
News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषा बटेश्वर गाउँपालिका-२ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयमा विद्यार्थी संख्या घट्दो छ र समुदायको विश्वास कम भएको छ।
- विद्यालयले भौतिक पूर्वाधारमा वर्षेनी खर्च गरे पनि विद्यार्थी उपस्थितिमा कमी आएको र राजनीतिक हस्तक्षेपले समस्या थपिएको विद्यालयका प्रधानाध्यापक र स्थानीयले बताए।
- विद्यालयको विद्यार्थी संख्या २०८१ सालमा ४९६ थिए भने २०८२ मा मात्र ३०६ मा झरेको र शिक्षक आन्दोलनले भर्ना कम भएको विद्यालयका अधिकारीहरूले बताएका छन्।
२६ जेठ, जनकपुरधाम । गत साता बिहान साढे ७ बजे धनुषा बटेश्वर गाउँपालिका-२ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालय पुग्दा पठनपाठन चलिरहेको थियो । तर विद्यार्थी संख्या भने दयनीय थियो । जम्मा १० जना विद्यार्थी रहेको कक्षा ४ मा मात्र ४ जना विद्यार्थी पढिरहेका थिए ।
अन्य कक्षाको अवस्था पनि फरक थिएन । कक्षा १ मा २२ जना विद्यार्थी भए पनि ५ जना मात्र विद्यालय उपस्थित भएका थिए । कक्षा २ मा १७ जनामध्ये ६ जना, कक्षा ३ मा १७ जनामध्ये ९ जना र कक्षा ५ मा २१ जनामध्ये ११ जना विद्यार्थी उपस्थित थिए ।
कक्षा १ देखि ५ सम्म कुल १०० जना विद्यार्थीमध्ये त्यस दिन ३५ जना मात्र विद्यालय आएका थिए । बालविकास कक्षामा १३ विद्यार्थी छन् । विद्यालयको हाजिरी रजिस्टरले दैनिक झण्डै आधा मात्र विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेको देखाउँछ ।
कुनै समय समुदायको विश्वास जितेको यो विद्यालयमा पछिल्ला केही वर्षदेखि विद्यार्थी संख्या घट्दो छ । विद्यालयका प्रधानाध्यापक राजकुमार राउतका अनुसार यस शैक्षिक सत्रमा पनि नयाँ भर्ना अत्यन्तै न्यून भएको छ ।
‘समाजमा बालबालिकाको संख्या घटेको छ । त्यसमा पनि नजिक-नजिक अरु प्राथमिक विद्यालय भएकाले हाम्रो विद्यालयमा कम भर्ना भएको हो,’ उनले भने ।
यो विद्यालय गाउँपालिका अध्यक्ष रामआशिष महतोको घरभन्दा १०० सयमिटरको दूरीमा पर्छ ।
शैक्षिक सत्र २०८१ सालमा विद्यालयमा ४९६ विद्यार्थी थिए भने त्यसअघि ५७२ विद्यार्थी थिए । चालु शैक्षिक सत्र २०८२ मा जम्मा ३०६ विद्यार्थी मात्र रहेको विद्यालयको तथ्यांकमा छ ।
शिक्षक आन्दोलनको कारण लामो समय विद्यालय बन्द हुँदा प्राथमिक तहमा बालबालिका भर्ना कम भएको र भएका विद्यार्थी पनि कतिपय विद्यार्थीलाई लगेको शिक्षक कुशेश्वर महतोको भनाइ छ ।
‘शिक्षक आन्दोलनले यसपटक प्रायः विद्यालयमा प्राथमिक तहमा विद्यार्थी भर्ना भएनन् । विद्यालयमा पठनपाठन राम्रो छ । प्राथमिक तहमा कम विद्यार्थी भए पनि निमावि र मावि तहमा उपस्थिति राम्रै छ,’ उनले भने ।
विगतको तथ्यांक हेर्दा विद्यालयले समुदायको विश्वास गुमाउँदै गएको छ । प्रधानाध्यापक राउत राजनीतिक हस्तक्षेप र अभिभावकको चेतनाको अभावले विद्यालयमा विद्यार्थीको संख्या र समुदायको विश्वास घटेको तर्क गर्छन् ।
‘विद्यार्थी उपस्थित न्यून हुनुको प्रमुख कारण राजनीतिक प्रभाव र अभिभावकमा चेतनाको कमी हुनु हो । विद्यार्थीलाई विद्यालयसम्म आउनै डिस्टर्व गर्छन् । केही समयअघि विद्यालयमा भूत लाग्छ भनेर हल्ला फैलाए, कहिले विद्यालयमा पढाइ हुँदैन भन्ने भ्रम फिजाउँछन्,’ उनले भने ।
विद्यालयमा शिक्षकको भने खासै कमी छैन । माध्यमिक तहमा ३, निमाविमा ३, प्राविमा १ र बलविकासमा २ जना शिक्षक छन् । विद्यालयमा २ जना कार्यालय सहयोगी छन् । लेखापाल नहुँदा समस्या हुने गरेको प्रधानाध्यापक राउतको गुनासो छ ।
विद्यार्थी घटे पनि थपिँदै भौतिक संरचना थपिँदै
विद्यार्थी घट्दै गएको विद्यालयमा भौतिक संरचना भने वर्षेनी थपिँदैछ । पालिका अध्यक्ष महतो शिक्षाको गुणस्तर सुधारभन्दा पूर्वाधार निर्माणमै केन्द्रित देखिन्छन् ।
२०७७/७८ देखि हालसम्म विद्यालयमा ३ वटा ८ कोठे भवन निर्माण भइरहेका छन् । तीमध्ये दुई भवनको निर्माण पूरा भइसकेको छ भने एउटा निर्माणाधीन अवस्थामा छ ।
प्रत्येक वर्ष आधा करोड रुपैयाँभन्दा बढी खर्चिएर भवन र अन्य संरचना खडा गर्ने कार्य पालिका अध्यक्षले गरिरहेका छन् । तर कक्षामा बस्ने विद्यार्थी भने घट्दै गएका छन् ।
यस वर्ष मात्रै पालिकाबाट १० लाख रुपैयाँको लागतमा विद्यालयमा गेट निर्माण हुँदैछ भने मैदानमा १० लाखको माटो पुर्ने काम भएको छ । ५ लाख रुपैयाँमा पूरानो जीर्ण भवन भत्काउने तयारी छ ।
जनप्रतिनिधिको उदासिनता
विद्यालयप्रति समुदायको अपनत्व क्रमश: घट्दो अवस्थामा छ । स्थानीय बासिन्दा महेन्द्र महतोका अनुसार विद्यालयले अभिभावकहरूसँग नियमित सम्पर्क गर्न छाडेपछि स्थानीयहरू पनि बेवास्ता गर्न थालेका छन् ।
‘पहिला विद्यालयले बोलाउँथ्यो, अभिभावक पनि नियमित आउजाउ गर्थे,’ महेन्द्र महतो भन्छन्, ‘तर केही वर्षयता विद्यालयले हामीलाई खोज्न छाड्यो । कहिलेकाहीँ आफैँ पुगे पनि किन आएको भन्ने प्रश्न हुन्छ । त्यसैले जान छाड्यौं ।’
पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष योगेन्द्र महतो विद्यालयमा विद्यार्थी घट्नुको पछाडि राजनीतिक हस्तक्षेप र शिक्षकहरू जिम्मेवार रहेको बताउँछन् । उनका अनुसार ३ वर्षसम्म विद्यालय व्यवस्थापन समितिविहीन हुँदा प्रधानाध्यापकले समाजलाई खोज्न छाडे । जनप्रतिनिधि पनि बेपरवाह बने ।
‘हाम्रो कार्यकाल सकिएपछि ३ वर्षसम्म समिति नै बनाइएन । त्यसबीचमा शिक्षकहरूले हामीलाई बेवास्ता गरे । जनप्रतिनिधिले पनि खासै ध्यान दिएनन्,’ उनको गुनासो छ ।
करिब ७ महिनाअघि नेपाली कांग्रेस बाहेकका ६ वटा दलको सहमतिमा स्थानीय युवा सरोजकुमार महतो अध्यक्ष रहने गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो । तर यसप्रति कांग्रेस र कांग्रेसबाटै निर्वाचित पालिका प्रमुख असन्तुष्ट देखिन्छन् ।
स्थानीय विन्देश्वर महतो विद्यालयमा शिक्षकहरूबीच गुटबन्दी, राजनीतिक हस्तक्षेप र जनप्रतिनिधिको बेवास्ताका कारण समुदायमा विद्यालयप्रति विश्वास कमजोर बन्दै गएको गुनासो गर्छन् ।
‘शिक्षकबीचमै राजनीति छ । व्यवस्थापन समिति नहुँदा उनीहरूले मनपरी गरे । जनप्रतिनिधिले पनि वास्ता गरेनन् । यसले विद्यालयको यो स्थिति आएको हो,’ उनले भने ।
पालिका अध्यक्ष रामआशिष महतोले व्यक्तिगत लाभका लागि भवन निर्माणमा मात्र ध्यान दिई गुणस्तरीय शिक्षातर्फ बेवास्ता गरेको आरोप स्थानीयको छ ।
तर, अध्यक्ष महतो भने विद्यार्थी घट्नुमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई जिम्मेवार ठहर्याउँछन् । ‘विद्यार्थी घट्नुमा प्रधानाध्यापक र व्यवस्थापन समिति नै जिम्मेवार छन् । किन विद्यार्थी घटे उनीहरूसँगै सोध्नुस् । मैले त प्लस टु र प्राविधिक शिक्षाका लागि भवन बनाइरहेको छु,’ पालिका अध्यक्ष महतो भन्छन् ।
उनका अनुसार गत शैक्षिक सत्रमा रजिस्टरभन्दा न्यून संख्यामा विद्यार्थी परीक्षामा सहभागी हुँदा प्रधानाध्यापक राउतमाथि प्रश्न उठेको छ । त्यसबेला केही रजिस्टर पालिकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पालिका अध्यक्ष महतोको भनाइ छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरोजकुमार महतो भने आफूले पद सम्हालेदेखि पठनपाठन सुधार र विद्यालयप्रति घटेको विश्वास पुनःस्थापित गर्न प्रयास गरिरहेको दाबी गर्छन् ।
‘समिति नभएको समयमा पठनपाठन कमजोर रह्यो । म आएपछि नियमित अनुगमन र व्यवस्थापनमार्फत गुणस्तर बढाउने प्रयास गरिरहेको छु । तर यो काम एक्लैले सम्भव छैन, सबैको सहयोग आवश्यक छ,’ उनले भने ।
प्रतिक्रिया 4