीर अस्पतालमा लगेर स्वास्थ्य जाँच समेत गराएको छ । उनीहरूलाई म्याद थप गरेर अनुसन्धान गरिने/नगर्ने भन्नेबारे प्रहरीले केही पनि बताएको छैन ।

‘अहिले उहाँहरू हामै नियन्त्रणमा हुनुहुन्छ । म्याद थपबारे अहिलेसम्म केही कुरा भएको छैन,’ एसपी बोहराले भने ।

सांसद सिंह पक्राउ परेसँगै प्रहरी हिरासतमा रहनेको संख्या आठ पुगेको छ । यसअघि कमल थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र रौतहटका ४५ वर्षीय डा. राजीव झा पक्राउ परेका थिए । उनीहरूलाई भने प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हो ।

राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीका अनुसार उनीहरू नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्ने भन्दै अघि बढेका थिए । सोही क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिनेक्रममा झडप समेत भएको थियो ।

राजावादीहरूले १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार यो प्रदर्शन अनिश्चित समयसम्म हुने बताइएको छ । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?