+
+
Shares

माछा उत्पादनमा कोशेढुंगा : थाइल्यान्डबाट नेपाल ल्याइयो पंगासियस माछाको ४ हजार शुद्ध नस्ल

केन्द्रले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल को प्राविधिक सहयोगमा पंगासियस माछाको भुरा भित्र्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले ४ हजार शुद्ध नस्लको पंगासियस माछा भित्र्याएको हो।
  • सङ्घीय र प्रादेशिक मत्स्य फार्महरूमा उत्पादन र प्रविधि विकासका लागि तालिम प्रदान गरिएको छ।
  • नेपालमा माग बढ्दै गएको र उत्पादन दोब्बर हुने आशा व्यक्त गरिएको छ।

२७ जेठ, काठमाडौं । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले ४ हजार संख्यामा पंगासियस माछाको शुद्ध नस्ल भित्र्याएको छ ।

केन्द्रले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल को प्राविधिक सहयोगमा पंगासियस माछाको भुरा भित्र्याएको हो ।

एफएओले ‘सपोर्ट टु सस्टेनेबल पंगासियस प्रडक्सन एन्ड अपग्रेडेड भ्यालु चेन’ परियोजना मार्फत थाइल्यान्डको नाम साई इन्टरनेसनल फार्मबाट उत्पादित माछाका भुरा ल्याएको केन्द्र प्रमुख सरिता गौतमले बताइन् ।

‘यी शुद्ध नस्लका भुरा हुन्, यिनीहरू भावी माउ बनाउन नेपाल ल्याइएको हो । नेपालमा माछा उत्पादनमा यसले उल्लेख्य मद्दत गर्ने आशा गरेका छौं,’ गौतमले अनलाइनखबरसँग भनिन्, ‘मत्स्य क्षेत्रको उत्पादकत्व वृद्धि गरेर आयात प्रतिस्थापन, मत्स्य उपज उपभोग वृद्धि तथा परिकार विविधीकरणमा सहयोग पुग्ने विश्वास छ । यो माछा विकासमा कोशेढुङ्गा हुन सक्छ ।’

माग बढ्दै

नेपालमा हाल पंगासियस माछाको माग बढ्दो क्रममा छ । भारतबाट बरफमा संरक्षित ताजा माछा र भियतनाम तथा थाइल्यान्डबाट पंगासियस वासा, फिलेट आयात हुने दर बढ्दो क्रममा रहेको गौतम बताउँछिन् ।

केन्द्रका अनुसार नेपालमा पंगासियसको बीज तथा दानामा रहेको प्राविधिक समस्या, जेनेटिक शुद्धता थाहा नभएको माउ प्रजननमा प्रयोग हुनेजस्ता कारण अन्य देशको तुलनामा नेपालमा यो जाताको माछा उत्पादकत्व न्यून छ ।

भियतनाममा प्रतिहेक्टर उत्पादन ४ सय टनभन्दा बढी छ भने नेपालमा करिब २५ टनमात्र छ ।

‘नेपालमा प्रतिहेक्टर औसत २५ टन पंगासियस माछा उत्पादन भइरहेका बेला दिगो उत्पादन प्रणाली र मूल्य शृङ्खला सुधार गर्ने योजनासाथ आगामी वर्षहरूमा यो उत्पादन दोब्बर हुन सक्छ’

केन्द्रका अनुसार ती माछा भुरा मत्स्य मानव संशाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरमा राख्ने र २०–२५ ग्रामको तौलमा पुगेपछि पीआईटी ट्यागिङ गरी निजी पंगासियस ह्याचरी, संघीय तथा प्रादेशिक मत्स्य फार्महरूमा भावी माउका रूपमा वितरण गरिने छ ।

‘यसबाट गुणस्तरीय भुरा उपलब्धता वृद्धि भई भारत र बंगलादेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा छ,’ केन्द्र प्रमुख गौतमले भनिन् ।

केन्द्रका अनुसार पंगासियस माछाको प्रजनन तथा भुरा उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान, सिप अभिवृद्धि गर्न अधिकृत स्तरीय ७ दिने तालिम मत्स्य अनसुन्धान, प्रसार र शिक्षणमा संलग्न २० प्राविधिक तथा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका २० ह्याचरीकर्ता एवं किसानलाई प्रदान गरिसकिएको छ ।

‘नेपालमा प्रतिहेक्टर औसत २५ टन पंगासियस माछा उत्पादन भइरहेका बेला दिगो उत्पादन प्रणाली र मूल्य शृङ्खला सुधार गर्ने योजनासाथ आगामी वर्षहरूमा यो उत्पादन दोब्बर हुन सक्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?