+
+
Shares

एनसेल फाउन्डेसनको ‘बिन देयर ह्याक्ड द्याट’ उपाधि ईकोलुपले जित्यो

फोहोरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागिताका लागि ४ सयभन्दा बढी आवेदक थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनोटमा परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पहिलो राष्ट्रिय वेस्ट ह्याकाथन काठमाडौंमा सम्पन्न भयो।
  • कार्यक्रमले फोहोर व्यवस्थापनमा प्रविधि आधारित समाधान प्रस्तुत गर्‍यो।
  • विजेताले नेपाल उद्योग परिसंघबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्।

२६ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२५ का अवसरमा एनसेल फाउन्डेसन, खालिसिसी र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।

फोहोरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागिताका लागि ४ सयभन्दा बढी आवेदक थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनोटमा परेका थिए । यसरी छानिएका टोलीले प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नवीन पहल प्रस्तुत गरेका थिए ।

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षक अन्तर्गतको आफ्नो नवीन समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो । यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइप विकास गरेको छ । टिमका सदस्यमा नितेशकुमार साह, धर्मेन्द्रसिंह चौधरी, रमेश कठायत र विपिनकुमार मरासिनी छन् ।

त्यसैगरी किङ्स कलेज नेपालका विद्यार्थीको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सर्कुलेटरी शीर्षक अन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अप अर्थात् दोस्रो स्थान प्राप्त गर्‍यो । टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल थिए ।

सेकेन्ड रनर अप अर्थात् तेस्रो स्थान काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टिलिजेन्स विभागका विद्यार्थीको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमनकुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरूले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ ।

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नवीन सोलुसन्स आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दामात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाले समाधानको सम्भावना देखाएका छन् ।’

यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको जनाइएको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने इच्छाशक्ति भएका युवाको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सिर्जनशीलता उजागर गरेको छ ।

सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनःप्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा–सञ्चालित ट्र्याकिङ प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।

‘यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनका लागि एक प्लेटफर्म पनि थियो जहाँ युवाले प्रविधि र उद्देश्यका माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्तालाई सशक्त बनाउन प्रतिबद्ध छ,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन् ।

खालिसिसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, ‘हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यावहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्तालाई सशक्त बनाउनु पनि हो।’

अन्तिम तीन विजेता टोलीले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चबाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्, साथै खालिसिसी, बूढानीलकण्ठ नगरपालिका र मञ्चको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

यस ह्याकाथनमा ल्यान्डफिलदेखि परिवर्तनसम्म, धुवाँविनाको फोहोर, फोहोरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रमा केन्द्रित रहेर युवाले आफ्नो प्रस्तुति गरेका थिए । अन्तिम चरणमा पुगेका टोलीमध्ये ४० प्रतिशतभन्दा बढी टोली महिला नेतृत्व वा सहनेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गर्दछ ।

यस ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटरबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जनाइएको छ ।

कार्यक्रमको सहआयोजकमा गोल्यान समूह थियो र यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउड फ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?