+

आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

२०८२ जेठ  १९ गते ६:५८ २०८२ जेठ १९ गते ६:५८
आईसीसी विश्वकप लिग २ : नेपालले स्कटल्याण्डसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला आजदेखि सुरु हुँदैछ।
  • नेपालले आज स्कटल्याण्डसँग खेल्नेछ ।
  • यो अवे शृंखलामा अंक बटुल्ने महत्वपूर्ण अवसर हुनेछ।

१८ जेठ, काठमाडौं । स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ ।

शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

नेपालले स्कटल्याण्डसँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । अमेरिकामा गत अक्टोबरमा भएको लिग २ शृंखलामा नेपालले स्कटल्याण्डसँग एक खेल जित्दा एक खेल वर्षाका कारण हुन सकेन ।

हालसम्म नेपाल र स्कटल्याण्डबीच ओडिआईमा भएका ८ खेलमध्ये ४ खेल नेपालले जितेको छ भने स्कटल्याण्डले ३ खेल जित्दा १ नतिजाविहीन छ । पछिल्ला चार खेलमा नेपाल अपराजित छ जहाँ ३ जित निकाल्दा १ नतिजाविहीन थियो ।

अमेरिकाको शृंखलाअघि सन् २०२३ मा कीर्तिपुरमै भएको शृंखलामा नेपालले दुवै खेलमा जित हात पारेको थियो । यसपटक स्कटल्याण्डको होममा खेल भएकाले केही चुनौती भने हुनेछ ।

अंकतालिकामा १२ खेलबाट ६ अंक भएको नेपाल ८ टिममध्ये हाल पुछारमा रहेको छ । नेपाली टोलीका लागि यो अवे शृंखला अंक बटुल्ने हिसाबले महत्वपूर्ण हुनेछ ।

नेपालले स्कटल्याण्ड आउनुअघि बेलायतमा विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेल खेल्दै अपराजित रहेको थियो भने स्कटल्याण्ड आएर ए टोलीसँग पनि अभ्यास खेलेको थियो ।

स्कटल्याण्ड ए सँगको एक खेल गुमाएको नेपालले अर्को खेलमा पहिले ब्याटिङ गरेर ४५ ओभरमा २५३ रन बनाएपनि वर्षाका कारण दोस्रो इनिङ भने पूरा हुन सकेन ।

विशेषगरी स्कटल्याण्डको कन्डिशनमा संयमित ब्याटिङ गरेर अभ्यास खेलको जस्तै लय निरन्तरता दिन सके नेपालका लागि यो शृंखलाबाट केही महत्वपूर्ण जित प्राप्त हुन सक्छ ।

आईसीसी विश्वकप लिग २ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय