+
+
Shares

अमेरिकामा चिनियाँ ढुसी तस्करी, ‘कृषि आतंकवाद’को आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १३:०६
Photo Credit : Getty Images
सांकेतिक फोटो

काठमाडौं । अमेरिकामा एक खतरनाक ढुसी तस्करी गरेको आरोपमा एकजना चिनियाँ महिला पक्राउ परेको अमेरिकी अनुसन्धान संस्था एफबीआई (संघीय जाँच ब्यूरो) का निर्देशक काश पटेलले दाबी गरेका छन्।

सोसल मिडिया साइट एक्समा गरिएको पोस्टमार्फत पटेलले ती चिनियाँ नागरिकको नाम युनकिङ जियान भएको बताएका छन्। मिशिगन विश्वविद्यालयमा कार्यरत जियानले अनुसन्धानको निहुँमा फ्यूजेरियम ग्रेमिनीअरम नामक खतरनाक ढुसी अमेरिका भित्र्याएको आरोप छ।

अमेरिकी न्याय मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनिएको छः यो ढुसी ‘एग्रो-टेरोरिजम(कृषि आतंकवाद) को हतियारका रूपमा प्रयोग हुनसक्छ।यस ढुसीका कारण हेड ब्लाइट नामक रोग लाग्छ, जुन गहुँ, जौ, मकै र धान जस्ता अन्नबालीमा देखिन्छ।

यो ढुसीले प्रत्येक वर्ष विश्वव्यापी रूपमा अर्बौं डलर बराबरको आर्थिक क्षति पुर्‍याउने गरेको अमेरिकी न्याय मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

एफबीआई निर्देशक के भन्छन् ?

एफबीआईका निर्देशक काश पटेलले बताए अनुसार युनकिङ जियानका प्रेमी जुनयोंग लियु पनि ढुसी तस्करीको घटनामा संलग्न देखिएका छन्।

लियुले सुरुमा झूठो बोलेका तर पछि अभियोग स्वीकार गरेका पटेलको भनाई छ। मिशिगन विश्वविद्यालयमा अनुसन्धान गर्न सकियोस् भनेर आफूले फ्यूजेरियम ग्रेमिनीअरम नामक खतरनाक ढुसीलाई तस्करी गरेर डेट्रोइट मेट्रोपोलिटन एयरपोर्टमार्फत अमेरिका भित्र्याएको उनले साबिती बयान दिएका छन्। तत् पश्चात् ती दुबै चिनियाँ नागरिकहरूमाथि षड्यन्त्र रच्ने, अवैध तवरले खतरनाक वस्तु अमेरिका ल्याउने, झूठा बयान दिने, र भिसा धोखाधडी गर्ने जस्ता आरोपहरूमा मुद्दा दर्ता गरिएको छ।

उनीहरु विरुद्ध दायर अभियोगमा रोग फैलाउने सूक्ष्म जीव (प्याथोजेन) मा अनुसन्धान गर्नका लागि जियानलाई चिनियाँ सरकारबाट आर्थिक सहयोग समेत प्राप्त भएको गम्भीर आरोप लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

के हो कृषि आतंकवाद ?

एफबीआई निर्देशक काश पटेलले आफ्नो एक्स पोस्टमा फ्यूजेरियम ग्रेमिनीअरम ढुसीलाई ‘एग्रो-आतङ्कवादको हतियार भनेका छन्।

एग्रो-आतङ्कवाद भन्नाले कृषि क्षेत्रमा गरिने सुनियोजित हमला हो कृषि अपराध कै एक हिस्सा हो। यद्यपि यी दुईबीच केही महत्वपूर्ण भिन्नताहरू छन्।

यदि कुनै देश वा क्षेत्रको अर्थतन्त्र र खाद्य आपूर्ति प्रणालीलाई अस्थिर बनाउने नियतले त्यहाँका बाली वा पशुपालनमा हमला गरिन्छ भने त्यो एग्रो-आतङ्कवाद हो।

कृषि प्रणालीलाई ध्वस्त पार्ने नियतले जैविक तत्वहरू (जस्तै: फङ्गस, ब्याक्टेरिया वा भाइरस) को जानाजानी प्रयोग गर्नु नै एग्रो-आतङ्कवाद हो। यसले कुनै कृषि-निर्भर अर्थतन्त्रको सामाजिक–आर्थिक संरचनालाई गम्भीर रूपमा असर गर्न सक्छ। विशेषगरी खाद्य बाली र कृषि-आधारित उद्योगहरूलाई लक्षित गरेर गरिने यस्ता हमलाहरू प्रायः लुकीछिपी हुन्छन्, तर यिनीहरूले ती देशहरूमा अत्यन्त विनाशकारी असर पार्न सक्छन्, जसको अर्थतन्त्र कृषि क्षेत्रमै आधारित हुन्छ।

यस्ता हमलामा हानिकारक ढुसी, ब्याक्टेरिया वा भाइरस प्रयोग गरेर बाली नष्ट गरिन्छ, जसको कारण कृषि उत्पादन चौपट हुन्छ र पर्यावरणमा पनि गम्भीर क्षति पुग्छ।

कृषि आतंकवादको इतिहास

वास्तवमा जैविक हतियार प्रयोग गरेर युद्ध लड्ने प्रवृत्ति नयाँ होइन। अल्जेरियाको युनिभर्सिटी अफ मोस्टगनम ले कृषि अपराध सम्बन्धी गरेको एक अध्ययनअनुसार, बायोलोजिकल टेररिज्म अर्थात् जैविक आतंकवाद भन्ने शब्दको प्रयोग पहिलो पटक १९औँ शताब्दीमा पश्चिमी मुलुकहरूमा गरिएको थियो।

सो अध्ययन अनुसार दोस्रो विश्वयुद्धको समयमा जर्मनीले कोलोराडो पोटाटो बीटल (आलु बालीमा नोक्सान गर्ने कीरा) को प्रयोग गरेर बेलायतको आलु खेती नष्ट गर्ने योजना बनाएको थियो।केही विशेषज्ञहरूका अनुसार सन् १९४३ मा इंग्ल्यान्डमा ती किराहरू देखिएका थिए जसले सानै स्तरमा भएपनि जर्मनीले त्यस्तो जैविक हमला गरेको संकेत पाइन्छ।

विज्ञका अनुसार हालसम्म विश्वभर भएका यस्ता घटनाहरूमा जनावरहरूमा हमला भएका घटना बढी देखिन्छन्। यस प्रकारका हमलापछि जनावरहरूको उत्पादन क्षमता (प्रजनन र उपयोग) पूर्ण रूपमा समाप्त हुन्छ।

कति खतरनाक छ ?

काश पटेल र अमेरिकी न्याय मन्त्रालयका अनुसार जुन ढुसी तस्करीको आरोपमा चिनियाँ नागरिक पक्राउ परेकी छिन्, त्यसले केवल जनावरहरूमा होइन, मानिसहरूमा पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

साथै, यो ढुसीले हरेक वर्ष विश्वभर अर्बौं–खरबौं डलर बराबरको आर्थिक क्षति पुर्‍याउने गरेको दाबी उनीहरुको छ।

विज्ञका अनुसार यस्तो हमला देख्दा सामान्य वा सानो जस्तो लाग्न सक्छ, तर यसको असर धेरै गहिरो हुन्छ। यो कुनै देशको खाद्य सुरक्षा माथि आक्रमण गर्ने एक सजिलो तरिका हो, जसले त्यस देशको उत्पादन क्षमतामा ठूलो असर पार्न सक्छ।

-बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?