+
+
Shares

‘नेपालको अदुवा २४ घण्टामै मुम्बई पुगोस्, बिहान दिल्लीमा बैठक सकेर साँझ पोखरा पुगियोस्’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतले आपसी सम्बन्धलाई समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए।
  • उनीहरूले दुई देशबीच सघन कनेक्टिभिटी र आर्थिक सहकार्यको महत्व औंल्याइन् र विभिन्न परियोजनाको चर्चा गरे।
  • नेपाल र भारतले सडक, पुल, जलविद्युत, र ऊर्जा व्यापारमा सहकार्य गरिरहेको र डिजिटल भुक्तानी प्रणाली विकास भइरहेको बताइन्।

२९ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतले आपसी घनिष्ठतालाई समृद्धिमा रूपान्तरण गर्ने उपयुक्त मौका आएको बताएकी छन् ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) र भारतको अनन्त आस्पेन सेन्टरले काठमाडौंमा आयोजना गरेको नेपाल भारत रणनीतिक संवाद कार्यक्रममा उनले दुई देशबीच सघन कनेक्टिभिटी विकास गरी समृद्धिको बाटोमा हिंड्नुपर्ने बताएकी हुन् ।

‘म यस्तो भविष्यको कल्पना गर्छु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टाभित्र मुम्बईको बजारमा पुगोस्, एक भारतीय पर्यटकले दिल्लीमा बिहानको बैठक सकेर साँझको उडानमार्फत बिदा मनाउन पोखरा आओस्,’ उनले भनिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिले नीति (नेवरहुड फस्र्ट) को नेपालले प्रशंसा गरेको पनि उनले बताइन् । नेपाल र भारतले आर्थिक विकास र जनता–जनताबीचको सहकार्यका क्षेत्रमा गहिरो सहकार्य गरिरहेको पनि उनले बताइन् ।

‘नेपाल र भारतले सडक, पुल, जलविद्युत लगायत धेरै परियोनजाहरुमा सहकार्य गरिरहेका छन्,’ उनले भनिन्, ‘व्यापार तथा लगानीमा आर्थिक साझेदारी गरिरहेका छन् । नेपालमा भारत सबैभन्दा ठूलो लगानीकर्ता हो ।’

भारतले नेपालमा एकीकृत जाँचचौकी निर्माणमा गरेको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताइन् । पछिल्लो समय जुत्ता, प्लाइउड, सिमेन्टलगायत उत्पादनको भारतीय गुणस्तर चिह्न नवीकरणमा भारतीय पक्षले सहयोग गरेको भन्दै उनले प्रशंशा गरिन् ।

‘गुणस्तर चिह्नको नवीकरणमा समस्या आएपछि त्यो कामलाई छिटो अघि बढाइदिन मैले अनुरोध गरेँ । भारतले आफ्नो मुलुकमा भित्रने सामान ग्लोबल स्टान्डर्डको होओस् भन्ने चाहेको बतायो । गुणस्तर चिह्न नवीकरणमा सहजीकरण पनि भयो,’ उनले भनिन् ।

नेपालमा विश्वस्तरको प्रयोगशाला बनाउन पनि भारतले सहयोग गरेको उनले बताइन् । ‘त्यसले नेपाली सामानको स्टान्डर्ड बढाउन मद्दत गरेको छ,’ उनले भनिन् ।

भारतीय र नेपालीको संयुक्त लगानीका उद्योगहरुले राम्रो काम गरिरहेको उनले बताइन् । दुई मुलुकबीचको ऊर्जा व्यापार, क्रसबोर्डर प्रसारण लाइनलगायतमा सहकार्य भइरहेको पनि उनले बताइन् ।

धनगढीमा स्पोर्टस् भिलेज बनाउन भारतले सहयोग गरेको बताउँदै उनले पूर्वाधार मात्रै होइन, त्यसको व्यवस्थापनका लागि पनि भारतीय केन्द्रीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग छलफल भइरहको जानकारी दिइन् ।

डिजिटल इकोसिस्टम बनाउन भारतले ठूलो उपलब्धि हासिल गरेका बताउँदै उनले नेपालका युवाहरूले त्यसबाट प्रेरणा र लाभ लिनसक्ने बताइन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपाल र भारतबीचको सीमा अवरोध नभएर दुई देशलाई जोड्ने माध्यम (कनेक्टर) भएको’ भनेको कुरा सम्झिए ।

दुई मुलुकहरू सडक, पुल, रेलवे, प्रसारण लाइनलगायत माध्यमबाट जोडिएको बताउँदै उनले यसबाट दुवै मुलुकले लाभ लिनुपर्ने बताए । दुई मुलुकबीचको डिजिटल भुक्तानीलाई पारस्परिक रुपमा जोड्ने काम भएको उनले बताए ।

‘अहिले भारतीयहरुले नेपालमा क्युआर पेमेन्ट गर्न पाइरहेका छन्, नेपालीहरुले पनि भारतमा त्यस्तै सुविधा चाँडै उपभोग गर्न पाउने अपेक्षा छ । यसमा नेपाल राष्ट्रबैंकले केही नीतिगत व्यवस्था गरिरहेको मलाई लाग्छ,’ उनले भने ।

सदूरपश्चिम प्रदेशको पहाडलाई उत्तराखण्डसँग जोड्ने दार्चुला–धार्चुला मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए । अर्को पुल झुजाघाटमा पनि बन्दै गरेकमो उनले बताए ।

नेपाल र भारतबीचको ऊर्जा व्यापार उदाहरणीय रहेको बताउँदै उनले नेपाल विद्युत्को खुद निर्यातकर्ता बनेको बताए । भारतले नेपालमा सञ्चालन गरिरहेको सानो विकास परियोजनामार्फत ५ सय ५० वटा परियोजना बनेको उनले बताए । नेपाल र भारतबीच क्रिकेटमा पनि सहकार्य बढेको उनको भनाइ थियो ।

‘क्रिकेट एसोसियसन नेपाल र भारतको केन्द्रीय क्रिकेट बोर्डबीच नेपाली खेलाडीलाई तालीमलगायत दिने काम भइरहेको छ,’ उनले भनिन् ।

नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले भारतमा क्रिकेट सिकेको भन्दै उनले प्रशंसा पनि गरे ।

‘प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्धलाई हिमालयजत्तिकै अग्लो बनाउनुभएको छ, त्यही दिशामा हाम्रो सम्बन्ध अघि बढ्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?