
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठक लगातार सरेको कारण ‘विशेष कारण’ देखाइएको छ।
- संसद सचिवालयले बैठक सर्ने कारण भिजिट भिसा प्रकरणलाई मुख्य कारण बताएको छ।
- संसद् बैठक प्रभावित हुनुको मुख्य कारण भिजिट भिसा प्रकरणको छानबिनको माग र राजनीतिक असहमतिका कारण हो।
२५ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दुई पटक सरिसक्यो । दिउँसो १ बजेका लागि राखिएको बैठक सवा ३ बजेलाई सर्यो । त्यो पनि बस्न सकेन र साँझ साढे ५ बजेका लागि सर्यो ।
आइतबार मात्रै होइन, यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक सरेको सर्यै छ ।
१३ गते दुई पटक सर्यो, बैठक बस्न सकेन । १४ गते दुई पटक सर्यो । १५ गते बजेट ल्याउन विपक्षी दलहरूले दिए । त्यसपछि बसेको २० गते निर्धारित समयमा बैठक बस्न सकेन र एक पटक सरेर २१ गतेलाई राखियो ।
२१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार दुई पटक गरेर ११ औं पटकसम्म प्रतिनिधि सभाको बैठक सरेको सर्यौ छ ।
प्रतिनिधि सभाको बैठक किन सरिरहेको छ ?
संघीय संसद् सचिवालयले बैठक सरेको सूचना निकाल्दा त्यसको कारण दिने गर्दछ ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक सरेको सूचना टाँस गर्छन् । जसमा सबै बैठक सर्नुको कारण एउटै छ– विशेष कारणले ।
पछिल्लो पटक जारी सूचनामा भनिएको छ, ‘ आज मिति २०८२ साल जेठ २५ गते आइतबार दिनको ३ः१५ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
महासचिव पद्मप्रसाद पाण्डेयले यस्तो सूचना निकाल्दै संसद् बैठक सार्दै आएको यही जेठ १३ गतेदेखि हो । प्रत्येक सूचनामा ‘विशेष कारणले’ बैठक सार्नुपरेको उल्लेख हुने गरेको छ । विशेष कारणले सर्ने बैठकमा जाने सांसदहरू दिनभर संसद भवन परिसरमा टहलिन्छन् र बेलुकी घर फर्किन्छन् ।
संसद् सचिवालयले जे जस्तो कारण भनेता पनि प्रतिनिधि सभाकोा बैठक प्रभावित हुनुको कारण हो– भिजिट भिसा प्रकरण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषय उजागर गरेसागै संसदमा प्रवेश पाएको हो ।
सुरुमा विपक्षी दलहरूले यो प्रकरणको छानबिनका लागि गृहमन्त्रीको राजीनामा नै मागे । त्यसमा सत्तापक्ष तयार नभएपछि विपक्षीले छानबिन समिति गठनको माग राखेका छन् । यसमा पनि सत्तापक्ष तयार नहुँदा प्रतिनिधि सभाको बैठक सौहार्द हुन सकिरहेको छैन । परिणाममा आगामी आर्थिक बर्षको बजेटमाथिको छलफल प्रभावित बनेको छ ।
प्रतिक्रिया 4