+
+
Shares
अमेरिकन ड्रिममा ट्रम्प फ्याक्टर :

युद्ध सम्झाउने अमेरिकी सपना : पहिले- एक घर एक छापामार, अहिले- एक घर एक अमेरिका

अमेरिकी सपना रुकुमका गाउँ–गाउँमा भुसको आगो जसरी सल्किएको थियो । अमेरिका नगएका घर त समाजमै नपरिने जस्तो भयो ।

नवीन विभास नवीन विभास
२०८२ जेठ २७ गते २१:४५

युद्धकालमा नेकपा (माओवादी)ले अभियान चलाएको थियो, एक घर एक छामामार । माओवादीमय बनाउने माओवादीको त्यो अभियानले गाउँघर भयभित थियो, जसरी अहिले अमेरिकी सपनाले ।

पहिले एक घर एक छापामार खुब घन्कियो । अहिले एक घर एक अमेरिका जस्तै भयो । पूर्व र पश्चिम रुकुमभर अमेरिकी सपनाको हुरी नै चल्यो त्यसैले दलाललाई लाखौं पैसा बुझाएर, ज्यानको बाजी थाप्दै महिनौं लगाएर भए पनि अमेरिका पुग्न सजिलै राजी भए, यहाँका युवा ।

‘लोकसेवामा कति नै अटाउने हो र ? केही गरौं भने पनि ठाउँ छैन । बरु धेरै पैसा तिरेर, जोखिम मोलेर भए पनि अमेरिका गए । कति फर्केर आए, कति मरे । ‘खानु खाइसकेपछि के चराको बिस्टा खानु हात्तीकै खानु’ भन्छन् नि, हो त्यस्तै भयो । हाम्रो रुकुम त एक घर एक अमेरिका भइसक्यो’ रुकुम (पश्चिम)वासी सरकारी अधिकृत देवीलाल बिष्टले सुनाए ।

बिष्टका अनुसार यो अभियान पनि यति भयानक भएर भुसको आगो जसरी सल्किंदैथियो कि, अमेरिका नगएका घर त ‘समाजमै नपरिने’ भयो । अमेरिकी सपना अभियान माओवादीको अभियानभन्दा कम भयानक छ त ?

‘अमेरिका पागलपन हो’ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी भन्छन्, ‘युद्धको बेलामा आमा–बा, प्रेमि–प्रेमिका, श्रीमती, छोराछोरी, घरबार छाडेर जसरी हामी लागेका थियौं, अमेरिका जान त्यस्तै पागलपन छ अहिले । अमेरिका जान पढ्न पनि परेन, मिहिनेत गर्न पनि परेन । अमेरिका जाने ह्वीमबाट युवालाई मुक्त गर्न हामीले एक–डेढ लाख दिएर हुने सम्भावना छैन । सरकारसँग धेरै दिने हैसियत पनि छैन ।’

माओवादी बारीमा मौलाएको अमेरिकी सपना

पश्चिम नेपालमा खानी बन्द भए । खयर काट्न र कालापार जाने संख्या चौगुनियो । पूर्वी नेपालबाट मुग्लान जाने त जारी थियो । मुगलको मुग्लानबाहेक मेघालयमा कोइला खन्न पनि गए । भुटानमा सुन्तला बोक्न पनि गए । बर्मा र आसाममा वस्तुभाउ पाल्न गए । राणाका पालामा सिंगो नेपालबाट गोर्खा भर्तीको नाउँमा भाडाका सिपाहीको चलन चल्यो । जो संस्कृति भएर आज पनि जारी छ ।

कालापार, गोर्खा भर्ती चलन चुलिएको रापतीका रोल्पा र रुकुमले नयाँ जनवादको सपना सजायो । माओवादी सपना मौलायो । माओवादी आधार इलाका बन्यो । माओवादी सपना सजाएको भेगमा माओवादीले भाष्य बनायो, अमेरिका साम्राज्यवादी हो । साम्राज्यवादी मात्र होइन, साम्राज्यवादीको नाइके हो । अमेरिकालाई गरिखाने वर्गको दुश्मन करार गर्‍यो । माओवादीले यस्तो भाष्य बनायो, ‘अमेरिका उच्चारण गरे पनि सुनपानी छर्कनुपर्छ ।’

रोल्पा रुकुमेली न्याय, समानता र सुन्दर जीवनको परिकल्पना र सपनाले तान्दै युद्धमा लाम लागे । तिनले आँखामा जनवादको सपना उने । तिनले मनमा नौलो जनवादको सपना सजाएर हिंडे । त्यसैले कुनै दिन सपना पूरा होला भनेर शहीद हुन गर्व गरे । घाइते हुनु क्रान्तिको लागि हो भने ।

पति गुमाउँदा, पत्नी गुमाउँदा, आमा गुमाउँदा, बा गुमाउँदा, सन्तान गुमाउँदा पनि तिनले सपना फुलाउन गरेको बलिदान ठाने । तिनै सपनाले तान्दै युद्धमा मर्न र मार्न, बलिदान गर्न हौसिए । जनवादको सपनाले समर्पणको सारथि बने ।

युद्ध सम्झौतामा सकियो । माओवादी पनि सरकारमा सामेलियो । युद्धका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले तीनपालि सरकारको नेतृत्व गरे । बाबुराम भट्टराईले एकपालि ।

युद्धले यति धेरै सपना सजाएको थियो कि, मानिसको दर्जा नपाएका महिला, गरिब र दलित युद्धमा सामेल भएका थिए । युद्धमा दबिएका सबै आकांक्षा पलाएका थिए । दबिएकाले परिवर्तनको ठूलो चाह राखेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली ।

आकांक्षा र सपनाका पेन्डुरा बक्स खुल्यो । एकैपालि सरकार र परिवर्तनबाट कति सम्भावना थियो ? यो बहस भइरहला । माओवादी नेतृत्वले ‘हामीले भने जस्तो सत्ता पाएको पनि होइन’ भनेर पन्छिन खोज्ला । तर चारपालि सरकार नेतृत्व गर्दा पनि माओवादी आफैंले कुनै बेला देखाएका सपना पूरा गर्ने त पल्लोढिकै थियो, झलक्क एक झलक पनि हेरेन ।

फलस्वरुप माओवादी सपनाका साना सुर्का सुके । बारी बाँझा भए । सर्वसाधारणले सजाएको नयाँ जीवनको सपना भत्किए । माओवादी सपना सकिए । सपना भत्के के हुन्छ ? के यो सुकेर जान्छ ? कवि ल्याङ्ग्टान ह्युजको हार्लेम कविताले भने जस्तो कि यो विस्फोट हुन्छ ?

माओवादी बारीमा कुनै बेला माओवादीले साम्राज्यवादीको नाइके करार गरेको अमेरिका जाने अमेरिकी सपना मौलायो । माओवादीले नकारात्मक भाष्य बनाएको अमेरिका र अमेरिकी सपना मौलायो । माओवादी थलोमै अमेरिकन सपना मौलायो । माओवादी सपना सुर्कोमा अमेरिकी सपना हल्कियो ।

माओवादी सपना सुर्कोमा यसरी मौलायो कि, जसरी त माओवादी कालमा माओवादी झार नै मौलाएको थिएन । रोल्पा–रुकुमतिर वनमारालाई माओवादी झार नाम दिएका थिए । माओवादी सपना मौलाएको माओवादी आधार इलाका रुकुममा अमेरिकी सपना मौलायो ।

कसरी यस्तो भयो ? रोचक र सोचनीय छैन त ? जति सोचनीय सम्झे पनि यसको सहज उत्तर छ । त्यो हो, माओवादीले देखाएका इच्छा, सपना र आकांक्षाले बाटो खोजे । त्यही चरणमा अवैध रूपमा अमेरिका जान रुकुम अघि लाग्यो । बाटो बन्यो, अमेरिकी सपना । जो युद्धको सपनाजत्तिकै जोखिम थियो ।

माओवादी युद्धको सपना जनवाद, समानता, नयाँ जीवन थियो । अमेरिकी सपना पैसाको थियो । पैसाले किन्ने सुख र समृद्धि थियो । नेपालीले कहिल्यै गर्न नपाएको आर्थिक समृद्धिको परिकल्पना थियो ।

बस्, नेपाली सर्वसाधारणले पनि बुझेको अमेरिकी सपना भनेको पैसा कमाउने ठाउँ हो । दुई नम्बरी गरेर भए पनि पैसा कमाउने । अमेरिकन सपना देखेपछि आर्थिक रूपले बलियो हुने । सम्पूर्ण कुरा आर्थिक रूपमा हेरे । समाजवादी, साम्यवादी खालको एउटा इथिकल लाइफ, जस्टिस लाइफभन्दा पनि जे गरेर पनि पैसा कमाउ भनेर अमेरिकी सपना भनेर जनताले बुझे । जस्तोः एनिहाउ पैसा कमाउ ।

सफलता केमा छ, पैसा कमाउनमा । सबभन्दा ठूलो राजनीतिज्ञ को छ ? जोसँग पैसा छ । जग्गा दलाली गरेर भए पनि ठूलो धनराशि जम्मा गरेको छ । त्यो पछिल्लोचोटि अमेरिकी सपना परिणत भयो । अमेरिकी सपना भनेको क्यापिटलिस्टिक ड्रिम हो । यो ड्रिमले कहीं पनि मानिसलाई आनन्दले बस्न दिएको छैन । यति ठूलो भोक छ, त्योभित्र भन्ने कुरा प्रत्येक अमेरिकी सपनावाल माथि उल्लेख गरेका उपन्यास र नाटकले पनि भन्थे ।

माओवादीले समाजवादी सपना देखाएको थियो । साम्यवादी सपना देखाएको थियो । त्यसको ठीक विपरीत अहिले युद्धको नेतृत्व गरेको सुप्रिमोदेखि उनका पछि लागेका त्यही अमेरिकी सपनाकै पछि दौडिए ।

फरक यत्ति थियो, सर्वसाधारण अमेरिका गएर कमाउने बाटो खोजे, ठूला नेताले यही नेपालमै दुई नम्बरी गरेर कमाउने । आज अमेरिकन ड्रिमले पागल जसरी भएर माओवादी आन्दोलन उठेको रुकुम नै सबभन्दा उद्वेलित भयो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी भन्छन्– माओवादी युद्धको बेलामा आमा–बा, प्रेमि–प्रेमिका, श्रीमती, छोराछोरी, घरबार छाडेर जसरी हामी लागेका थियौं, अमेरिका जान त्यस्तै पागलपन छ अहिले ।

अमेरिकी सपना र माओवादी सपनामा एउटा जबर्जस्त फरक थियो । त्यो हो, युद्धमा जान जोखिम मोले पुग्थ्यो, अमेरिकी सपनाको लागि ठूलो धनराशि पनि । यो बाहेक बाँकी जोखिमका मूल्य भने बराबर थिए ।

जस्तोः जनवादको सपना सजाएर कति मारिए, कति बेपत्ता पारिए कति घाइते भए । कतिले पति गुमाए, कतिले पत्नी गुमाए, कतिले आमा गुमाए, कतिले बा गुमाए ।

अमेरिकी सपनामा डुबेर कति कोलम्बिया, पनामा जंगलमा मरे कति समुद्रमा डुंगा पल्टँदा मरे । कति अमेरिका पुगेर पनि फर्काइए । फर्केपछि ऋणको भारीले किचिएर सास न बास भए । ऋणको भारीले घाँटी थिचेर न मरिजाने न गरिखाने भए ।

यसमा फरक यत्ति थियो, युद्धमा जस्तो शहीद, बेपत्ता, घाइते भनेर मन बुझाउने बाटो थिएन । भलै त्यो मन बुझाउने बाटो पीडित परिवारको मात्र किन नहोस् ।

रुकुमका गाउँघरमा फरक्क फर्केको थियो, डेथ अफ सेल्सम्यान । माओवादीबारीमा मौलाएको अमेरिकी सपना । अमेरिकामा कमला ह्यारिसनले हारिन्, ट्रम्पले जिते । हार्ने कमला रुने रुकुम । आफ्ना छोराछोरी फर्कने हुन् कि भन्ने पीरको पिंधमा पुगेर ह्वीई ह्वीई गरिरहेको छ रुकुम । अब के हुन्छ ? सेल्सम्यानको डेथ जस्तो, युद्धको सपना जस्तै हुन्छ ? थाहा छैन ।

आशा र महत्वाकांक्षा

मानिसमा पलाएको आशा र महत्वाकांक्षा पनि अमेरिकी सपना थियो । दाहालको दाबी छ, ‘ती महत्वाकांक्षाको महाजालमा जेलिंदै अमेरिका गए । जो पैसासँग थियो ।’ अमेरिका पुग्दा र ग्रीनकार्ड पाउँदा आफन्तले फोटो राखेर सामाजिक सञ्जालमा बधाई दिने चलन नै चल्यो । सामाजिक सञ्जालमा लेख्छन्– ‘सपनाको देश अमेरिकी ग्रीनकार्ड पाएकोमा धेरै धेरै बधाई । सपनाको देश अमेरिका पुगेकोमा शुभकामना !’

नयाँ भाष्यः पढेर के गर्ने ?

१२ पास गरेर मात्र जापान जान पाइन्छ । अमेरिका जान पढ्न पर्दैन । ‘तीस वर्ष लाग्छ, जागिर खानलाई । एसएसली गरेर गए त पच्चीस वर्ष बस्दा त शहरमा घर बनाउँछ’, शिक्षकहरूले भने । विद्यार्थीमा पढ्ने मनस्थिति मर्‍यो ।

अध्यक्ष रेग्मीले सुनाए, ‘अमेरिका हिंडेका पति मेक्सिको पुग्नेबित्तिकै बच्चा बोकेर पत्नी शहर पस्छन् । यस्तो धेरै छ । ९, १० कक्षा पढ्ने विद्यार्थी त पासपोर्ट बनाउन ठिक्क छन् । कतिखेर ट्रम्पले कडाइ गर्न छाड्छ र दौडने भनेर तयारी अवस्थामा छन् ।’

गरौं भने न काम न वातावरण

नेपालको जहाँकहीं ‘बढ्ता’ राजनीतीकरण छ । पहुँच नहुनेले त पढे पनि जागिर पाउँदैनन् । लोकसेवाको पछि लागेर कति अटाउने हो र ? उद्योगधन्दा छैन । चारैतिर दुर्दशा र देखासिकीबाट अमेरिकी सपनामा डुबे ।

अमेरिका जाने भनेपछि पैसाको जोहो पनि केही सहज हुने रहेछ । भैंसी बेचेर, सुन बेचेर अमेरिका जानेमाथि लगानी गर्नेहरू छन् । अरू कामका लागि पैसा छैन भन्ने तर अमेरिका जानेलाई भनेपछि दिने चलन नै चल्यो ।

पैसा व्यवस्थापन र लैजाने कुरामा नाता प्रमुख देखिन्छ । फुपूको छोराले मामाको छोराहुँदै नातामा एकअर्कालाई तान्दै अमेरिका लगे । अमेरिका गएका पैसा लैजानमै प्रयोग गरे । बाफिकोटका शिक्षक शेरवीर दाहाल भन्छन्, ‘तान्ने र जाने कुरा पार्टी भन्दा पनि नाताले तानेको छ । माओवादीको कोही गएको रहेछन् भने तिनले आफ्ना नाता ताने । पार्टीलाई पनि सहयोग गर्न खोजे । नातागोता र आर्थिक अलि राम्रा भएका मानिस गएका छन् । ती माओवादी, कांग्रेस, एमाले पनि हुन सक्छन् ।’

संकटमा परिवार

अमेरिकी सपनाले आमा–बा र छोराछोरीका भेटघाटलाई अनिश्चयमा धकेल्यो । अरब, मलेसिया गएको त छुट्टीमा फर्कन्थे, दुई–चार वर्षपछि । कालापार गएको त ६ महिना, वर्ष दिनमा घर फर्कन्थे । तिनको पारिवारिक मिलन हुन्थ्यो । अमेरिका गएकाको फर्कने ठेगान हुन्न । पुग्ने र पुगेपछि कहिले फर्कने ? ठेगान छैन ।

कहिले ग्रीनकार्ड पाउने कहिले आउने र लैजाने ? यसको उत्तर सहज छैन । फलस्वरुप आफ्ना परिवारका सदस्य मर्दा अझ आमा–बा मर्दा ती किरिया गर्नलाई घर फर्केनन् ।

‘कतिका आमा–बा त ऋणको टेन्सनले मरे । मर्ने बेला कमाइधमाइ गरेको देख्न पनि पाएनन् । खुसी र लाभ पनि भएन । पैसा काढेर गए, आमा–बालाई ताप छ । त्यसैले ढिलो मर्ने पनि चाँडो मरे । शोकले कति त वृद्ध हुन नपाएर मरे’ शिक्षकहरूले सुनाए, ‘अमेरिका जाँदाका पनि सन्तोष नहुने रहेछ । कतिका छोराबुहारी पनि गए । आमा–बा एक्लै छन् ।’

मानबहादुर बस्नेतले अमेरिकावासी पूर्वसहकर्मी सम्झिए, ‘एक जना सर फोन गर्छन् । किन आएको हुँला ? आयोग लडेको भए हुन्थ्यो । दहको वरपर घुम्ने स्वर्ग हो । पैसा भएर के गर्ने ? रुघा लाग्न दिन्न । मानिसलाई त पैसाले दिने खुशीले पुग्ने रहेनछ । आज पनि भोलि पनि त्यही काम ।’

अमेरिका जानेका पत्नी र छोराछोरी घरमा छैनन्, शहरमा छन् । आमा–बा मात्र घरमा छन् । कतिका शहरमा बसेका छन् । विकृति पनि छन् । शिक्षक भन्छन्, ‘यो सुन्दाखेरि कहाँ देखिस् भन्लान् । कति इमानदार पनि छन् । तिनका पैसा अरूलाई तान्नमै ठिक्क छन् । ग्रीनकार्ड पाएपछि पैसा आउँदैन । बल्छीमा लागेका माछा भए । त्यहाँको सरकारलाई तिरोभरोमा सकिन्छ । मरे किरिया बस्ने मानिस छैनन् । मानिस फाल्ने मलामी छैनन् ।’

क्रमशः

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?