
News Summary
Generated by OK AI. Editorially reviewed.- संसद् बैठक भिजिट भिसा प्रकरणमा राजीनामा माग्ने अडानका कारण अनिश्चित भएको छ।
- संसद् गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्ष दलहरूबीच छलफल जारी छ।
- संसद् अवरोध खुलाउन सभामुख घिमिरेले पहल गर्ने जानकारी दिएका छन्।
२६ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ ।
संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ ।
आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए ।
तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।
स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
‘छानबिन समिति वा संयन्त्र भन्ने छलफल चलिराखेको छ,’ उनले भने, ‘सत्तापक्ष नै छानबिन समिति भन्नेमा तयार नहुँदा आजको संसद् चल्ने वा नचल्ने अनिश्चित भएको छ ।’
विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भए । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।
प्रतिक्रिया 4