
२० जेठ, काठमाडौं । सेटिङ मिलाएर भिजिट भिसामा दुबई गएका नेपाली युवाहरू अनलाइन बेटिङ गिरोहको फन्दामा पर्ने गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर १७ जनालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलको एक घरमा छापा मारेर ५ भारतीय र १२ नेपाली गरी १७ जनालाई पक्राउ गरिएको हो ।
उनीहरूमाथि अनुसन्धान गर्दा सबै जना भिजिट भिसामा दुबई गएको र त्यहाँ भारतीय अनलाइन बेटिङ गिरोहको सम्पर्कमा पुगेको देखिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बताए ।
पक्राउ परेका सबैजसो नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा दुबई पुगेको देखिएको छ । भिजिट भिसामा जानका लागि चाहिने होटल बुकिङ, फर्कने हवाई टिकटदेखि बैंक ब्यालेन्ससम्म नक्कली बनाएर गिरोहले उनीहरूलाई भिजिट भिसामा दुबई पठाएको खुलेको हो ।
तर, अध्यागमनमा भने यस्ता कागजातबारे कुनै जाँच नै नगरी उनीहरूलाई सहजै भिजिट भिसामा दुबई जान दिएको पाइएको छ । ‘फर्जी कागजात बनाएर पेस गरेर गएको देखिन्छ । तर यसबारे अध्यागमनले कागजात हेर्ने बेलामा भने कुनै चासो नदेखाएकाले शंका गर्ने ठाउँ देखिन्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।
त्यहाँ पुगेपछि भने आफूहरूलाई अलपत्र छाडिएको उनीहरूले बताएका छन् । ‘काम समेत पाइन्छ भनेर गिरोहले भिजिट भिसामा दुबई लगेको थियो । त्यहाँ पुगेपछि हामीहरूलाई अलपत्र छाडियो । एउटै कोठामा २५ जनासम्म युवा कोचिएर बस्यौं । काम खोज्दै जाने क्रममा गिरोहको फन्दामा परिएछ,’ हिरासतमा रहेका युवालाई उद्धृत गर्दै एक अनुसन्धान अधिकारीले अनलाइनखबरसँग भने ।
दुबई पुगेपछि पुनः दुई महिनाका लागि भिजिट भिसा थप गरिएको र पछि त्यहाँबाट भिसा एक्सटेन्ड गरिएको उनीहरूले बताएका छन् । भिसा एक्सटेन्ड गर्न देश छाड्नुपर्ने भएकाले त्यहाँबाट जोर्डन पुगेको र पुन: दुबई आएको उनीहरूले बताएका छन् ।
गिरोहको सम्पर्कमा पुगेपछि भने उनीहरूले भिजिट भिसालाई वर्किङमा कन्भर्ट गरिदिएको पक्राउ परेकाहरूले बताएका छन् । भारतीय गिरोहले भिजिट भिसामा दुबई पुगेकाहरूलाई आफ्नो सम्पर्कमा ल्याएपछि अनलाइन बेटिङको तालिम दिएर काममा लगाउने गरेको पाइएको छ ।
आईटी कम्पनीको भन्दै उनीहरूलाई काममा लगाइएको थियो । उनीहरूलाई मासिक ८० हजार रुपैयाँसम्म तलब दिने गरेको पाइएको छ । दुबईमा काम गरेपछि युवाहरूलाई सरुवा गर्दै नेपाल ल्याइएको थियो । नेपाल ल्याउने क्रममा सबै सेटिङ मिलाइसकेको भन्दै काठमाडौं ल्याइएको उनीहरूले बताएका छन् ।
भिजिट भिसामा को, कहिले गएका थिए दुबई ?
दुबई पुगेका नेपालीलाई सम्पर्क गरी अवैध अनलाइन ठगी धन्दामा लगाएको लामो समयपछि १२ नेपाली र ५ भारतीय सोमबार राति ललितपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका-९ का २९ वर्षीय डायमन्ड कुँवर, अछामकै चौरपाटी गाउँपालिका-७ का २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरको कृष्णनगर नगरपालिका-३ का ३० वर्षीय राजेन्द्रबहादुर महत, कैलालीको गौरीगंगा नगरपालिका-६ का २१ वर्षीय अरविनकुमार खड्का, दाङको लमही नगरपालिका-१ का २४ वर्षीय विष्णुकुमार राउत, डोटीको पूर्वीचौकी गाउँपालिका-४ का ३० वर्षीय तिलक खड्का, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१२ का २६ वर्षीय जोर्डन भनिने जीतबहादुर महतो, डोटीको पूर्वीचौकी गाउँपालिका-४ का २३ वर्षीय सुवास खड्का, अछामको साँफेबगर नगरपालिका-७ का २१ वर्षीय विकास थापा, डोटीको पूर्वीचौकी गाउँपालिका-४ का २३ वर्षीय हर्कबहादुर खड्का र रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ का २६ वर्षीय पूर्णबहादुर दलार्मी मगर छन् ।
त्यसैगरी, भारत बिहारका २० वर्षीय ऋषभ राज, बिहारकै २६ वर्षीय दीपककुमार सिंह, बिहारकै २५ वर्षीय अंकित कुमार सिंह, बिहारकै २५ वर्षीय धीरजकुमार सिंह, दिल्लीका २५ वर्षीय मोहितकुमार सिंह छन् ।
उनीहरूबाट बेटिङ खेलाउन प्रयोग भएको १४ वटा ल्यापटप र ६० वटा मोबाइल बरामद गरिएको आचार्यले बताए ।
पक्राउ परेकामध्ये कुँवर सन् २०२२ मा भिजिट भिसामा गएका थिए । सामाखुसीमा रहेको एक म्यानपावरले डेढ लाख रुपैयाँ लिएर भिजिट भिसामा आफूलाई दुबई लगेको कुँवरले बताएको एक अनुसन्धान अधिकृतले बताए ।
डेढ लाख दिएपछि भिजिट भिसाका लागि चाहिने बैंक ब्यालेन्सदेखि होटल बुकिङ र फर्कनेसम्मको टिकट नक्कली बनाएको अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले विस्तृत अनुसन्धान गर्न बाँकी नै छ ।
भिजिट भिसामा जानका लागि सबै सेटिङ मिलाउनुपर्छ भन्दै एकजनाबाट साढे २ लाख रुपैयाँसम्म लिएको पक्राउ परेकाहरूले बताएको एक अनुसन्धान अधिकृतले बताउँछन् ।
अछामकै बोगटी पनि २५ नोभेम्बर २०२४ मा भिजिट भिसामा दुबई पुगेको खुलेको छ । त्यहाँ पुगेपछि उनी पनि भारतीय गिरोहको सम्पर्कमा पुगेका थिए ।
महत पनि सन् २०२३ मा भिजिट भिसामा दुबई गएका व्यक्ति हुन् । अरविन खड्का भने दुबई नगएका व्यक्ति हुन् । राउत २०२४ र २०२५ मा भिजिट भिसामा दुबई पुगेका थिए ।
डोटीका ठक्कर कुँवर २०२४ मा, डोटीकै देवी कुँवर २०२४-२०२५ मा दुबई गएको पाइएको छ । डोटीका तिलक खड्का पनि २०१९ र २०२५ मा भिजिट भिसामा दुबई पुगेका थिए ।
गैंडाकोटका महतो २६ जनवरी २०२५ मा भिजिट भिसामा दुबई पुगेको पाइएको छ । डोटीका हर्कबहादुर खड्का पनि २६ जनवरी २०२५ मा भिजिट भिसामा दुबई गएको देखिएको छ । रुपन्देहीका दर्लामी मगर २०२४-२०२५ मा भिजिट भिसामा दुबई गएको देखिएको छ ।
यो समूहले लामो समय दुबईमा काम गरेर ५ महिनाअघि मात्रै सरुवा भएर आएको पाइएको छ । केही समय यहाँ काम गरेपछि श्रीलंका पठाउने तयारीमा रहेको प्रहरीले बताएको छ ।
मासिक सवा २ लाख भाडा तिरेर बेटिङ धन्दा
भिजिट भिसामा दुबई पुगेर भारतीय अनलाइन बेटिङ गिरोहको सम्पर्कमा पुगेका नेपाली युवालाई मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर अवैध धन्दामा काम लगाउने गरेको पाइएको छ ।
त्यसका लागि भारतीय गिरोहले मासिक सवा २ लाख तिरेर घर भाडामा लिएको पाइएको छ । धापाखेलको एक घर मासिक १ लाख २५ हजार रुपैयाँ तिरेर भाडामा लिएको पाइएको छ ।
सनराइज अपार्टमेन्टको एक फ्ल्याटमा भने मासिक ५५ हजार रुपैयाँ भाडा तिर्ने गरिएको पक्राउ परेकाहरूले बताएका छन् ।
प्रहरीले धापाखेलको घरबाट १५ जनालाई र अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरेको छ । यो गिरोहका तीन भारतीय नागरिक भने फरार छन् । पक्राउ परेकाहरू सबै कामदार हुन् । यसका मुख्य योजनाकार पनि भारतीय नागरिक नै रहेको प्रहरीले बताएको छ ।
उनीहरूले ७११ ब्याट डट क्लब र युनिकर्न ३६५ बेटिङ साइटमार्फत बेटिङ खेलाउने गरेको प्रहरीले बताएको छ । पछिल्लो ५ महिना मात्रै यो समूहले नेपाली ८० करोड रुपैयाँभन्दा बढीको बेटिङ खेलाएको अनुसन्धानबाट खुलेको छ ।
यो रकम भने भारतीय बैंकका खातमा कारोबार हुने गरेको प्रहरीले बताएको छ । जसका कारण बेटिङको रकम सोझै भारत पुग्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रतिक्रिया 4