+
+
Shares
विचार :

ऋण तिर्नकै लागि ऋण लिनु डरलाग्दो

अहिले ऋणको आकार जीडीपीको ४२ प्रतिशत पुगेको छ, त्यो डरलाग्दो अंक होइन । किनभने जापान, अमेरिका लगायतमा २०० प्रतिशत भन्दा बढी ऋण छ । ऋण तिर्न पनि ऋण नै लिनुपर्ने स्थिति चाहिं डरलाग्दो हो ।

प्रा.डा. सञ्जय आचार्य प्रा.डा. सञ्जय आचार्य
२०८२ जेठ २८ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले प्रस्तुत गरेको बजेट सुधारवादी छ, तर समग्र अर्थतन्त्रमा संरचनात्मक परिवर्तन ल्याउन सक्दैन।
  • बजेटले सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासनमा जोड दिएको छ, र निजी क्षेत्रको लगानी प्रवद्र्धनलाई मुख्य प्राथमिकता बनाएको देखिन्छ।
  • विगतका बजेटहरूमा खर्चको वास्तविकता नहुँदा वित्तीय अनुशासनहीनता बढेको र कर प्रणाली सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट सुधारवादी चरित्रको छ । तर, यो समग्र अर्थतन्त्रलाई संरचनात्मक परिवर्तन गर्नसक्ने किसिमको बजेट होइन ।सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासनलाई अहिलेको बजेटले अलिकति जोड दिएको छ । व्यवसायमैत्री वातावरणको सिर्जना र निजी क्षेत्रको लगानी प्रवद्र्धनलाई यो बजेटले हाइलाइट गर्न खोजे जस्तो देखिन्छ । डिजिटल पूर्वाधार र अर्थतन्त्र निर्माणको विषय युवा उद्यमीलाई नयाँपन हो ।

बजेटले जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा केही चासो र सरोकार व्यक्त गरेको छ । वित्त प्रणालीमा कसरी अनुशासन गुमाउँदै गइरहेका छौं, कसरी हामीले विस्तारै सन्तुलित बनाउनुपर्छ भन्ने सन्दर्भमा केही प्रयासहरू गर्न सुरुवात गर्न खोजेको स्थिति छ । विकास वित्तको विस्तार गरेको छ ।

विगत केही सालका बजेटहरू हेर्‍यौं भने पूँजीगत खर्च भन्दा ऋणको सावाँ–ब्याज भुक्तानीमा बढी खर्च हुन थालेको स्थिति थियो । त्यसमा सरकारले चासो र सरोकार देखाएको छ । राजस्व प्रणाली सुदृढीकरणको कुरा गरिएको छ । यो पनि अत्यन्त आवश्यकता खट्किरहेको स्थिति हो । बजेटले धेरै ठूलो परिवर्तन गर्न खोजेको छैन ।

सरकारको वित्तीय स्थिति हेर्ने हो भने सरकारको नियमित खर्च पनि राजस्वले धान्न नसक्ने स्थिति आइसक्यो । यो स्थिति भनेको संघीय सरकारको हो । प्रदेश र स्थानीय तहको सम्पूर्ण राजस्व र खर्चलाई एकै ठाउँमा राखेर हेर्ने हो भने त्यति सारो डरलाग्दो स्थिति आइसकेको छैन । नेपालको बजेट घाटा सामान्यतया जीडीपीको ६ देखि ७ प्रतिशतको हाराहारी छ । यसमा सीमान्त सुधार भएको जस्तो मात्रै देखिन्छ ।

सरकारको नियमित खर्च राजस्वले जसोतसो धानिरहेको छ । पूँजीगत खर्च र ऋण व्यवस्थापनलाई ऋण लिनुपर्ने भएकाले सार्वजनिक ऋण बढ्दै गएको छ । अहिले नेपालको ऋण कुल गार्हस्थ्य उत्पादनको ४२ प्रतिशत हाराहारी त पुगिसकेको छ ।

४२ प्रतिशतको सार्वजनिक ऋण डरलाग्दो फिगर होइन । किनभने औद्योगिक देशहरू जस्तै जापान, संयुक्त राज्य अमेरिकामा २०० प्रतिशत भन्दा बढी सार्वजनिक ऋण छ । त्यहाँ अर्थतन्त्रले राम्रै काम गरिरहेको छ ।

राजस्वले नियमित खर्च मात्रै धान्न सक्ने भएकाले ऋण तिर्न पनि ऋण नै लिनुपर्ने स्थिति चाहिं डरलाग्दो हो । जीडीपीको १०० प्रतिशतको हाराहारी ऋण पुगेपछि श्रीलंका ठूलो वित्तीय संकटमा फस्यो, त्यति ठूलो परिवर्तनहरू भयो । ऋण लिएर उत्पादनशील क्षेत्रमा खर्च गर्न सकेनौं भने त्यसले उत्पादकत्व नबढाउने र थप ऋणको बोझ थप्दै जाने हुन्छ । त्यसैले ऋण तिर्नको लागि ऋण लिनुपर्ने स्थितिलाई नियन्त्रण गर्नुपर्छ । यो समस्यालाई उपयुक्त आर्थिक नीतिले सम्बोधन गर्नुपर्ने खाँचो छ ।

४२ प्रतिशतको सार्वजनिक ऋण डरलाग्दो फिगर होइन । तर, आफ्नो राजस्वले नियमित खर्च मात्रै धान्ने अनि पुँजीगत तथा वित्तीय व्यवस्थामा हुने खर्च ऋण लिएर गर्नुपर्ने, अझ त्यो ऋण तिर्न फेरि ऋण लिनुपर्ने स्थिति चैं डरलाग्दो पक्ष हो ।

सरकारी राजस्वको प्रवृत्ति हेर्ने हो भने नेपालले झन्डै १८ प्रतिशत राजस्व संकलन गरिरहेको छ । यो अनुपातमा नेपाल दक्षिणएशियामा नै उच्च छ । त्यसो हुँदा नेपालले राजस्व संकलन गर्न नसकेको होइन । तर, नेपालको आवश्यकता नै ठूलो छ ।

विकास निर्माणमा बढी लगानी गर्नुपर्ने छ तर अन्तर्राष्ट्रिय ऋण र अनुदान पाउन सक्ने क्षमता कमजोर हुँदै गएको स्थितिमा छ । कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशत भन्दा पनि कम अनुदान आउन थालेको छ । फलस्वरुप साधन र स्रोतको परिचालन अत्यन्त जटिल बनेको छ ।

संघीय सरकारको २० प्रतिशतको हाराहारी पूँजीगत खर्च र २० प्रतिशतकै हाराहारी वित्त व्यवस्थापनमा खर्च गर्ने भन्छौं । तर, खर्च भएको स्थिति हेर्ने हो भने १३–१४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । २० प्रतिशत जति वित्तीय व्यवस्थामा खर्च भएको छ । चालु खर्च ६८ प्रतिशतको हाराहारी रहेको छ ।

पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्चहरू समग्रमा हेर्दाखेरि तीनै तहको सरकारको बजेटलाई एकै ठाउँमा राखेर हेर्‍यो भने पूँजीगत खर्च वित्त व्यवस्थापन भन्दा केही बढी नै देखिन्छ । समस्या संघीय सरकारको खर्चमा हो ।

गत दुई आर्थिक वर्षको वित्तीय हस्तान्तरण हेर्‍यौं भने घट्दै गएको छ । पूँजीगत खर्च गर्न सक्ने क्षमता संघीय सरकारमा भन्दा प्रदेश र स्थानीय तहमा राम्रो देखिन्छ । तर, संघीय सरकारले दिने वित्तीय हस्तान्तरण घट्दै गएको स्थितिले गर्दा वित्त परिचालन बढी पेचिलो बन्दै गएको छ ।

पूँजीगत खर्चमा सुधार गर्न वित्तीय हस्तान्तरणबाट जाने रकममा कमी गर्नुहुँदैन । स्थानीय र प्रदेश सरकारले गर्न सक्ने जति क्षमता छ त्यसलाई पूरा गरिदिनुपर्दछ । कटौती गर्नेतिर जानुहुँदैन किनभने कटौतीले राम्रो परिणाम दिंदैन ।

हाम्रो बजेट प्रणालीका मूलभूत समस्या

हाम्रा प्रक्रियागत कमजोरीहरू पनि छन् । कुनै पनि नयाँ सालको बजेट निर्माण गर्दा हामी पुरानो बजेटको समीक्षा गर्दैनौं । शून्यबाट शुरू गर्छौं । कार्यक्रमहरू बढ्छन् । कार्यक्रमहरू राखेपछि साधन र स्रोतहरूबारे हेर्छौं । त्यो खर्च कहाँबाट जुटाउने भनेर अन्तिममा बजेट टुंग्याइन्छ ।

हाम्रा खर्चहरू कत्तिका उत्पादनशील भए त्यसको समीक्षा नगरिकन एउटै ढर्रामा हामीले बजेट बनाइराख्यौं भने ती समस्याहरू दोहोरिरहन्छन् । र, यो प्रवृत्ति हामीकहाँ रहिरहेको छ । अहिले जुन ढंगले बजेट बनाइरहेका छौं, त्यसमा बजेटको प्रणालीमा हामीले केही सुधार गर्नुपर्ने देखिन्छ । लक्ष्य भेट्ने सम्भावना नभए पनि अघिल्लो वर्षभन्दा ठूलो आकारको बजेट बनाउने मनोविज्ञानले काम गरिरहेको छ ।

पोहोरकै साढे १८ खर्बको बजेट खर्च गर्न नसकेको अवस्थामा छ । १५–१६ खर्बको हाराहारीमा बजेट खर्च हुने स्थितिमा झन्डै २० खर्बको बजेट बनाइराखेका छौं । खर्च गर्ने क्षमता नभएको बुझेरै पनि बजेटको आकार बढाइएको छ । बजेटमा वास्तविकतामा आधारित नहुँदा वित्तीय अनुशासनहीनताको जन्म हुन्छ ।

विगतमा कांग्रेस सरकारले ल्याएको बजेटको विशेषता

विगतमा कांग्रेसले ल्याएको बजेटको जस लिन पार्टीले सकिरहेको छैन । २००८ सालमा सुवर्णशमशेरले प्रस्तुत गरेको बजेटमा एउटा बजेटरी कोषको व्यवस्था थियो । पछिल्लो समय छुट्याएको बजेटबाट खर्च पुगेन भने रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति मौलाएको छ । कुल बजेटको १२ प्रतिशतभन्दा बढी रकमान्तर गरेर एउटा शीर्षकबाट अर्को शीर्षकमा सारेर खर्च गर्ने प्रवृत्ति बढेर गएको छ । यसले अनुशासनहीनतालाई बढाउँछ ।

त्यो गर्नुभन्दा २००८ सालको बजेटमा गरिएको जस्तै बजेटरी कोषको व्यवस्था गर्ने र नपुगेको खर्च त्यहाँबाट पूर्ति गर्ने विधि उचित हुन्थ्यो ।२०४८ सालमा जब आर्थिक उदारीकरण शुरू भयो; कांग्रेसको सरकारले बृहत्तर क्षेत्रमा औद्योगिक नीति लियो । श्रम नीतिहरू आए, श्रम बजारमा धेरै सुधारहरू गरियो ।

हाम्रो मुद्रा ‘कन्भर्टिबिलिटी’मा लगियो । त्यसपछि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन आयो । त्यसको जगमा नै अहिलेको आर्थिक गतिविधिहरू चलिरहेका छन् । अब दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रमहरू अगाडि लिएर जानुपर्छ ।

पोहोरकै बजेट साढे १८ खर्बको बजेट खर्च गर्न नसकेको अवस्थामा छ । १५–१६ खर्बको हाराहारीमा बजेट खर्च हुने स्थितिमा झन्डै २० खर्बको बजेट बनाइराखेका छौं । खर्च गर्ने क्षमता नभएको बुझेरै पनि बजेटको आकार बढाइएको छ । बजेटमा वास्तविकतामा आधारित नहुँदा वित्तीय अनुशासनहीनताको जन्म गराउँछ ।

विकास बजेटको ७० प्रतिशत गाउँमा जाने परिपाटी महेश आचार्यले बजेट वक्तव्यबाट शुरू भएको हो । त्यसका नामहरू परिवर्तन भए, आफ्नो गाउँ आफंै बनाऊँ कार्यक्रम आए । गाउँमा जाने साधन र स्रोत कटौती भएनन् ।

नामहरू परिवर्तन भएर बजेट ग्रामीण क्षेत्रमा जान्थ्यो, त्यो कायमै रहेको छ । त्यसको क्रेडिट कांग्रेसको सरकारलाई जान्छ । ग्रामीण विद्युतीकरण, खानेपानी र कृषि सडकको स्तरोन्नतिसँग जोडिन्थ्यो । ग्रामीण अर्थतन्त्रको विकासमा साना र घरेलु उद्योग, ग्रामीण विद्युतीकरण, खानेपानी र कृषि सडकलाई एउटा प्याकेज प्रोग्रामको रूपमा विकास बजेटहरू जानुपर्छ ।

कृषि क्षेत्रमा अनेकौं झन्झटिला प्रावधान छन् । डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा कृषि अनुदानलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने नीति लिइएको थियो । अहिले त्यो हराएको छ । यसलाई अघि बढाउँदै जानुपर्दछ । विभिन्न प्रकारका कृषि अनुदानहरूलाई एकत्रित गर्ने र त्यसलाई उत्पादनसँग जोडिने कुराको सुरुवात हुनुपर्छ ।

कर नीतिहरू परिवर्तन गर्नुपर्दछ

हाम्रा कर नीतिमा सुधार गर्नु जरूरी छ । केही करहरूको सन्दर्भमा केही निश्चित किसिमका सुधारहरू तत्काल गरिरहनुपर्ने स्थिति छ । आयकरका विवाद छन् । जस्तो सेयर कारोबारमा कर कसरी लगाउने ?

सेयर लगानीबाट सरकारले कसरी राजस्व लिने तय गर्नुपर्छ । सरकारले सेयर बजारमा नाफामा कर लिइरहेको छ, तर घाटालाई समायोजन गर्न नपाउने स्थिति छ । त्यो अन्त्य भएर समग्रमा कर लिनुपर्छ ।

आयकरको सामान्य स्ल्याबहरू छन्, त्यसैको आधारमा पूँजीबजारबाट कर संकलन गर्नुपर्छ । बोनस सेयरको आम्दानीमा पनि त्यही समस्या छ । लाभांशमा कम्पनीले कर तिरिसकेको हुन्छ, पछि फेरि व्यक्तिले कर तिर्दा दोहोरो कर लागेको छ । यसलाई कसरी अन्तर्राष्ट्रिय असल अभ्यासहरू के छन्, यसको रिभ्यु गर्नुपर्छ ।

स्वास्थ्य र वातावरणलाई हानि पुर्‍याउने गतिविधिलाई मात्रै अन्तःशुल्कको दायरामा राख्नुपर्छ । अन्यबाट अन्तःशुल्क हटाउँदै लैजानुपर्छ । जहाँ कर संकलन हुने सम्भावना छ, हामीले त्यहाँ अन्तःशुल्क पनि लगाएका छौं । तर, अन्तःशुल्कको सिद्धान्त अनुसार जथाभावी अन्तःशुल्क लगाउन मिल्दैन । मूल्य अभिवृद्धि कर लगाउन नसकिनेलाई पनि अन्तःशुल्क लगाउन सकिन्छ ।

हामीले विश्व व्यापार संगठनको सदस्यता लिइसकेका छौं । साफ्टा, बिमस्टेकको सदस्यता लिइसकेपछि करका दरहरू बिस्तारै घटाउँदै लैजानुपर्ने बाध्यता छ । त्यसले गर्दा भन्सार करबाट राजस्व बढाउने भन्ने उद्देश्य राख्ने होइन । त्यसलाई सरलीकरण गर्ने हो, चुहावटलाई रोक्ने हो ।

हार्मोनाइज्ड कोड उल्लेख नगर्ने, वस्तुको परिणाम फरक पार्ने, वस्तुको गुणस्तर फरक पारेर न्यून बिजकीकरण गर्ने, यस्ता कामहरूलाई कन्ट्रोल गर्नुपर्छ । भन्सारको दर बढी भएका कारणले न्यून बिजकीकरण, बिलिङ नै कम गरेकाले त्यस्तो दर घटाउनुपर्छ ।

भन्सारमा कर कटौती गर्ने होइन, लिने हो । करको दायरा भित्र ल्याउने हो । विलासिता शुल्क लिनुभन्दा सबैलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउनुपर्छ । अहिले सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । त्यसलाई मूल्य अभिवृद्धि करभित्रै राखिदिएको भए कुनै आन्दोलन गर्नुपर्ने बाध्यता थिएन । सबैलाई कर लागेको छ, तपाईंहरूको व्यवसाय पनि करमा आउनुपर्छ भनेको भए हुनेथियो ।

स्वास्थ्य र वातावरणलाई हानि पुर्‍याउने गतिविधिलाई मात्रै अन्तःशुल्कको दायरामा राख्नुपर्छ । अन्यबाट अन्तःशुल्क हटाउँदै लैजानुपर्छ ।

करको दायरामा ल्याउन नसकेका साना व्यवसायी, जसको एकाउन्टिङको सिस्टम पनि छैन, सरकारले त्यसको लागि धेरै ठूलो प्रशासनिक समय, झमेलाहरू खर्च गर्न सक्दैन, तिनलाई भ्याटको दायरा बाहिरै व्यवसाय गर्न दिने हो । त्यस हिसाबले गर्दा न्यूनतम थ्रेसहोल्डमा कर नलिने र त्यसमाथि लिने गरिएको हो ।

मूल्य अभिवृद्धि करलाई दुई तहमा लगाउनुपर्ने व्यवसायीको माग छ । त्यसमा सरकारले चासो दिएको छ, सुरुआत भएको भने छैन । यसमा केही कामहरू गर्नु आवश्यक छ । शून्य दर लागेका व्यापारलाई कर फिर्ता र अनुदानको व्यवस्था गर्नुपर्छ । अन्तःशुल्कमा पनि त्यो सन्दर्भ लागू हुन्छ ।

जलवायु वित्तमा पहुँच बढाउन सकेका छैनौं । पहुँच बढाएर हरित जलवायु वित्त कोषबाट सहायता लिनुपर्छ । जलवायु परिवर्तनको जोखिम बेहोर्ने मुलुकमा नेपाल नवौं ठूलो राष्ट्र हो । त्यसकारण हरित जलवायु वित्तबाट सहयोगमा पनि हाम्रो अधिकार छ । तर, हाम्रो लिन सक्ने क्षमता छैन । त्यो अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय विभाग र त्यस अन्तर्गत जलवायु वित्त विभागको क्षमता अभिवृद्धि गर्नुपर्ने र पहुँच बढाउनुपर्ने स्थिति छ ।

(नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक आचार्यले राखेको विचारमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?