+
म्याच प्रिभ्यू :

एसियन कप छनोट : लाओसविरुद्ध अपराजित यात्रा कायमै राख्ने लक्ष्य

२०८२ जेठ  २६ गते १२:३९ २०८२ जेठ २६ गते १२:३९

पछिल्लो एक दशकमा नेपालले अहिलेसम्म लाओससँग हार व्यहोर्नुपरेको छैन । नेपालले लाओससँग अहिलेसम्म ६ खेल खेल्दा ४ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो ।

एसियन कप छनोट : लाओसविरुद्ध अपराजित यात्रा कायमै राख्ने लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसियन कप छनोट अन्तर्गत लाओससँगको खेल मंगलबार साँझ खेल्नेछ।
  • नेपाल लाओसविरुद्ध हालसम्म अपराजित रहेको छ।
  • हङकङसँग मैत्रीपूर्ण खेल खेल्दा मनोबल बढेको कप्तान किरणको भनाइ छ।

२६ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । खेल लाओसको राजधानी भिएनटिएनस्थित न्यु लाओस नेसनल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

लाओस नेपालको लागि त्यस्तो प्रतिद्वन्दी हो, जोसँग पछिल्लो समय नेपालले नियमित जस्तो खेलेको छ । चाहे विश्वकप छनोट होस् या त्रिदेशीय कप त्यसमा नेपाल र लाओसले एक आपसमा खेलेका छन् ।

त्यसैले पनि नेपाल र लाओस एक अर्कामा परिचित छन् । तर दुवै टिमको प्रशिक्षक देखि केही खेलाडी भने फेरिएका छन् ।

नेपाली टोली हङकङसँग मैत्रीपूर्ण खेल खेलेर लाओस पुगिसकेको छ ।

तुलनात्मक रुपमा फिफा वरियतामा पनि नेपाल भन्दा पछि रहेकोले लाओसविरुद्ध स्वभाविक रुपमा जितको लक्ष्यमा हुनेछ ।

जितको लक्ष्य

सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपका लागि यो अन्तिम (तेस्रो) चरणको छनोट हो । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा २-० ले पराजित भएको थियो ।

घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालमा अन्तर्राष्ट्रिय खेल खेलाउन लायक नभएपछि नेपालले मलेसियामा गएर खेलेको थियो । लाओसविरुद्धको खेल भने नेपालको अवे खेल नै हो ।

हङकङसँग मैत्रीपूर्ण खेल खेल्न जानुअघि नै नेपाली टिमका मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले लाओसविरुद्ध जितका लागि खेल्ने बताएका थिए ।

तुलनात्मक रुपमा फिफा वरियतामा पनि नेपाल भन्दा पछि रहेकोले लाओसविरुद्ध स्वभाविक रुपमा जितको लक्ष्यमा हुनेछ ।

लाओस भने छनोटको पहिलो खेलमा भियतनामसँग ५-० ले पराजित भएको थियो । त्यसैले पनि लाओस घरेलु मैदानमा सकरात्मक नतिजा ल्याउन चाहन्छ ।

हङकङसँग खेलेर तयारी

नेपालले एसियन कप छनोटको खेल खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेर तयारी गरेको थियो । ३७ वर्षपछि हङकङसँग खेल्दा नेपालले हङकङलाई उसैको मैदानमा बराबरीमा रोकेको थियो ।

त्यसले पनि नेपाली टिमको मनोबल बढाएको छ । हङकङ नेपालभन्दा वरियतामा २२ स्थान माथि रहेको भएपनि कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई बराबरीमा रोक्न मदत गरेका थिए ।

किरणले दुवै हाफमा दुई-दुई सेभ गरेका थिए ।

लाओससँग अपराजित नेपाल

लाओस त्यस्तो टिम हो जोसँग नेपाल अपराजित छ । पछिल्लो एक दशकमा नेपालले अहिलेसम्म लाओससँग हार व्यहोर्नुपरेको छैन । नेपालले लाओससँग अहिलेसम्म ६ खेल खेल्दा ४ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो ।

सन् २०१६ मे मा नेपालले पहिलो पटक लाओससँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । त्यही वर्ष नोभेम्बरमा एएफसी सोलिडारिटी कपमा नेपालले लाओससँग खेलेको थियो । सुरुमा उक्त खेल २-२ को बराबरीमा सकिएको थियो तर पेनाल्टी सुटआउटमा नेपालले लाओससलाई ३-० ले पराजित गरेको थियो ।

त्यसपछि सन् २०२३ मार्चमा नेपालमै भएको त्रिदेशिय फुटबल प्रतियोगितामा नेपालले लाओसलाई दुई पटक पराजित गरेको थियो । समूह चरणमा लाओसलाई २-० ले पराजित गरेको नेपालले लाओसलाई फाइनलमा २-१ ले हराएर उपाधि जितेको थियो ।

त्यसपछि सन् २०२३ अक्टोबरमा नेपाल र लाओसबीच दुई खेल भएको थियो । फिफा विश्वकप र एसियन कपको संयुक्त छनोट अन्तर्गत प्रारम्भिक चरणमा नेपाल र लाओसले दुई लेगमा खेलेका थिए ।

जहाँ नेपालले लाओसलाई समग्रमा २-१ ले पराजित गरेर दोस्रो चरणमा स्थान बनाएको थियो । दशरथ रंगशालमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

त्यही खेलमा गोल गर्दै अन्जन विष्टले नेपालका लागि सर्वाधिक १३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरेका थिए ।

त्यसपछि लाओसमा भएको दोस्रो लेगमा मनिष डाँगीको एक मात्र गोलमा नेपाल १-० ले विजयी भएको थियो । मनिषकै गोल निर्णायक बन्दा नेपाल अघिल्लो चरण पुगेको थियो ।

अन्जनलाई अवसर

नेपाली टिमका मुख्य गोलकर्ताको रुपमा रहेका अन्जन विष्टले पछिल्लो समय झण्डै दुई वर्षअघि लाओसविरुद्ध दशरथ रंगशालमा कीर्तिमानी गोल गरेका थिए । त्यसयता नेपालले एक दर्जन खेल खेल्दा अन्जनले गोल गर्न सकेका छैन ।

नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेमा अन्जन हाल हरि खड्का र निराजन रायमाझीसँगै शीर्ष सूचीमा छन् । अब अन्जनलाई त्यो कीर्तिमान तोडेर एकल रुपमा आफ्नो नाममा लेखाउने अवसर छ । लाओसविरुद्ध गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर अन्जनलाई छ ।

हङकङसँग खेल्न जानुअघि अन्जनले आफूले कीर्तिमानलाई सोचेर भन्दा पनि टिमका लागि खेल्ने बताएका थिए ।

उनले आफ्नो अझै खेल्ने उमेर रहेकोले १४ गोल पुर्‍याउने भन्दा पनि त्यो भन्दा धेरै गोल गर्ने लक्ष्य रहेको बताएका थिए ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय