
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा चार सांसद पाहुना थिए।
- शोमा कलाकारहरूले वर्तमान राजनीतिलाई ब्यंग्य र कटाक्षमार्फत व्यंग्य गरे।
- सामाजिक र राजनीतिक विषयहरूमा गरिएको प्रस्तुति दर्शकलाई सोच्न बाध्य बनायो।
काठमाडौं । पाहुना बनेर स्टेजमा देखिए राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसद- सुमना श्रेष्ठ, असिम शाह, निशा डाँगी र तोसिमा कार्की । ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा यी सांसदमाथि कटाक्ष मात्र भएन, उनीहरूको हाँसो थामिएन ।
विशाल भण्डारी निर्देशित टिभी शोको पछिल्लो संस्करणमा यी चार सांसद पाहुना बनेर पुगेका थिए । शोका कलाकारले चारै सांसद, रास्वपा र वर्तमान राजनीतिलाई ब्यंग्यमार्फत निशाना साँधे ।
एपिसोड सुरुवात कमेडियन पवन भट्टराईको प्रस्तुतिबाट सुरु भयो । उनी पत्रकार प्रकाश सुवेदीको शैलीमा ‘चुल्ठे अङ्कल’ बनेर आए । ‘प्रश्नभरि, जवाफ हावादारी’ कार्यक्रममार्फत उनले पत्रकारितामा देखिने अति नाटकीयता र अतिरञ्जनालाई कटाक्ष गरे ।
सुवेदीको जस्तो बोली र हाउभाउमा उनले अतिथिलाई ‘रोस्ट’ गरे । उनीसँगै पाहुना बनेर कैलाश कार्कीले रास्वपा सांसद हरि ढकालको हाउभाउमा ‘खरि ढकाल’को भूमिका निर्वाह गरे ।
भरतमणी पौड्यालले ‘जादुराम भट्टराई’ बनेर बाबुराम भट्टराईको क्यारिकेचर गरे र सुमन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कल गर्दै ‘ह्याप्पी ओली’को भूमिकामा प्रस्तुति दिए ।
उनीहरुले निर्वाह गरेको पात्रदेखि भएका रोचक अन्तर्संवादले वर्तमान राजनीतिक परिदृश्यलाई उछितो काढे । त्यसपछि स्टेजमा देखिए सजन श्रेष्ठ र प्रभात लामा, क्रमशः वकिल र पूर्वमन्त्री अफ्ताव आलमको क्यारिकेचर ‘हप्ताफ आलम’को भूमिकामा ।
यी पात्रमार्फत कलाकारले कानूनी शासन, भ्रष्टाचार र सत्तासँगको गहिरो सम्बन्धलाई ब्यंग्य गरे । त्यसपछि देखिए सुमन कोइराला, जसले परिचित ‘शमशेरसिंह चौलागाईं’को भूमिकामा पेश गरे । उनी आफ्नो सहयोगी ‘मुसारे’सँग स्टेजमा देखिए, दर्शकबीच हाँसोको लहर चल्यो ।
महिलाको अधिकार, सामाजिक असमानता र स्वतन्त्रताको विषयमा गरिएको उनको प्रस्तुति रोचक मात्र होइन, सोच्न बाध्य बनाउने खालको थियो । अन्त्यतिर आए सन्तोष थापा ‘म झोले हुँ’ भन्दै । उनको भूमिकाले समाजका सरल मान्छेको कथा सुनायो, जसमा हाँसोसँगै पीडा पनि मिसिएको थियो ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रत्येक मंगलबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4