+
+
Shares

एलन मस्कले ह्वाइट हाउसमा यसरी ल्याए तरंग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा एलन मस्कले सरकारी खर्च कटौतीका लागि जिम्मेवारी ग्रहण गरे।
  • मस्कले करीब १७५ अरब डलर बचत गरे पनि विवाद र गल्तीहरूको सामना गर्नुपर्‍यो।
  • उनले ट्रम्पको दोस्रो कार्यकालमा आर्थिक र राजनीतिक विवादहरू र मतभेदहरू अनुभव गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको उथलपुथलपूर्ण १ सय २९ दिनको कार्यकाल समाप्त भएको छ । यो अवधिमा विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अमेरिकाको सरकारी खर्च कटौतीमा विभिन्न महत्वपूर्ण कदम चालेका थिए, जसलाई लिएर निकै विवाद पनि भएको थियो ।

दक्षिण अफ्रिकामा जन्मेका अर्बपति एलन मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा एक पोष्ट गर्दै सरकारको कार्यदक्षता विभाग (डीओजीई) मा दिइएको जिम्मेवारीका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

शुक्रबार मस्कसँग ओभल अफिसमा एक संयुक्त पत्रकार सम्मेलन गर्ने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले भनेका छन्- यो मस्कको कार्यभारको अन्तिम दिन हुनेछ। तर, वास्तविक अर्थमा अन्तिम दिन यसकारण होइन कि उहाँ सधैं हाम्रो साथमा रहनु हुनेछ र हरेक तरिकाले हाम्रो सहयोग गर्नु हुनेछ।

ट्रम्प सरकारमा मस्कको कार्यकाल चार महिनाभन्दा कम मात्र रह्यो, तर सरकारी विभागमा उनको कार्यशैलीले अमेरिकी सरकारमै हलचल ल्याइदियो । यसको असर वाशिङ्टनको सत्तादेखि लिएर विश्वभर देखिएको थियो।

डीओजीई मार्फत कटौतीहरूको शृङ्खला 

ट्रम्प सरकारमा करीब ४ महिना सरकारी कार्यदक्षता विभागको प्रमुख रहँदा एलन मस्कले सरकारी खर्च कटौती गर्ने एकमात्र मिशन लिएर उक्त जिम्मेवारी स्वीकार गरेका थिए ।

सुरुमा उनले कम्तिमा दुई ट्रिलियन डलर कटौती गर्ने लक्ष्य राखेका थिए । तर, त्यो पछि घट्दै जाँदा एक ट्रिलियन डलर हुँदै अन्ततः करीब डेढ खर्ब डलरसम्म मात्र आइपुग्यो ।

सरकारी कार्यदक्षता विभाग (डीओजीई) का अनुसार उसले अहिलेसम्म सम्पत्ति बिक्री, ठेक्कापट्टाको रद्द, अनुदान कटौती, ठगी र अनुचित भुक्तानी न्यूनीकरण, नियामक बचत र साढे २ लाखभन्दा धेरै केन्द्रीय कर्मचारीहरू कटौती गरेर १७५ अर्ब डलर बचत गरेको छ। यद्यपि यी दाबीहरू पुष्टि गर्न पर्याप्त प्रमाणहरू भने देखिएका छैनन् ।

एलन मस्क

मस्कको यो मिशनले धेरै विवादहरू पनि निम्त्यायो। अदालतले सामूहिक रूपमा कर्मचारी बर्खास्त गर्ने सरकारको निर्णयमा रोक लगाएर पुनः नियुक्त गर्न आदेश समेत दिएको थियो । केही मामिलामा चाहिँ प्रशासन नै आफ्नो निर्णय फिर्ता लिन बाध्य हुनुपर्‍यो ।

गत फेब्रुअरीमा एउटा उल्लेखनीय घटना भयो, जसमा राष्ट्रिय आणविक सुरक्षा प्रशासनले सयौं कर्मचारीहरूको बर्खास्तीमा रोक लगायो। तीमध्ये केही कर्मचारीहरू अमेरिकी आणविक हतियारको सुरक्षामा कार्यरत थिए ।

यस्ता सामूहिक बर्खास्तीमा गल्तीहरू हुनु स्वाभाविक रहेको मस्क स्वयंले बताएका छन् । फेब्रुअरीमा उक्त विभागले अफ्रिकी मुलुक मोजाम्बिकको एक क्षेत्रलाई हमास नियन्त्रणमा रहेको गाजा ठानेर त्यहाँको सहायता कार्यक्रम कटौती गर्‍यो । जबकि त्यो मध्यपूर्वको गाजा नभई मोजाम्बिकको गाजा थियो । त्यसपछि मस्कले भनेका थिए-हामी गल्ती गर्छौं, तर गल्ती सुधार्न तुरुन्तै कदम चाल्नेछौं।

त्यस्तै डीओजीईले लाखौं अमेरिकी नागरिकहरुको निजी जानकारी राख्ने अर्थ मन्त्रालयका डेटामा पहुँचका लागि प्रयास गर्दा पनि विवाद उत्पन्न भएको थियो ।

यावत् घटनाको पृष्ठभूमिमा सर्वेक्षणले के देखाएका छन् भने अमेरिकी जनतामाझ सरकारी खर्च कटौती लोकप्रिय छ। तर, एलन मस्कको व्यक्तिगत लोकप्रियता भने घटेको छ।

व्यवसाय र राजनीति बीचको धुमिल रेखा

टेस्ला इंक के सीईओ एलन मस्क और अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप

ट्रम्प प्रशासनमा एलन मस्कको उपस्थितिले धेरैलाई चकित तुल्यायो। उनी निर्वाचित नभएका ‘विशेष सरकारी कर्मचारी’ हुन्, र अमेरिकी सरकार आफैं मस्कका कम्पनीहरूको ग्राहक पनि हो ।

उनको व्यवसायिक साम्राज्यमा धेरैजसो त्यस्ता कम्पनीहरू छन् जसले अमेरिका र विदेशी सरकारहरूसँग कारोबार गर्छन्। स्पेसएक्सले मात्रै अमेरिकी सरकारसँग २२ अर्ब डलरको ठेक्का पाएको छ।

केही डेमोक्रयाट नेताहरूले मस्कमाथि आफ्नो स्याटेलाइट इन्टरनेट कम्पनी ’स्टारलिंक’को विदेशी विस्तारमा पदको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्।

गत मार्च महिनामा ह्वाइट हाउसको चौरमा टेस्लाका गाडीहरूको प्रदर्शन गरेर संकटग्रस्त टेस्लाको प्रचारमा सहयोग गरेको आरोप ट्रम्प प्रशासनमाथि लागेको थियो । तर, मस्क र ट्रम्प दुवैले यो आरोप अस्वीकार गर्दै भनेका छन् कि उनीहरूको कामले कुनै नैतिक द्वन्द्व उत्पन्न गर्दैन।

पृथकतावादी सोचको आरोप

अमेरिकी सहयोग संस्था यूएस एडका ८० प्रतिशत कार्यक्रम बन्द गर्ने र बाँकी कार्यक्रम विदेश मन्त्रालयमा गाभ्ने निर्णयसँगै एलन मस्क र डीओजीईको सबैभन्दा चर्चित र विवादित बन्यो ।

यो निर्णय ट्रम्प प्रशासनको अमेरिका पहिलो दृष्टिकोण अनुसार विदेशमा हुने खर्चलाई नियन्त्रणमा ल्याउने प्रयासको हिस्सा थियो ।

सुडानजस्ता युद्धग्रस्त देशहरूमा चलिरहेका भान्सा घर, अफगानिस्तानबाट भागेका महिलाका लागि छात्रवृत्ति तथा भारतमा समलिंगीहरुका लागि सञ्चालित क्लिनकजस्ता परियोजनाहरुमा यसको तत्काल असर पर्‍यो ।

यूएस एडलाई अमेरिकाको ‘सफ्ट पावर’को महत्वपूर्ण माध्यम मानिन्थ्यो। कतिपय आलोचकहरूले यस कटौतीलाई विश्वमञ्चमा अमेरिकाको प्रभाव घट्दै गएको संकेत भनेका छन् ।

झुटो सूचना र षड्यन्त्रको आरोप

दक्षिण अफ्रीका के राष्ट्रपति सिरिल रामफोसा और अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप

मस्क र ट्रम्पमाथि विगतदेखि नै झुटा प्रचार र षड्यन्त्रको अफवाह फैलाएको आरोप लाग्दै आएको छ। तर, ह्वाइट हाउसमा मस्कको उपस्थितिले गलत सूचना कसरी उच्च तहसम्म पुग्न सक्छ भन्ने देखाउँछ।

मस्कले केन्टकीको फोर्ट नक्सबाट अमेरिकी सुनको भण्डार चोरी गरिएको र त्यहाँको सुरक्षाका लागि ‘लाइभ स्ट्रिमिङ’ गर्नुपर्ने भनी सोसल मिडियामा गरेको एउटा एउटा आधारहीन दाबी यसको उदाहरण हो ।

यस्तै, उनले दक्षिण अफ्रिकामा गोरा अफ्रिकीहरू ‘नरसंहार’को अवस्थामा छन् भन्ने अफवाह पनि व्यापक रूपमा फैलाए।

मे महिनामा जब दक्षिण अफ्रिकासँगको तनाव घटाउन एक कूटनीतिक बैठक हुँदै थियो, ट्रम्पले राष्ट्रपति सिरिल रामाफोसासामु ती अफवाहहरूलाई प्रमाणको रूपमा प्रस्तुत गरे, भिडियो र लेखहरू देखाएर।

ट्रम्प प्रशासनमा मतभेद

ट्रंप

एलन मस्कको कार्यकालले के देखाएको छ भने ट्रम्पको दोस्रो कार्यकालमा एकता देखिए पनि भित्रभित्रै तनाव थियो।

ट्रम्पले मस्क र डीओजीईको कामलाई खुलेर समर्थन गरे पनि, मन्त्रीहरूबाट मस्कका असहमति र कटौतीले असर पारिरहेको गुनासाहरू आएका थिए ।

एउटा बैठकमा ट्रम्पले आफू एलन र उनको कामको सम्मान गर्ने तर कुनै मन्त्रीलाई केही असहमति भएमा खुल्ला रुपमा राख्न आग्रह गरे । तथापि कुनै पनि मन्त्रीले खुल्ला रुपमा केही भनेनन् ।

अमेरिकी टेलिभिजन सीबीएसले मस्कको अन्तर्वार्ताको अंश प्रसारण गरेकै दिन मस्कले पदत्यागको घोषणा गरे । उक्त अन्तरवार्तामा मस्कले ट्रम्पको ‘बिग ब्यूटिफुल’ बजेट विधेयकप्रति निराशा व्यक्त गरेका थिए।

विधेयकमा खरबौं डलरको कर छुट र रक्षा खर्च वृद्धि प्रस्ताव गरिएको थियो। मस्कका अनुसार यसले डीओजीईको खर्च कटौती अभियानलाई कमजोर बनाउँछ र रिपब्लिकन पार्टीभित्र गहिरो मतभेद पनि झल्काउँछ ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?