 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले खानेतेल आयातमा भन्सार महसुल २० प्रतिशतबाट १० प्रतिशतमा घटाएको छ।
- यसले नेपाली तेल उद्योग र निर्यातलाई प्रभाव पार्ने आशंका व्यक्त गरिएको छ।
- भारतको माग र आपूर्ति बीचको खाडल बढ्दै गएपछि मूल्य र निर्यात अवस्थालाई असर पर्ने सम्भावना छ।
१८ जेठ, काठमाडौं । भारतले खानेतेल आयातमा भन्सार महसुल घटाएको छ । भारतले गत शुक्रबारदेखि लागु हुने गरी कच्चा खानेतेल आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार महसुल घटाएर १० प्रतिशतमा झारेको छ ।
भारतले पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा लाग्दै आएको भन्सार घटाएर आधा बनाएको हो ।
यसका साथै यी तेलमा कृषि पूर्वाधार, विकास उपकर र समाज कल्याण अधिभार सहित कुल आयात कर अब २७.५ प्रतिशतबाट घटाएर १६.५ प्रतिशतमा झारिएको छ । तर, प्रशोधित तेलमा लाग्ने भन्सार ३५.२५ प्रतिशतमा राखिएको छ ।
भन्सार शुल्कमा गरिएको यो कटौती अर्को एक वर्षका लागि भएको उल्लेख छ ।
भारतले भदौ २०८१ मा अन्य मुलुकबाट आयात हुने तेलको भन्सार दर २० प्रतिशतले बढाएको थियो । त्यसपछि त्यहाँ कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको थियो ।
नेपाल–भारत व्यापार सन्धि अनुसार नेपालबाट निर्यात हुने प्रशोधित तेलमाथि भन्सार महसुल लाग्दैन ।
यस भन्सार कटौतीबाट भारतीय तेल प्रशोधन उद्योगलाई फाइदा पुग्ने र नेपालबाट हुने तेल निर्यात प्रभावित हुने देखिएको छ ।
अहिले भारतीय बजारमा पाम तेल, भटमास तेल र सूर्यमुखी तेलको मूल्य अत्यधिक बढेको छ । यसका कारण घरेलु तोरीको तेलको मूल्य पनि बढेको छ । भारत सरकारको यो कदमले खाद्य तेलको मूल्य पनि घट्ने र मुद्रास्फीति नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।
भारतमा कच्चा तेल आयात सस्तो भएपछि नेपालको प्रशोधित तेलको माग घट्न सक्ने उद्योगीहरूको चिन्ता छ । माग घटेपछि नेपालबाट हुने तेल निर्यात स्वतः घट्छ ।
खानेतेलमा भारतले आफ्नो कुल मागको ६० प्रतिशत आयातबाट परिपूर्ति गर्दै आइरहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले गरेको सवा २ खर्ब हाराहारीको कुल निर्यातमा खाने तेलको हिस्सा झन्डै आधाजति छ । उक्त अवधिमा सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सूर्यमुखी तेल १० अर्ब ९ करोड र पाम आयल १ अर्ब गरी ८९ अर्ब ८४ करोड रुपैयाँ बराबरको खाने तेल भारत निर्यात भएको थियो ।
निर्यात भएका भटमास, सूर्यमुखी, पाम तेलको नेपालमा व्यावसायिक खेती छैन । नेपालले अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट कच्चा खानेतेल आयात गरेर प्रशोधन गरी भारततर्फ निर्यात गर्दै आएको छ ।
नेपालले गत वैशाखसम्म ८१ अर्ब ८९ करोड रुपैयाँ बराबर भटमासको कच्चा तेल आयात गरेको छ । त्यस्तै २४ अर्ब ६४ करोडको सूर्यमुखीको कच्चा तेल आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपालको वार्षिक २० लाख टन तेलको बजार भारत
तेल उत्पादक व्यवसायीहरूका अनुसार नेपालमा खानेतेल उत्पादन गर्ने उद्योग संख्या ३० पुगिसकेको छ । यी उद्योगले अहिले वार्षिक २५ लाख टन तेल उत्पादन क्षमता राख्छन् ।
उक्त प्रशोधित तेलमध्ये ५ लाख टनमात्र नेपाली बजारमा खपत हुन्छ । बाँकी २० लाख टन तेलका लागि भारतीय बजारमा भर पर्नुपर्ने व्यवसायी बताउँछन् ।
नेपाल चामल, तेल, दाल उद्योग सदस्य विभोर अग्रवाल भारतका तेल उद्योगीले भारत सरकारलाई कच्चा तेल आयातमा लाग्दै आएको भन्सार घटाउनुपर्ने दबाब दिँदै आएका कारण सरकारले उक्त कदम चालेको बताउँछन् ।
पछिल्लो ५–६ महिनामा नेपालबाट भारत निर्यात भएको तेलको तथ्यांक हेरेर भारतीय तेल उद्योगीहरूले भारत सरकारलाई नेपाली तेलसँग भारतीय तेलले प्रतिस्पर्धा गर्न गाह्रो भयो भनेर लबिङ गरिरहेका थिए । सोही अनुसार सरकारले तेलको भन्सार कटौती गरेको उनी बताउँछन् ।
नेपाली तेल उद्योगले अहिले वार्षिक २५ लाख टन तेल उत्पादन क्षमता राख्छन् । उक्त प्रशोधित तेलमध्ये ५ लाख टनमात्र नेपाली बजारमा खपत हुन्छ । बाँकी २० लाख टन तेलका लागि भारतीय बजारमा भर पर्नुपर्ने व्यवसायी बताउँछन् ।
‘उद्योगीले गरेको लबिङले गर्दा भारत सरकारले जुन साढे २७ प्रतिशत करको तेलमा १० प्रतिशत घटाएर अहिले १६ देखि १७ प्रतिशत गराएको छ,’ अग्रवालले अनलाइनखबरसँग भने, ‘यसो हुँदा नेपालबाट भारतमा गएको सस्तो मूल्यको तेलले भारतीय तेलसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ ।’
उनका अनुसार अब भारतमै तेल आयात सस्तो हुन थालिसकेपछि भारतमा तेलको मूल्य घट्छ ।
नेपालमा खानेतेल महँगो भयो भनिरहेका बेला भारतको यो निर्णयपछि नेपाली बजारमा तेलको मूल्य समायोजन हुन सक्ने पनि उनी बताउँछन् ।
आउने महिनामा नेपालबाट निर्यात हुने खानेतेलमा कमी आउन सक्ने अग्रवालको अनुमान छ ।
भारतले भन्सार घटाउनु नेपाली तेल उद्योगीलाई असहज विषय
नेपाल वनस्पति घिउ तेल उत्पादक संघका महासचिव निखिल चाचान भारतले १० प्रतिशत भन्सार घटाउनु नेपाली उद्योगीका लागि सहज विषय नभएको बताउँछन् ।
भारतको भन्सार कटौतीसँगै नेपालबाट हुने निर्यात एकदमै गाह्रो हुने उनको भनाइ छ । ‘भारतको मूल्य कति घट्छ, त्यो हेर्न बाँकी नै छ,’ महासचिव चाचान भन्छन्, ‘यसको सही प्रभाव दुई–तीन दिनपछि मात्रै थाहा हुन्छ । तर, यसले हामीलाई गाह्रो नै बनाउँछ ।’
उनका अनुसार तेल उद्योगीले मासिक योजना सहित कच्चा तेल आयात गरी प्रशोधन गरेका हुन्छन् । भारतबाट भएको यो निर्णयपछि उद्योगीले विकल्पबारे सोच्नुपर्ने भएको छ ।
‘माल पनि हाम्रो बन्दरगाह, जहाज र फ्याक्ट्रीमा ओभरलोडेड नै छ,’ उनी भन्छन्, ‘सबै उद्योगमा गरेर डेढदेखि २ लाख टन तेल स्टकमा छ । अब हामी विकल्पका बारे पनि सोच्छौं । त्यसको अध्ययनमा लागिरहेका छौं ।’
अब नेपाली तेलले भारतमा प्रतिस्पर्धा गर्न सक्दैन : अर्थविद् आचार्य
अर्थविद् केशव आचार्य भारतले कच्चा तेल आयातमा भन्सार घटाएसँगै नेपाली तेलले भारतमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् ।
‘पहिला मार्जिन २० प्रतिशत थियो, अब १० प्रतिशतमा झरेको छ,’ उनी भन्छन्, ‘अरू खर्च पनि जोड्दा भारतीय बजारमा हाम्रो प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन्छ ।’
भारतको ठूलो बजार भएको हुँदा उनीहरूले ठूलो परिमाणमा उत्पादन गर्न सक्छन् । उत्पादन लागत पनि कम हुन जान्छ । पूर्वाधार र बिजुली आपूर्तिको अवस्था भारतमा राम्रो भएको हुँदा नेपालको निर्यात अवस्था अब राम्रो नहुने अर्थविद् आचार्यको भनाइ छ ।
नेपालले आफ्नो अर्थतन्त्रलाई दरिलो नबनाउँदासम्म र मूल्य अभिवृद्धि नगर्दासम्म यस्ता समस्याहरू झेलिरहनुपर्ने उनी बताउँछन् ।
‘हामीले दिगो रूपमा के निर्यात गर्न सक्छौं भनेर पत्ता नलगाउँदासम्म हामी अप्ठेरोमा पर्दै जान्छौं,’ अथविद् आचार्य भन्छन्, ‘राज्य र व्यवसायीले त्यसरी हेरेकै छैनन्, नाफा कमाएकै छ र अर्थतन्त्रलाई पनि योगदान भएकै छ भन्ने हिसाबले गरेको व्यवसाय छोटो समयका लागि मात्रै हो ।’
राज्यले आफ्नो प्रस्पिर्धात्मक क्षमता केमा छ, त्यसैमा रहेर निर्यात गर्नुपर्ने उनको उनी बताउँछन् । नियमित रूपमा कुन उत्पादन तथा वस्तु पठाउन सकिन्छ, त्यसमा ध्यान दिन उनको सुझाव छ ।
यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।
भारतको तेल आयातको अवस्था
भारतको कृषि तथा किसान कल्याण मन्त्रालयका अनुसार भारतले प्रतिवर्ष २ करोड ३० लाखदेखि २ करोड ५० लाख टन खाद्य तेल खपत गर्छ । यस अनुसार प्रतिवर्ष १ करोड ४० लाखदेखि १ करोड ५० लाख टनभन्दा बढी खाद्य तेल आयात गरिन्छ । गत वर्ष यो परिमाण १ कोड ६५ लाख टन पुगेको थियो ।
यस वर्षको जनवरी र फेब्रुअरीमा अहिलेसम्म २० लाख टनभन्दा बढी खाद्य तेल आयात भइसकेको उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अप्रिल महिनामा तेल आयात घटेको छ । अप्रिलमा पाम तेल आयात एक वर्षअघिको ६ लाख ८४ हजार टनबाट ५३ प्रतिशतले घटेर ३ लाख २१ हजार टनमा झरेको छ । जबकि, कच्चा पाम तेल ढुवानी ५५ प्रतिशतले घटेर २ लाख ४१ हजार टनमा झरेको छ ।
अन्य तेलहरूमा सूर्यमुखी तेल आयात २३.२८ प्रतिशतले घटेर १ लाख ८० हजार टनमा झरेको छ । जबकि, भटमास तेल आयात २०.३७ प्रतिशतले घटेर ३ लाख ६० हजार टनमा झरेको छ ।
पछिल्लो ६ महिनामा पाम तेलको हिस्सा ६० प्रतिशतबाट घटेर ४२ प्रतिशतमा झरेको छ भने नरम तेलको हिस्सा ४० प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको छ ।
इन्डोनेसिया र मलेसिया भारतलाई पाम तेल आपूर्ति गर्ने प्रमुख देश हुन् भने अर्जेन्टिना, ब्राजिल र रुसले भटमास तेल आपूर्ति गर्छन् । रुस र युक्रेन सूर्यमुखी तेलको मुख्य आपूर्तिकर्ता हुन् ।
भारत तेलहन उत्पादनमा विश्वको पाँचौं स्थानमा छ, तर जनसंख्या र आम्दानी वृद्धिसँगै माग र आपूर्तिबीचको खाडल निरन्तर बढ्दै गइरहेको छ । सन् १९५० देखि १९६० मा भारतको खाद्य तेल खपत प्रतिव्यक्ति २.९ किलो थियो, जुन अहिले प्रतिवर्ष लगभग २० किलो पुगेको छ ।
उत्पादनमा कमी
भारतको तेलहन विकास निर्देशनालयको तथ्यांक अनुसार भारतले आर्थिक वर्ष २०२४ मा कुल ३ करोड ९७ लाख टन तेलहन उत्पादन गरेको थियो । जबकि, आव २०२३ मा यो परिमाण ४ करोड १४ लाख टन थियो ।
त्यस्तै आव २०२२ मा यो परिमाण ३ करोड ८० लाख टन, २०२१ मा ३ करोड ५९ लाख टन र २०२० मा ३ करोड ३२ लाख टन थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4