 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा वार्षिक रूपमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाली फिल्मको स्तरोन्नती र विश्वव्यापी बजारमा प्रवर्द्धन गर्छ।
- महोत्सवको खर्च अनुमानित १,५००,००० रुपैयाँदेखि ५० लाखसम्म हुन्छ र यसमा सरकारी समर्थन न्यून छ।
- संस्था अध्यक्ष केपी पाठकले महोत्सवले फिल्म पर्यटन, सांस्कृतिक आदानप्रदान र नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानमा भूमिका खेल्ने बताए।
काठमाडौंमा वर्षेनी एकाध फिल्म महोत्सव हुने गर्छ । यी महोत्सवमा विश्वका कतिपय फिल्म प्रदर्शन गरिन्छ, त्यसबारे विमर्श गरिन्छ । नयाँ फिल्मबीच प्रतिस्पर्धा गराइन्छ । दिग्गज फिल्ममेकर्सलाई निम्त्याएर प्रशिक्षण दिलाइन्छ । केही दिनका लागि भए पनि शहर सिनेमामय बन्छ ।
फिल्म महोत्सव किन गरिन्छ ? योसँगै उठ्ने प्रश्न हो, निजी प्रयासमा यस्ता महोत्सव गर्ने खर्च कसरी जुट्छ ? कहाँबाट ? कति ?
केपी पाठकको जवाफ यस्तो थियो, ‘बाहिरबाट हेर्दा के लाग्छ भने महोत्सव गरेर पैसाको थुप्रो नै लगायो । मोजमस्ती गर्यो । गाडी चढ्यो । तर, भित्रीकथा भोग्नेलाई मात्र थाहा छ ।’
भनिहालौं, केपी पाठक नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)का अध्यक्ष हुन् । निफले काठमाडौंमा वर्षेनी फिल्म महोत्सव गर्दै आएको छ ।
महोत्सव गर्न कति खर्च लाग्छ र त्यसको व्यवस्थापन कसरी हुन्छ ?
‘हामी महोत्सवको खाका बनाइरहँदा यसलाई जतिसक्दो भव्य बनाउने कोसिस गर्छौं । त्यस अनुरुप एक, डेढ करोडको अनुमानित बजेट तय हुन्छ’ उनी भन्छन्, ‘तर, कार्यक्रम गर्ने बेलासम्म त्यो बजेट खुम्चिएर ५० लाखमा झर्छ ।’
महोत्सवस्थल, त्यहाँको सजावट, प्रविधिको खर्च एकातिर छ । अर्कोतिर आगन्तुकको बसोबास, आवतजावत खर्च उत्तिनै छ । ‘१८ देखि २० लाखको होटल बिल र भेन्यू खर्च २०–२५ लाख जुटाउन मुस्किल हुन्छ’ पाठक भन्छन्, ‘६ दिनसम्म ४० देखि ५० जना विदेशी फिल्म निर्मातालाई पाल्नु सजिलो कहाँ छ र ?’
फिल्म महोत्सवका लागि खर्च जुटाउनु छुटै महाभारत छ । पाठकका अनुसार सरकारी समर्थन छैन । चलचित्र विकास बोर्डले विगतमा ६ लाख रुपैयाँ सहयोग गर्दै आएकोमा अहिले मुस्किलले साढे ४ लाख दिने गरेका छन् । काठमाडौं महानगरपालिकाले यसअघि ५ लाख रुपैयाँ दिदै आएकोमा यसपाली त्यो सम्भावना टरेको छ ।
‘सरकारी निकायले हामीलाई विश्वासै गर्दैनन्’ अध्यक्ष पाठक भन्छन्, ‘फेस्टिभलले देशको प्रचार र आम्दानी बढाइरहेको छ, तर यो कुरा उनीहरूले बुझ्दैनन् ।’ काठमाडौंलाई मुखले २६औं फिल्मसिटी भनेर नाक फुलाए पनि व्यवहारमा त्यस्तो नभएको उनको दुखेसो छ ।

महोत्सवका लागि २ देखि ५ लाख रुपैयाँसम्म दिने प्रायोजकहरू खेज्ने, इभेन्टका लागि होटललाई पार्टनर बनाएर ५० प्रतिशत छुट माग्ने, मल्टिप्लेक्समा १५० रुपैयाँको टिकट बिक्री गरी भेन्यू पार्टनर बनाएर जसोतसो महोत्सव गरिरहेको उनी बताउँछन् ।
‘नाफा नै हुँदैन भने किन महोत्सव गर्नु त ?’ धेरैले सोध्ने प्रश्न हो यो ।
‘हामी आफैं ६ महिनादेखि स्वयम्सेवक बनेर काम गर्छौं, पेट्रोल–फोनको खर्च आफ्नै खल्तीबाट लगाउँछौं’ उनी भन्छन्, ‘किनभने हामीलाई सिनेमाप्रति लगाव छ । यसप्रति सम्मान र प्रेम छ ।’
महोत्सव : घरेलु सिनेमाको स्तरोन्नती र बजारिकरण

नेपाली सिनेमाको स्तरोन्नती, बजारको बढोत्तरी, समाजमा सिनेमा चेत फैलाउनदेखि वैश्विक फिल्ममेकर्सलाई नेपालप्रति आकर्षित गर्न महोत्सव जरुरी भएको उनको ठम्याइ छ ।
‘एक पटक महोत्सव गर्दा यहाँ फिल्मलाई अनेक आयमबाट हेर्ने, बुझ्ने र सुन्ने गरिन्छ’ पाठक भन्छन्, ‘यसले हाम्रो फिल्मको स्तरोन्नतीमा सहयोग गर्ने मात्र नभई बजारलाई विश्वव्यापी बनाउने अनुकुलता पनि प्रदान गर्छ ।’
विश्वका प्रतिष्ठित फिल्म महोत्सवहरूले त्यस ठाउँलाई ‘फिल्म पर्यटन’को रुपमा स्थापित गरेको छ । त्यहाँ महोत्सव हुँदा विश्वभरका दिग्गज फिल्मकर्मीहरूको उत्साहजनक जमघट हुन्छ । कति फिल्म त्यही पहिलो पटक प्रिमियर गरिन्छ । फिल्म बनाउने र लगानी गर्नेबीच अन्तरक्रियात्मक वातावरण मिलाइन्छ । तर, हामीसँग यसका लागि पुग्दो बजेट र स्रोत छैन ।
‘महोत्सवले फिल्म मार्केटको व्यवस्था गर्नुपर्ने थियो’ पाठक भन्छन्, ‘यसका लागि १ देखि २ करोड चाहिन्छ । ५०–६० जना खरिद-विक्रेता र समीक्षक ल्याउनुपर्छ ।’
यस्तो जमघटमा नेपालका दुई–चार कथा विक्री भएपनि त्यसले ठूलो अर्थ राख्ने र वैश्विक बजार पाउने उनको भनाइ छ । ‘यसका लागि सरकारको दर्बिलो साथ चाहिन्छ’ उनी भन्छन्, ‘तर हामीले त्यस्तो सहयोग पाएका छैनौं ।’
त्यसो त निफले विश्वभरको फिल्म देखाउने, फिल्ममेकर्स आमन्त्रित गरेर एक किसिमको माहोल भने बनाइरहेकै छ । नेपालका १२५ देखि १३० भाषा र संस्कृतिलाई सिनेमामार्फत विश्वमा पुर्याउन मञ्च दियो । प्रकाश झा, अनुराग कश्यप, मनीषा कोइराला र तत्कालीन प्रधानमन्त्री केपी ओली लगायतसँग फिल्म नीतिमा बहस चलाइयो । सिनेमा चेत बढाउने काम भए । नेपाली निर्माताले विदेशी निर्मातासँग सम्पर्क बनाउने मेलो पाए ।
सिनेम्याटिक वहसको थलो

‘नेपाली दर्शकमा सिनेमाप्रति रुचि जगाउन र ग्लोबल फिल्म निर्माताहरूसँग नेपाललाई जोड्ने पुल बनाउनु निफको मुख्य उद्देश्य हो’ पाठक यसै भन्छन् । उनका अनुसार निफ केवल फिल्म प्रदर्शनको मञ्च होइन, यो सिनेम्याटिक बहसको थलो, सांस्कृतिक आदानप्रदानको माध्यम र पर्यटन प्रवर्द्धनको अवसर पनि हो । समाजका सबै वर्ग र समुदायमा सिनेमाको बहस पुर्याउन चाहन्छ ।
‘हामी प्यारलल सेसनहरू डिजाइन गर्छौं, ताकि सिनेमाको कुरा गाउँदेखि शहरसम्म पुगोस्’ उनी भन्छन्, ‘तर, निफको उद्देश्य यतिमा मात्र पनि सीमित छैन ।’ नेपाली दर्शकमा फिल्म हेर्ने संस्कृति विकास गर्ने, स्थानीय निर्मातालाई विश्व मञ्चमा पुर्याउँने र विदेशी निर्मातालाई नेपालको सांस्कृतिक सम्पदामा आकर्षित गर्ने निफको उदेश्य हो । ‘निफ केवल फिल्म फेस्टिभल होइन’ उनी भन्छन्, ‘यो नेपाललाई विश्वसँग जोड्ने सांस्कृतिक कूटनीतिको पुल हो ।’
नेपालमा सुटिङ गर्न प्रेरित गरेर पर्यटन र अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य सहित आएको निफले धेरैथोरै उपलब्धि हासिल गरेको उनी बताउँछन् ।
विश्व मञ्चमा नेपाली सिनेमाको पहिचान
४० देखि ५० देशका फिल्म निर्माताहरूको सहभागिता, बेल्ट एन्ड रोड फिल्म फेस्टिभल एलायन्स र अन्तर्राष्ट्रिय फिल्म सोसाइटी फेडेरेसनजस्ता नेटवर्कमा नेपालको उपस्थिति गराउन निफको ठोस योगदान छ।
दूतावासहरूसँग सहकार्य गरेर २० वटा स्टल राख्ने र प्रत्येकमा १० वटा कथा पिच गर्ने योजना रहेको उनी सुनाउँछन् । यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने आश छ ।
नेटफ्लिक्सको मार्केटिङ रणनीति, एआईको फिल्म निर्माणमा प्रभाव, र ग्लोबल मार्केटिङ स्टडीजमा मास्टर क्लास आयोजना गर्ने लक्ष्य रहेको उनी सुनाउँछन । ‘एआईले सिनेमालाई कसरी सजिलो बनाउँदैछ, त्यो सिकाउन जरुरी छ’ पाठक भन्छन् ।

पर्यटन बोर्डले विदेशी फिल्म निर्माताहरूलाई सुटिङका लागि आकर्षित गर्न सकिन्छ । ‘उचाइ फिल्मले माउन्ट एभरेस्ट बेसक्याम्पमा पर्यटक बढायो, यस्तै काम निफले गर्न सक्छ’ पाठकको विश्वास छ ।
भविष्यमा दूतावासहरू, अन्तर्राष्ट्रिय फन्डिङ एजेन्सीहरू, र निजी क्षेत्रसँग सहकार्य बढाउन सके निफको महोत्सव भव्य हुने उनी बताउँछन् । ‘राज्यले ८–१० करोड लगानी गरे दुई–तीन फिल्म सुटिङबाटै पैसा उठ्छ’ पाठकको बुझाइ छ ।
निफले १२५ देखि १३० भाषा र जातजातिका संस्कृतिलाई सिनेमामार्फत प्रस्तुत गर्ने अवसर दिएको छ । ‘गणतन्त्रपछि सिनेमामा फ्लोरिस भएको छ । सेन्सरको लडाइँ छ, तर मौलिक कथाहरूको खोजी भएको छ’ उनले थपे ।
निफको स्थापना सन् २०१८ मा भयो, जब पाठकले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन र स्थानीय फिल्म निर्मातालाई अवसर प्रदान गर्न जरुरी ठाने । धरान र पोखराबाट सुरु भएको यो यात्रा अहिले काठमाडौंमा केन्द्रित छ, यसले विश्वका ७० देखि ७५ वटा देशका फिल्म निर्माताहरूलाई नेपालसँग जोडेको छ ।
हरेक वर्षको अन्तिम महिनामा आयोजना हुने निफले हाल आठौँ संस्करण सम्पन्न गरिसकेको छ । यो वर्ष चैत्रमा हुने नवौं संस्करणका लागि आइतबारबाट आवेदन खुल्ला गरिएको छ । सहभागीताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुले विश्वभरबाट आवेदन दिन सक्नेछन् ।
‘पहिलो संस्करणमा हामीले २० वटा फिल्म चिनेका निर्मातामार्फत जम्मा गरेका थियौं’ पाठक भन्छन्, ‘ आज निफले विश्वभरका फिल्म निर्माताबाट प्रवेश शुल्कसहित सयौं फिल्म प्राप्त गर्छ । हामी ८० देशमा पुग्यौं । निफले नेपाललाई फिल्म दूतको रूपमा विश्वमा चिनायो ।’
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4