
खासमा के हो अमेरिकी सपना ? जसले रुकुम हल्लिरहेको थियो ! अलिकति अमेरिकी सपनामा डुबौं ।
भारत हिंडेका कोलम्बस अमेरिका पुगे । कोलम्बस पछ्याउँदै बेलायतपछि युरोपका मानिस अमेरिका ओइरिए । तिनले जंगल फाँडे । बस्ती बसाए । इन्डिया पुगें भनेर नाम दिएका रेड इन्डियन (अमेरिकी आदिवासी)लाई पाखा पारे । युरोपमा कजाउन ल्याउने अफ्रिकाका कालालाई अमेरिका लगे । तिनलाई खेतीपातीमा जोते । मनग्य उब्जियो । नयाँ–नयाँ प्रविधि पनि आए ।
आफ्ना भगवान जिससले रोजेको अर्को इजरायल बनाउन तिनले ‘अमेरिकी सपना’ देखे । बीसौं सदीतिर पुग्दा अमेरिकी सपनाको अनुहार फेरियो । फास्ट कम फास्ट गो बाँच्ने मटेरिलिज्मवाला अमेरिकी सपना भयो । कारण थियो, जसरी पनि कमाउने भनेपछि धार्मिक मान्यता खण्डित भयो । धर्म, संस्कृतिका नियम माने त कसरी कमाउनु ? नठगी कमाइ कसरी हुनु ?
भन्न त भनिएको थियो, थोमस जेफर्सनकृत मानिसका आधारभूत तीन अधिकार लाइफ, लिबर्टी र द पस्र्युट अफ हाप्पिनेस (काँल जोल्सन, द अमेरिकी सपना, २०१६ः२५०) अमेरिकी सपना । पूँजीले पेलेपछि पूँजीवादी अर्थ व्यवस्थाको चरम रूप नै अमेरिकी सपना भएर प्रकट भयो ।
जो एफ. स्कट फिट्ज्यारोल्डको द ग्रेट ग्याट्स्बी उपन्यास, अथर मिलाको डेथ अफ अ सेल्सम्यान नाटकहरूमा झल्किन्छन् । नेपाल आइपुगेको अमेरिकी सपना ठाउँको ठाउँ डलर कमाउने, खुसी हुने, धनी हुने र मस्त जिन्दगी जिउने थियो । रुकुम पुग्दा अमेरिकी सपना ‘तु.का तु.’ पैसा कमाउने र रातारात धनी हुनेथियो । मोज गर्ने थियो । विलासी जीवन व्यतीत गर्ने थियो ।
एफ. स्कट फिट्ज्यारोल्डको द ग्रेट ग्याट्स्बी मा डेजीले ग्याट्स्बीलाई पैसा नभएकाले प्रेम गर्न छाड्छे । ग्याट्स्बी अवैध रक्सी धन्दा गर्दै रातारात धनी बन्छ । आलिसान घर बनाउँछ । डेजीलाई आकर्षण गर्न पार्टी गर्छ । तामझाम गर्छ । पैसा र पावर सब भएको नेपालका राजा र राणा जस्तो परिवारकी डेजी पैसा देखेर ग्याट्स्बीतिर लहसिन्छे । डेजीपति मेकानिकलको पत्नीसँग लागेको हुन्छ । डेजी ग्याट्स्बीको कारमा गइरहेको बेला मेकानिकल पत्नीलाई देख्छन् । हात हल्लाउन खोज्दा कारले किच्छ । किच्ने डेजी आफ्ना पतितिर गएर सुरक्षित हुन्छे । कार खोज्दै जाँदा त गेट्स्बीको कम्पाउण्डमा भेटिन्छ । ग्याट्स्बी अमेरिकन डिमको सिकार हुन्छ ।
त्यसैगरी, अथर मिलाको डेथ अफ अ सेल्सम्यानमा सेल्सम्यान विलियम छोरालाई राम्रो शिक्षा–दीक्षा दिन सक्तैन । छोराले पनि कमाउनेवाला छैनन् । आफू त सेल्सम्यान न थियो । बीमा सकिन लागेको बेला आफैंले कार दुर्घटना गराएर मर्छ । अर्थात्, पैसाको लागि आत्महत्या गर्छ । अमेरिकी सपनाकै सिकार बन्छ ।
नेपालका तल्लो बाटोवाल अमेरिकी सपना पनि त्यही थियो । रातारात धनी हुने । भौतिक सुखसुविधा प्राप्तिको थियो । जसको लागि जीवनमरणको बाटो रोजेर तल्लो बाटोबाट अमेरिका गएका थिए । जाँदैथिए ।

‘नेपाली त लाहुरे संस्कृतिबाट गुज्रिए । अमेरिकी सपनालाई पनि नेपाली सन्दर्भमा लाहुरे संस्कृतिकै परिवर्तित रूपमा बुझ्दा पनि हुन्छ होला’ कोर्समा राखिएका अमेरिकी सपनावाल नाटक, उपन्यास र कथा पनि पढाउने त्रिवि अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापनरत डा. बलबहादुर थापामगरले भने ।
‘भर्खरै रुकुमकोटबाट फर्किएँ । पुरुष थिएनन् । महिला मात्र छन् । तिनले आफ्ना श्रीमान् र छोराछोरी अमेरिका गएको सुनाए । सिस्ने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग कुरा गरें । अमेरिका पठाउने त ठूल्ठूला राजनीतिक मानिसको संलग्नता छ भने । भित्री कुरा बुझेपछि दिमाग सड्किन्छ’ प्राध्यापक तथा लेखक डा. तारालाल श्रेष्ठले रुकुम सम्झना सुनाए, ‘चालीस लाखदेखि एक करोड खर्चेका छन् । कोही पुगेर तीन वर्षमा ऋण तिरी घर पनि ठ्डयाएको छ रे ! त्यसलाई उपलब्धि मानेपछि के मेसेज दियो भने, मटेरियल गेन नै सबै गेन हो ।’
मौलाउनुका ६ कारण
रुकुममै अमेरिकी सपना मौलाउनुका कारण छन् ।
एक, अमेरिका पठाउने मूल मानिस नै रुकुमका थिए । हस्तबहादुर गौतम (केसी)को बारेमा माथि चर्चा भइसकेको छ । नाठिगार अहिले सिस्ने गाउँपालिका वडा नं. ७ मा पर्छ । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार केसीकै ठाउँबाट चार–पाँच जना मानिस अमेरिका पठाउन निक्लिए, अहिलेका रुकुम (पूर्व) ख सांसद धनबहादुर केसीसम्म छन् ।
तिनका नाठिगारको सम्बन्धका कारण बाफिकोट, सानीभेरी, आठबिसकोट सर्दै गयो । अमेरिका लैजाने मानिस नै स्थानीय भएपछि धेरै जना गए ।
दुई, अमेरिका गएका ६ जनाले घर बनाए । अध्यक्ष रेग्मी भन्छन्, ‘ओहो, प्रगति हुने रहेछ भनेर बाँकी झिंगा डुब्या जस्तो डुबे ।
तीन, रोजीरोटीको लागि कालापार (भारत) जाने चलन पहिलेदेखि नै थियो । त्यो तन्केर अमेरिका पुग्यो । जीउ पाल्न पनि अमेरिका रोज्ने बढे ।
चार, नाताले नाता तानिंदै गए । उतै ढुकुटी खेले । १०, १२ जनाले एकचोटिमा एक जनालाई पैसा दिंदै ताने ।
पाँच, पैसा कमाउने छोटो बाटो अमेरिकामा देखे ।
शिक्षक बस्नेतले भने, ‘मेरो दाजुहरूका छोरा तीन भाइ समेत गए । दुई भाइ उतै छन् । १२ पढ्दापढ्दै गए । शिक्षक पनि गए । नायगाडमा उच्च माविको दरबन्दीमा थिए । यहीं जागिर छ, झिजो नगर भनें । अर्काको देशमा बन्द गरेपछि आउनुपर्छ, पेशा गर्ने भनें । के भने, थाहा छ ? बीसौं वर्ष जागिर गरी केही भएन । लाख हुन्छ रे ! किन बस्ने यहाँ ? देश हेर्न पनि छ । परिवार लैजान सकिन्छ, घुम्न सकिन्छ । आम्दानी छ । दश वर्ष काम गरे जिन्दगीभर केही गर्न पर्दैन । आखिर पैसा त रहेछ । पछि बड्डा(बूढो) भया बेला हिंडेर जंगल काट्न सकिन्न । जति कम उमेरको गयो उति नै पीआर पाइने सम्भावना हुन्छ । सकेजति कम उमेरमै अमेरिका जाने हो ।’
छ, पठाउने माध्यम पनि सहज बनाए । त्यसको लागि सुरुमा १०, १५ लाख जम्मा गर्छन् । त्यसपछि अमेरिका गएकाले नै ऋण दिन्छन्, तीन महिने ब्याजमा । सञ्जालै सञ्जालमा तिनले पैसा हाल्दै जान्छन् । त्यसो भएपछि तत्काल पैसा घरबाट नै एक करोड निकाल्न परेन ।
कसलाई उडायो अमेरिकी सपनाले ?
शिक्षकका छोराछोरी
शिक्षक आन्दोलनको क्रममा भेटिएका तीन शिक्षकका छोराछोरी मात्र होइनन्, पूर्व र पश्चिम दुवै रुकुमबाट तल्लोबाटो हुँदै अमेरिका जाने ठूलो संख्या शिक्षकका छोराछोरीको छ । कति शिक्षक आफैं पनि गएका छन् । त्यसमा स्थायी शिक्षक पनि (शिक्षकहरू मुसीकोटका टेकबहादुर खत्री, रुकुमकोटका मानबहादुर बस्नेत, सिम्ली (सानीभेरी गाउँपालिका केन्द्र) का शशिराम बिक र बाफीकोटका शेरवीर दाहालसँगको कुराकानी) छन् ।
प्रहरी, सेना सहित केही निजामती कर्मचारी पनि अमेरिका गएका छन् । आफ्ना छोराछोरी अमेरिका नगएका शिक्षक त अपवाद । छोराछोरी अमेरिका नगएका एक शिक्षक थिए, रुकुमकोटका मानबहादुर बस्नेत । उनले सुनाए, ‘आज हामी शिक्षक आन्दोलनमा सहभागी भएर नयाँ बसपार्कको होटलमा फर्कने बेला प्वाङका एक जना सरले पहिले बिहे गरेर बर्बाद भएँ भन्नुभयो । छोरा अमेरिका गएर फर्क्यो, ५५ लाख ऋण लागेको छ भन्दै गनगन गर्नुभयो । उहाँको तर्क थियो– बिहे नगरेको भए त छोरो अमेरिका जाने थिएन, अमेरिका गएर नफर्केको भए ऋण लाग्ने थिएन । हुन पनि हो, छोराछोरी अमेरिका नगएका शिक्षक त हामी मात्र रहेछौं । ढिलो बिहे गरेकाले हाम्रा छोराछोरी अमेरिका जाने उमेर नै नभएर हो । समयमै बिहे गरेका सरहरूका छोराछोरी अमेरिका गइसके ।’
शिक्षक र शिक्षकका छोराछोरी नै अमेरिका जानुका कारण छन् ।
एक, गाउँघरमा (अलिअलि सही) पैसा हुने र बोली बिक्ने शिक्षक नै हुन् । गाउँघरमा अमेरिका पठाउन सक्ने (ऋण गरेर भए पनि) हैसियत शिक्षकमै थियो ।
दुई, गाउँघरमा नेतृत्व गर्ने पनि शिक्षक न थिए । कुनै नयाँ चिज गाउँघरमा पस्दा ठोक्किन जाने शिक्षक र शिक्षक परिवारमा हो । अमेरिकी सपनाले तिनै शिक्षक र तिनका छोराछोरीलाई प्रभावित पार्यो ।
दलका नेता र जनप्रतिनिधिका छोराछोरी
अमेरिका जाने ठूलो संख्या नेता र जनप्रतिनिधिका छोराछोरीको पनि छ । मूलधारे भनिने कांग्रेस, एमाले र माओवादी नेता र ती दलबाट जितेका जनप्रतिनिधिका छोराछोरी अमेरिका पुगेका छन् ।
बाफीकोट गाउँपालिका निवर्तमान अध्यक्ष धर्मबहादुर केसीपुत्री, हालका र निवर्तमान वडाध्यक्षद्वय क्रमशः तिलवीर केसी र चन्द्रबहादुर केसीका छोरा पनि अमेरिका पुगे (बाफीकोटका शिक्षक शेरवीर दाहालसँगको कुराकानी) । ती माओवादीबाट जितेका जनप्रतिनिधि थिए । पूर्व जनमुक्ति सेनाका लडाकु पनि अमेरिका गए । रुकुम पाँगाकी नेपाली कांग्रेसबाट वडाध्यक्ष प्रत्यासी पनि अमेरिका गइन् । जो शिक्षक पत्नी थिइन् । अमेरिका जाने पूर्व ब्रिटिश र भारतीय लाहुरेका छोराछोरी संख्या पनि ठूलो थियो ।
किन ठूलो संख्यामा शिक्षक र शिक्षकका छोराछोरी, राजनीतिक दलका नेता र जनप्रतिनिधिका छोराछोरी अमेरिका गए त ? दाहाल भन्दैथिए, ‘सचेत परिवारको बढी गएका छन् । त्यसपछि तिनका नातेदार, मन मिल्नेका छोराछोरी गएका छन् । माओवादी, कांग्रेसका नेता गएर अमेरिकामा समिति नै खोल्ने भन्दैछन् ।’
अमेरिका जाने क्षेत्री धेरै
अमेरिका जाने सबभन्दा धेरै क्षेत्री समुदायका छन् । रुकुम (पूर्व)का सिस्ने होस् कि, रुकुम (पश्चिम)का मुसिकोट नगरपालिका, बाफीकोट गाउँपालिका र सानीभेरी गाउँपालिका होउन्, सबभन्दा धेरै क्षेत्री गए ।
शिक्षक मानबहादुरका अनुसार नाठिगार, पाँगा, पोखरा सबै ठाउँबाट गएका नब्बे प्रतिशत नै क्षेत्री थिए । ‘क्षेत्रीको क्षेत्रीसँग नाता र लेनदेन हुने भयो । त्यसैले क्षेत्री नै जान सुरु गरेपछि क्षेत्री संख्या बढ्यो । आफन्तको कारण हो । मामाले भान्जालाई, भाइलाई दाइलाई सहयोग गरे’ मुसिकोटे शिक्षक टेकबहादुर खत्रीले सुनाए ।
‘आलाका बाहुन पनि कालापार गया थिएनन् । आला र बाहुनथानाका ठकुरी पनि कालापार गया थिएनन् । किन गएनन् ? एउटा कारण त आफू कमजोर नदेखाउने तिनका चरित्रका कारण पनि थियो ।
क्षेत्रीले अलिअलि भए पनि केही छैन भन्ने, जे काम पनि गर्ने चरित्र हो । अर्को कारण, राजा रजौटा भएकाले ठकुरी जमिन पनि राम्रा थिए । बाहुन पनि बाठो जात भयो’, शिक्षक बस्नेतले भने । सानीभेरीबाट पनि क्षेत्री नै सबभन्दा बढी गएका थिए ।
शिक्षक शशिराम बिकले भने, ‘जनसंख्याको अनुपात जस्तै सानीभेरीबाट क्षेत्रीपछि आदिवासी जनजाति र तेस्रो नम्बरमा दलित गएका छन् । बाहुन त नगन्य । दलितमा पनि तल्लो भनिने दमाई गएकै छैनन्, कामी मात्र गएका छन् । कामी १० जनाजति गएका होलान् ।’
अमेरिका पठाउने हस्तबहादुर केसी (गौतम)
सबभन्दा पहिले मानिसलाई तल्लोबाटोबाट अमेरिका पठाउने पनि क्षेत्री नै थिए । अहिले सिस्ने गाउँपालिकामा पर्ने नाठिगारका फरक क्षमताका हस्तबहादुर गौतम (केसी) मानव बेचबिखन मुद्दामा पक्राउ परेका थिए । केसी रुकुम (पूर्व) ख बाट नेपाली कांग्रेसको उम्मेदवार भई चुनिएका लुम्बिनी प्रदेश सांसद धनबहादुर केसीका ठूलाबाका छोरा थिए । बस्नेतका अनुसार उनका जेठा दाजु शिक्षक, माइला सेना र साहिंला विदेशमा थिए । केसी कान्छा थिए ।
रुकुममा अमेरिकी सपना रोप्ने केसीलाई रुकुमकोट टाकुरावासी शिक्षक बस्नेतले सम्झिए, ‘रुकुमकोट स्कूल जाने बेला पनि हस्त फालहाली जान्थे । दुवै गोडा कमजोर भनम् न । त्यस्ता मानिस पनि केराको बोटमा चढ्थे । हामी अचम्म मानेर हेर्थ्यौं ।’
बस्नेतका अनुसार एकदिन केसीलाई उनका बाले दाङ लगे । काठमाडौंसँग जोडिए । अपांग संघमा लागे । त्यसपछि के भयो ? देश–विदेश घुमे । युरोप र अमेरिका पुगे । स्मरणीय त के भने, केसी माओवादी युद्ध चर्किरहेको बेला अमेरिका पुगे । माओवादीपीडित भने ।
पाराओलम्पिक खेलको सिलसिलामा पचासको थालनीमै केसी युरोप छिरेका थिए । मेक्सिकोबाट मानिस अमेरिका छिरेको देखे । आफैं त्यही बाटो भएर पुगे भन्ने पनि उनले सुनाए । त्यसपछि एकपछि अर्को गर्दै उनले परिवारका र आफन्त लगे । साठीको दशकको थालनीतिरबाट १० लाख लिएर पठाउन थाले ।
‘मैले विदेश लगें । आज तिनले नाउँ चलाएका छन् । कमाएका छन् । म त्यसै बसेको छु भनेर भन्थे । अमेरिका जाने वातावरण बनाएको मैले हो भन्थे’, केसीसँग सामाजिक सञ्जालमा भएको कुराकानी बस्नेतले सम्झिए । बस्नेतका अनुसार पहिले त केसीले रुकुम बाहिरकालाई अमेरिका पठाएका थिए ।
‘हस्त र सांसद् धनबहादुर केसीको कारणले पनि रुकुमकोट, पाँगा, पोखराका धेरै मानिस अमेरिका गए, त्यसमा क्षेत्री समुदाय धेरै परे’, बस्नेतले भने ।
फैलिंदै अमेरिका ड्रिमको लहरो
अमेरिका जानेमा सबभन्दा बढी साबिकको दुली गाउँ विकास समितिका छन् । अहिले दुलीका तीन वटा वडा बाफिकोट गाउँपालिका र ६ वटा वडा सानीभेरी गाउँपालिकामा छन् । पालिका अनुसार अमेरिका गएको ठूलो संख्या बाफीकोट गाउँपालिकाका हुन् । जो रुकुमपश्चिम सदरमुकाम मुसिकोट नगरपालिकासँग जोडिएको थियो ।
बाफीकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगरले सुनाए, ‘६०० भन्दा बढी अमेरिका पुगे । १५०० जति बाटोमा छन्’ उनका अनुसार अमेरिका जानेक्रममा तीन जना मरे । कति फर्काइए ? पालिकासँग तथ्यांक छैन ।
‘ऋणका कारणले फर्काइएका त आफ्नो गाउँ फर्केनन् । ती कति काठमाडौंमा छन्, कति काठमाडौंबाहिर पनि होलान् । तिनको संख्या हामीसँग छैन’, उनले भने ।
बाफीकोटपछि दोस्रो नम्बरमा रुकुम (पूर्व) सदरमुकाम रहेको सिस्ने गाउँपालिका थियो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी (कमरेड विवश)ले भने, ‘करिब ६०० अमेरिकामा छन् । २०० जति काठमाडौं, कति दुबई, कति दिल्ली त कति मेक्सिकोमा छन् ।’
सिस्ने गाउँपालिकाको वडा नं. ३, ५, ६, ७, ८ वडा सबभन्दा प्रभावित थिए । तेस्रो स्थानमा सानीभेरी गाउँपालिका थियो । शिक्षक शशिराम बिकका अनुसार सानीभेरीबाट २०० हाराहारी संख्यामा अमेरिका पुगिसकेका छन् भने बाटोमा ५०–६० जना छन् ।
पालिका अध्यक्ष र शिक्षकहरूका अनुसार तीन पालिकाबाट जाने महिला र दलितको अनुपात भने फरक–फरक छ । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार सिस्नेबाट जाने महिला संख्या करिब २० प्रतिशत छ । अन्य पालिकाबाट महिला र दलित करिब ५ प्रतिशत छ ।
बिकका अनुसार कति विद्यार्थी भिसामा जापान र त्यहींबाट दलालले अमेरिका पठाएका थिए । शिक्षक बिकले भने, ‘जापानबाट पनि निकारागुवा भएर जाने रहेछन् । मेरो छोरा पनि दुबईबाट निकारागुवा गएको हो । ट्रान्जिट जर्मनी थियो । जापान पढ्न गएका महिला अमेरिका गएका छन् ।’
रुकुम (पूर्व)मा सिस्ने सहित थप भूमे र पुथाउत्तरगंगा गाउँपालिका थिए । रुकुम पश्चिममा बाफीकोट (गाउँपालिका), मुसिकोट (नगरपालिका), स्यानीभेरी (गाउँपालिका) सहित आठबिसकोट (नगरपालिका), त्रिवेणी (गाउँपालिका), चौरजहारी (नगरपालिका) । दुवै रुकुमका सबै पालिकाबाट अमेरिका जानेहरू छन् । स्मरणीय त के भने, तिनका नातागोताका लहरो दाङ, नेपालगञ्ज, सुर्खेत, काठमाडौं फैलिएको थियो । अमेरिका ड्रिमको लहरो रुकुमबाट दाङ, रोल्पा, सल्यान, सुर्खेत पनि पुग्यो ।
एक करोड ऋण नतिरी फर्के के होला ?
अमेरिकामा ट्रम्प राष्ट्रपति भएपछि तिनमा टेन्सन चुलिएको छ । एउटा गाउँबाट गएका १० जना फर्के के होला ? शिक्षकहरू आफैंलाई प्रश्न सोधेर हलाक् भए । पालिका अध्यक्ष र शिक्षकहरूले भने, ‘एउटा गाउँका मानिस १० जना फर्कने हो भने टाट पल्टिन्छ । कम्तीमा १० करोड खर्चेका छन् । जोखिमको स्थिति छ ।’
कति जेलमा थिए, कति बाटामा रोकिएका । कति कालापार गएका थिए । अमेरिका गए त जसरी पनि कमाउँछ भन्ने थियो । मेरो छोरो फर्कियो । मैले कसरी पैसा दिने ? मैले त जीउ पाल्न सक्तैन भन्छन् ।
अध्यक्ष रेग्मीका अनुसार सिस्ने गाउँपालिकाबाट १२/१३ जना फर्काइए । दुई जना अरब गए । एक जना हुलाकमा काम गरिरहेका थिए, अर्को तरकारी बजारमा ।
‘फर्कने घरमा पति–पत्नी बीच झगडा बढ्यो । ऋण कसरी तिर्ने ? ऋण तिर्नुपर्छ भनेर भाग्नु र लुक्नुपर्ने स्थिति आएको छ’, रेग्मीले भने ।
फर्काइएपछि ती मानिस जान नमिल्ने भएपछि परिवारका अन्य सदस्यलाई सट्टा भर्ना गरेका थिए । उनीहरूले भने, ‘फर्केका एक जनाले दलाललाई पैसा फिर्ता मागे । दलालले ‘पैसा फिर्ता हुँदैन, बरु बदलामा भाइ वा बा पठाइदिनू ।’ आफैं जान नपाउने भएपछि सट्टामा अर्को पठाउने भने । तर अमेरिकामा राष्ट्रपति ट्रम्प आएपछि रोकियो । अलि खुला भएपछि एक जना जान्छन् ।’
ट्रम्प आएपछि अमेरिकी सपना ह्विममा ब्रेक लागेको छ । आइतबार पछिल्लोपालि ३७ नेपाली नागरिकलाई ट्रम्प सरकारले अमेरिकाबाट डिपोर्ट गर्यो । जसमा ३२ पुरुष र ५ महिला थिए । अवैधानिक बाटोबाट जाने रुकुम, रोल्पा, प्युठान, दाङ, अर्घाखाँचीका बढी छन् ।
‘अवैधानिक रूपमा कति बसेका छन् ? कति बाटोमा ? त्यसको तथ्यांक हुने कुरा भएन । वैधानिक रूपमा अमेरिकामा बसेका नेपाली अनुमानित चार लाख छ’, कन्सुलर सेवा विभागकी महानिर्देशक द्रुपदा सापकोटाले भनिन् ।
डलर गाउँमा आयो ?
‘एक घर, एक अमेरिकन’ अभियानवाल अमेरिकी सपनाले रुकुम समृद्धिमा सघायो ? यो प्रश्नको उत्तर सहज छैन । ‘यहाँको अर्थतन्त्रमा केही सकारात्मक प्रभाव परेको छैन । दशैं–तिहारमा कालापारेले जसरी २०–२५ हजार पठाउँछन् । त्यसले परिवारका सदस्यले लत्ताकपडा फेर्छन् । त्यही कालापारे चाला छ । कसरी त्यसले अर्थतन्त्रमा फरक पार्ला र ? बरु उल्टो गएको छ । गएको चार–पाँच अर्ब फर्केको छैन । अमेरिका गएका १० प्रतिशतको कमाइ होला, बाँकीको त बेहाल छ’, अध्यक्ष रेग्मीले भने ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार रुकुम (पूर्व) सदरमुकाम रुकुमकोट टाकुरामा तीन वटा घर बने । छिप्रीदहमा सात वटा बने, जहाँबाट २०० जना अमेरिका गएका छन् । रेग्मीले भने, ‘६० लाख देखि १ करोडसम्म रकम बुझाएर गएका छन् । सिस्ने गाउँपालिकाबाट मात्र ६ अर्ब रकम बाहिरिएको छ ।’ उनका अनुसार सिस्ने गाउँपालिकाका तीन–चार जनाले दाङतिर घर–घडेरी जोडेका छन् ।
शशिराम बिकले सुनाए, ‘मेरा एक छिमेकीका छोराले अमेरिकामा ग्रीनकार्ड पाए । पत्नी र दुई बच्चा अमेरिका लगे । अहिले घरमा बड्डाबड्डी मात्र छन् । बड्डाले दूध बेच्न छाडेका छैनन् । ‘छोरो अमेरिकामा छ । दूध बेच्ने हो ? सुख पाउने कहिले हो ?’ यसो भन्दा उनी भन्छन्, ‘एक बोतल दूध बेच्छु । ५० रुपैयाँ हुन्छ । एउटा लिची खाँदा पचास जान्छ । म त दुई वटा खान्छु ।’
शिक्षक बिकका अनुसार सानीभेरीमा ठ्याक्कै घरमा लगानी गरेको दुई जना मात्र छन् । अमेरिका गएको उपलब्धि समाजमा कति छ त ?
‘मेक्सिको पुग्यो भने तिनका जोई छोराछोरी सदरमुकाम जान्छन् । अमेरिका पुगेको केही समयपछि अमेरिका’, शिक्षकहरूले भने । घर रुँग्ने बूढाबूढी आमा–बा मात्र गाउँमा बचेका थिए ।
‘पिपलचौताराका मानिस बजार, बजारका काठमाडौं बस्न थाले’, अमेरिका प्रभाव बारे शिक्षक खत्रीले सुनाए । बिहे गरेर गएकाको पारिवारिक समस्या देखिएको पनि सुनाए ।
‘अमेरिकामा ग्रीनकार्ड पाए, डिभोर्सको कागज हालेर गए । फेसबुकमा के हालेका थिए कुन्नि ? सम्बन्ध बिग्रियो । बच्चाबच्ची भएका उठेर अर्को ठाउँ गए । बिहे गरेर अमेरिका जाँदा ठीक रहेनछ’ खत्रीले नाम सुनाउँदै भने, ‘एक जनाको मात्र देखेको छु, सम्बन्ध राम्रो भएको ।’
ट्रम्प राष्ट्रपति भएपछि अमेरिका पस्ने तल्लोबाटो बन्द छ । कोही गाउँबाट ‘म अमेरिका गएँ’ भनेर हिँडेका छैनन् ।
‘मग्माका मामाभान्जा गएका रहेछन् । जेलबाट निक्लेर लुकेर बसेका थिए रे । म जान्न छोप्पेल्च भनेछन् । अर्काले भनेछन्, कति बस्ने म त जान्छु भनेको त छोपेर नेपाल पठायो रे,’ यसले रुकुम र अमेरिका दुबैतिर झन् त्रास फैलाएको शिक्षक बस्नेतले सुनाए ।
‘अहिले त अस्तव्यस्त भयो । कति दुबईमा छन् । दलाल कता छ ? पैसा फसाए । अब फर्कने पनि बीस/पच्चीस लाख नभई हुन्न रे,’ शिक्षकहरुले भने ।
ट्रम्प आएदेखि अमेरिकाबासी भएका नेपाली छुट्टीमा नेपाल आउन पनि डराएका छन् । ‘आएपछि जान नदिने हो कि भनेर डराएका छन् । रिन तिर्न नसकिने हो भनेर डराएका छन् । वैध भएपछि त उतै कर तिर्नेमा गएको छ,’ अमेरिकन ड्रिमले रुकुम चिलिम भएको शिक्षकहरुले सुनाए, ‘सारमा अमेरिका जाने लहरले विकृति नै बढी छ । छोराछोरीको अमेरिका जाने सुइनाले आमा–बा रिनले न गरीखाने न मरीजाने भए । हैरान छन् । के हुने हो, विधातायौ ?’
आज दुनियाँमा कोही दुखी छन् भने अमेरिका जानेका आमा–बा छन् । त्यति धेरै पैसा हालेर पठाएको छोराछोरी फर्के कसरी रिनको भारी बोक्ने ?
अमेरिकन ड्रिमसामु तथाकथित ठूला राजनीतिक दल र राज्य निरीह छन् । न रोक्ने योजना र चाह छ तिनका, न त तिनले रोकेर रोक्न सक्छन् । रोके ट्रम्पले रोक्लान् । जो आजसम्म ठप्प छ । ट्रम्प आएपछि जो जहाँ छन्, त्यहीँ रोकिएका छन् । पुगेका पनि त्रासमा छन् । फिलहाल ठप्प छ । आगे छोराछोरी अमेरिका पठाएका रुकुमेली शिक्षकले भनेजस्तै विधातालाई थाहा होला ।
प्रतिक्रिया 4