News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टिमले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
- खेल थाइल्याण्डको थम्मासत स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ।
- नेपाल र थाइल्याण्डबीच यो तेस्रो खेल हो, र नेपाली टोलीले एसियन कप छनोटमा सहयोगको आशा गरेको छ।
१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
एएफसी महिला एसियन कपको तयारीमा रहेको नेपाली महिला टोली थाइल्याण्डसँग दुई खेल खेल्न गत साता थाइल्याण्ड पुगेको थियो ।
गत शुक्रबार थाइल्याण्डसँग क्जोर डोर म्याच खेलेको नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खेल थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।
फिफा महिला विश्वकप खेलिसकेको थाइल्याण्डसँग नेपाली महिला टोलीले पहिलो पटक मैत्रीपूर्ण खेल खेल्न लागेको हो । समग्रमा भने नेपाल र थाइल्याण्डबीच यो तेस्रो खेल हुनेछ ।
यसअघि महिला एसियन कपमै नेपालले दुई पटक थाइल्याण्डसँग खेलेको छ । सन् १९९६ मा पहिलो पटक महिला एसियन कप खेल्दा नेपाल थाइल्याण्डसँग समूह चरणमा ५-० ले पराजित भएको थियो । यस्तै सन् १९९९ मा पनि समूह चरणमा नेपाली सोही नतिजामा पराजित भएको थियो ।
नेपाली महिला फुटबल टिमले यही जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोट खेल्दैछ । थाइल्याण्डसँगको खेलले एसियन कप छनोटमा सहयोग पुग्ने नेपाली टिमको विश्वास छ । छनोटमा समूह एफमा रहेको नेपालले घरेलु टोली उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4