+
+
Shares

एआईले श्रमिकको रोजगार खोस्यो, आम्दानीमा असमानता बढायो : जेटीयूसीसी अध्यक्ष सिम्खडा

औपचारिक क्षेत्र अनौपचारिकतर्फ रुपान्तरित हुँदै गएको र यसले श्रमिकहरूलाई संगठित हुन, माग राख्न र अधिकार दाबी गर्नसमेत अवरोध पुर्‍याइरहेको उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यक्ष सिम्खडाले कृत्रिम बुद्धिमत्ता (एआई) ले श्रमिकको रोजगारी र आम्दानीमा असमानता ल्याएको बताए।
  • उनले नेपालमा श्रम कानुन र सामाजिक सुरक्षा योजनाले श्रमिक अधिकार बलियो बनाएको बताए।
  • अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले श्रमिक अधिकार र न्यायोचित रुपान्तरणको आवश्यकतालाई जोड दियो।

२७ जेठ, काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले कृत्रिम बुद्धिमता (एआई) ले श्रमिकको रोजगारी खोेसेको र आम्दानीमा असमानता बढाएको बताएका छन् ।

नयाँ रोजगार बजारको चुनौतीहरुको सम्बोधन गर्न न्यायोचित रुपान्तणमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । स्वीजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को ११३औं अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपाली प्रतिनिधि मण्डलमा नेपाली श्रमिकका तर्फबाट सम्बोधन गर्दै उनले एआईको विकासले श्रमिकहरुका हित र न्यायोचित रुपान्तरणको बारेमा गम्भीर सोच र कदम चाल्नुपर्ने समय आएको बताए ।

उनले नेपालमा जेटीयूसीसीको स्थापनापछि श्रमिकका मौलिक हक अधिकारका लागि भूमिका खेलेको सम्मेलनमा जानकारी गराएका थिए । उनले संविधान जारी भएयता नयाँ श्रम कानुनहरु पारित भएका, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा योजनाहरूको थालनी भएको बताउँदै श्रमिकहरूका आवाज बलियो बनाउन सफल भएको बताए ।

हाल नेपालको श्रम बजार आर्थिक संक्रमण र वैदेशिक रोजगारी जस्ता विविध समस्याहरूबाट गुज्रिरहेको बताउँदै उनले केही श्रम कानुनका धाराहरूको दुरुपयोग समेत भइरहेको टीप्पणी गरे ।

औपचारिक क्षेत्र अनौपचारिकतर्फ रुपान्तरित हुँदै गएको र यसले श्रमिकहरूलाई संगठित हुन, माग राख्न र अधिकार दाबी गर्नसमेत अवरोध पुर्‍याइरहेको उनको भनाइ छ ।

श्रम ऐन २०७४ का धारा १४५ ले श्रमिकलाई कामबाट हटाउने र संगठित हुने मौलिक अधिकार खोस्ने व्यवस्था भएको भन्दै उनले धारा ५८ ले स्थायी कामदारलाई आउटसोर्सिङमार्फत अधिकारविहीन बनाउने सम्मेलनमा जानकारी गराएका थिए । श्रमिकलाई वस्तुको रूपमा व्यवहार गर्ने नीति राज्यले नै अख्तियार गर्न नहुनेमा उनको जोड छ ।

श्रमिकहरुको अवस्था सुधार्न र हकअधिकारका लागि आइएलओ नेपालले खेलेको भूमिकाले उनले प्रशंसा गरे । श्रमिकका अधिकारको पक्षमा आपसी ऐक्यबद्धता र सहयोग बढाउनुपर्नेमा अध्यक्ष सिम्खडाले जोड दिएका संगठनका महासचिव इन्द्रदेव मिश्रले जानकारी दिए ।

विश्वभरबाट सरकारी प्रतिनिधि, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागितामा आयोजना हुने सम्मेलनमा नेपालको प्रतिनिधि मण्डलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै जेटियुसीसी अध्यक्ष, रोजगारदाताको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्षले समेत सम्बोधन गरेका थिए । जुन २ देखि सुरु भएको सम्मेलन जुन १४ तारिखमा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?