
२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं सरुवा गर्न गृह प्रशासनले नै रोकेको आशंका गरेको छ ।
कारागार सरुवाका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।
पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलका अनुसार, भैरहवा कारागारबाट प्रक्रिया पूरा गरेको हप्ता दिन भइसकेको छ ।
‘सबै प्रक्रिया पूरा गरेर काठमाडौं पठाइसकेको हप्ता दिन हुँदा पनि गृह मन्त्रालय मातहत रहेको कारागार विभागले यसमा ध्यान नदिएको, चासो नदेखाएको अवस्था छ,’ रावलले अनलाइनखबरसँग भनिन्, ‘यस्तो किन भइरहेको छ भन्ने बुझ्न सकिएको छैन । भैरहवाबाट प्रक्रिया पूरा गरेको पनि हप्ता दिन भइसकेको छ ।’
जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए ।
‘कि उहाँको यो मापदण्डले पुगेन भन्ने हो भने पनि भन्नुपर्ने हो । किन आलटाल गरेको हो भन्ने बुझ्न सकिएन,’ रावल भन्छिन् ।
कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।
‘गृह मन्त्रालय मातहतको भएको हुनाले यो के गर्न खोज्नुभएको हो भन्ने बुझ्न सकिएन । हाम्रो आशंका छ । अहिलेसम्म किन प्रक्रिया अघि नबढाएको हो त ?,’ रावलले थपिन् ।
कारागार विभागले नै रविको कारागार सरुवा रोकेको आफूहरूको बुझाइ रहेको उनले बताइन् ।
प्रतिक्रिया 4