News Summary
Generated by OK AI. Editorially reviewed.- १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन ६ नयाँ कीर्तिमान कायम भए।
- प्रवीण राना मगर, संगीता विक, नारायणी भण्डारी र प्रवीन राना मगरले कीर्तिमान तोडे।
- अन्तिम दिन ८ स्वर्ण पदकको प्रतिस्पर्धा हुनेछ।
२९ जेठ, काठमाडौं । १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र÷छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो ।
पहिलो दिन २ कीर्तिमान बनेका थिए । बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए ।
दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेस्रो तथा अन्तिम दिन शुक्रबार ८ स्वर्णको टुंगो लाग्ने छ । पहिलो दिन १० र दोस्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भंग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोस्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेस्रो भए ।
छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी संगीता विक तेस्रो भए ।
छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ३ मिनेट ३०.९ सेकेन्डमा तय गरे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१.० सेकेन्ड (२०८० साल) को कीर्तिमान थियो । गण्डकी दोस्रो तथा लुम्बिनी तेस्रो बने ।
सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड समय खर्चे । ४ मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा रहेको थियो । उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोस्रो तथा गण्डकी तेस्रो स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते । छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले २ मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोस्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बने ।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५.१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य हात पारे ।
प्रतिक्रिया 4