+
+
Shares

संसद् अवरोध खुलाउन पूर्णबहादुरले थाले विपक्षी दलका नेतासँग संवाद 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते ११:२१

२३ जेठ, काठमाडौं । जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सौहार्द हुन सकिरहेको छैन । भिजिट भिसामा नेपालीलाई विदेश पठाउँदा अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने विषय बाहिर आएपछि विपक्षी दलहरूले गृहमन्त्रीको मार्गप्रशस्त गर्नुपर्ने माग राखेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

सत्तापक्ष तयार नभएपछि विपक्षी दलहरू केही लचक हुँदै छानबिन समिति गठन हुनुपर्ने बताउन थालेका छन् । तर त्यसमा पनि सत्तापक्ष तयार नहुँदा संसद बैठक चल्न सकिरहेको छैन ।

यस्तो बेला नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का संसद्को अवरोध खुलाउन सक्रिय भएका छन् ।

मंगलबार, बुधबार र बिहीबार खड्का दिनभर संसद भवन नयाँ वानेश्वर परिसरमा निरन्तर विपक्षी दलहरूसँग संवादमा रहे ।

खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय शक्ति बस्नेतसँग संवाद गरिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँग सम्पर्कमा रहेर संसद्को अवरोध खुलाउन सक्रिय भएका खड्काले माओवादी उपमहासचिव बस्नेतमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राय लिएर अन्य दलका नेतासँग समेत संवाद गरिरहेका छन् ।

संसद्को अवरोध खुलाउने विषयमा पहल लिनमा बिहीबार कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र बहादुर कार्की पनि सक्रिय भए । कांग्रेस नेताहरूले माओवादी केन्द्र, एकीकृत समाजवादीको अवाला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग समेत दुई पार्टीका बीचमा मात्रै संवाद गरेका छन् ।

मध्यमार्गी प्रस्ताव

कांग्रेस नेताहरूको सक्रियतामा संसद्को अवरोध खुलाउने भनेर बिहीबार मध्यमार्गी प्रस्ताव समेत अगाडि आएको छ । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसाको नाममा अनियमितता भए/नभएको समग्रतामा अध्ययन गर्ने प्रतिवद्धता जनाएर अगाडि जान सकिने गरी प्रस्तुत मध्यमार्गी प्रस्तावमा माओवादी केन्द्र र एकीकृत समाजवादी लचक भएको छ ।

यस्तो प्रस्तावलाई विपक्षी दलका सामु प्रस्तुत गर्ने नेता कांग्रेसका उपसभापति खड्का हुन् । पार्टी सभापति शेरबहादुर देउवा समेतको राय लिएर खड्काले यस्तो प्रस्ताव अगाडि सारेको कांग्रेस नेताहरू बताउँछन् । यो प्रस्तावमा रास्वपा भने सहमत भइसकेको छैन ।

बिहीबार यस्तो प्रस्ताव आएपछि रास्वपाले पार्टीमा एक पटक छलफल गरेर मात्रै निर्णय लिने भनेको थियो । रास्वपा सहमत भएको खण्डमा अब संसद्मा भिजिट भिसा प्रकरणबारे सदनमा गृहमन्त्रीले जवाफ दिनेछन् । त्यसक्रममा अख्तियारले अनुसन्धान सकाएपछि २०६४ साल यता भिजिट भिसाको नाममा अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको समग्रतामा अध्ययन गर्ने प्रतिवद्धता जनाउनेछन् । त्यसपछि सदन अगाडि बढ्नेछ ।

संसद्को अवरोध खुलाउने विषयमा माओवादीबाट सक्रिय हुनेमा उपमहासचिव वर्षमान पुन र मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका मुख्य सचेतक श्याम कुमार घिमिरे, सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र नेकपा एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे सक्रिय छन् ।

बजेटमाथि छलफल गर्नुपर्ने बेला सदन चल्न नसकेपछि प्रमुख सत्ताघटक कांग्रेसका नेताहरूले थप पहल लिएका हुन् । एक पदाधिकारी भन्छन्, ‘हाम्रो पहलले प्रतिपक्षी नरम भएको छ । अब सदन खुल्ने वातावरण बनेको छ ।’

यो वातावरण बनाउन कांग्रेस र एमालेको दुई दलीय संयन्त्रका संयोजक समेत रहेका कांग्रेस उपसभापति खड्काले सक्रियता देखाएका हुन् ।

कांग्रेस उपसभापति खड्का अघिल्लो सरकारमा उपप्रधान तथा रक्षामन्त्री थिए । प्रचण्ड नेतृत्वको सरकारमा रहेर काम गरेका कारणले समेत विपक्षी दलसाग संवाद गर्न खड्कालाई सहज रहेकाले उनले पहल लिएको कांग्रेस नेताहरू बताउँछन् ।

प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । नेताहरूका अनुसार संसद्को अवरोध खुलाउने गरी दलहरूका बीचमा संवाद जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?